२१ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेसीको मियामी बराबरीमा रोकियो, अन्तिम–१६ मा पिएजसीसँग भिड्ने



अ+ अ-

काठमाडौँ । अमेरिकामा जारी फिफा क्लब विश्वकपको अन्तिम १६ को खेलमा इन्टर मियामी र पेरिस सेन्ट जर्मेन (पिएसजी) भिड्ने भएका छन् ।

पिएसजी समूह बी को विजेता बन्दा इन्टर मायमी समूह ए को उपविजेता बनेसँगै यी दुई टोली अन्तिम १६ मा आमनेसामने हुने पक्का भएको हो ।

मियामीका कप्तान लियोनल मेसीले आफ्नो पूर्व क्लब पिएसजीको सामना गर्ने भएका छन् ।

समूह ए को दुवै खेल बराबरीमा सकिएपछि पाल्मेइरास समूह विजेता बन्न सफल रह्यो । मियामी र पाल्मेइरासको खेल २–२ को बराबरीमा सकिँदा एफसी पोर्टो र अल अहलीले पनि ४–४ को रोमान्चक बराबरी खेले ।

मियमीले खेलमा २–० को अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा समूह विजेता बन्ने अवसर गुमायो । पहिलो हाफमा तादेओ आलेन्डेको गोलमा उसले अग्रता लिएको थियो । उनले १६ औं मिनेटमा स्वारेजले छुटाएको काउन्टर अट्याकमा गोल गरेका थिए ।

यस्तै, ६५ औं मिनेटमा स्वारेजले गोल गर्दै मियामीको अग्रता दोब्बर पारे । तर, पाल्मेइरासले अन्तिम १० मिनेटमा २ गोल फर्कायो । ८० औं मिनेटमा पाउलिन्होले र त्यसको ८ मिनेटपछि माउरिसियोले गोल गर्दै टोलिको हार टारे ।

पाल्मेइरास र मायमीको समान ५–५ अंक रहेपनि गोलअन्तरमा पाल्मेइरास शीर्षस्थानमा रह्यो । पोर्टो र अल अहलीले २–२ अंक जोडे ।