४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जन्मदिनमै ‘आत्महत्या गर्छु’ भन्दै गोक्यो ताल पुगेका चिनियाँ नागरिकको उद्धार



अ+ अ-

काठमाडौँ । सोलुखुम्बुस्थित गोक्यो ताल क्षेत्रबाट एक जना चिनियाँ नागरिकको उद्धार गरिएको छ ।

नेपाल प्रहरीको पर्यटक प्रहरी, भृकुटीमण्डपबाट खटिएको टोलीले मंगलबार बिहान गोक्यो ताल क्षेत्रमा रहेको एक होटलबाट चिनियाँ नागरिकको उद्धार गरी काठमाडौं ल्याएको हो ।

आत्महत्या गर्न लागेको भन्ने सूचना पाएपछि पर्यटक प्रहरी अल्डिच्युट हेलिकप्टरमा मंगलबार बिहान साढे ५ बजे काठमाडौंबाट त्यसतर्फ उडेको थियो ।

चिनियाँ नागरिक छेई हुवाङ त्यहाँको ‘थांका इन’ मा बस्दै आएका थिए । बुधबार उनको जन्मदिन समेत थियो ।

उनले चिनियाँ सामाजिक सञ्जालमा एउटा भिडिओ पोष्ट गरेका थिए । जसमा उनले तालमा डुबेर मर्न चाहेको भन्दै उल्लेख गरेका थिए ।

उक्त पोष्ट हालेको थाहा पाएपछि काठमाडौंस्थित चिनियाँ दूतावासले पर्यटक प्रहरीलाई सम्पर्क गरेको थियो ।

पर्यटक प्रहरीलाई सोमबार अपराह्न ५ बजेतिर खबर आएपछि नेपाल प्रहरीका दुई जना अधिकारी मंगलबार बिहानै गोक्यो ताल क्षेत्रका लागि गएका थिए ।

उनी बसेको होटल सञ्चालकले सम्झाएर राखेपछि प्रहरीको टोली पुगेको थियो । उक्त टोली पुगेर मंगलबार बिहान करिब आधा घण्टा सम्झाइसकेपछि प्रहरीसँग उनी आउन मानेका थिए ।

अहिले चिनियाँ नागरिकलाई पर्यटक प्रहरी कार्यालयमा राखिएको छ ।