५ पुष २०८२, शनिबार
,
Latest
बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’ प्रथम कावासोती गोल्डकप आजदेखि सुरु हुँदै सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य कण्ठरोग निवारणमा सफलता : गलगाँडको समस्या शून्य दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाँचथर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा



अ+ अ-

पाँचथर। पाँच वर्षभन्दा कम उमेरका सबै बालबालिकालाई आवश्यक खोप लगाएको सुनिश्चितता गरी पाँचथरलाई आज पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ ।

जिल्ला खोप समन्वय समितिले फिदिममा एक कार्यक्रम गरी पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरेको हो । जिल्लाभित्रका १५ महिना मुनि उमेरका सबै बालबालिकाले उमेरअनुसारका सबै खोप लगाएको र १६ महिनादेखि ५९ महिनासम्ममा सबै बालबालिकामा १५ महिनाभित्र लगाउनुपर्ने खोप लगाएको सुनिश्चित गरी यस्तो घोषणा गरिएको हो ।

जिल्ला खोप समन्वय समिति प्रमुख रामराज आङ्देम्बेका अनुसार १५ महिनाभन्दा कम उमेरका दुई हजार २९५ जना बालबालिकाले उमेरअनुसारका खोप लगाउँदै आएका छन् । पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरणका लागि जिल्लाका ३७ हजार ४४५ घरधुरीको घरधुरी सर्वेक्षण गरिएको थियो । जसमा छ हजार ९३३ घरधुरीमा ५९ महिनाभन्दा कम उमेरका बालबालिका रहेको पहिचान गरी खोप लगाउन छुटेका बालबालिकालाई खोप लगाइएको थियो ।

कोशी प्रदेशस्तरीय खोप समन्वय समितिका सदस्य भरतराज भण्डारीले प्रत्येक वर्ष सबै घरधुरी सर्वेक्षण भएको निश्चित गर्न स्वास्थ्यकर्मीले विशेष योगदान दिनुपर्ने वताउनुभयो । “बच्चा खोज र खोप लगाउ भन्ने सरकारको नीति हो”, भण्डारीले भन्नुभयो, “यसमा स्थानीय सरकारले नै आर्थिक दायित्व निर्वाह गरेमात्रै कार्यक्रम निरन्तर र प्रभावकारी हुनसक्छ ।”

स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख महेश सुनारले खोपबाट कुनै पनि बालबालिका छुट्न नदिन स्वास्थ्यकर्मी र जनप्रतिनिधिले विशेष भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

घोषणा कार्यक्रममा अभियान सफल बनाउन मद्दत गर्ने उत्कृष्ट स्वास्थ्यकर्मीलाई सम्मान गरिएको थियो । स्थानीय तहतर्फ हिलिहाङ गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक चन्द्रप्रसाद शर्मा घिमिरे पुरस्कृत हुनुभयो ।

स्थानीय तहका स्वास्थ्यकर्मीमा हिलिहाङका तारा योङहाङ, फिदिमका टङ्क धमला, फालेलुङका हरिप्रसाद बाँस्कोटा, तुम्बेवाका सविना कुँवर, मिक्लाजुङका हरिकुमार शेर्मा, याङवरकका इन्द्रकुमार बेघा, फाल्गुनन्दका तीर्थराज नेम्बाङ र कुम्मायकका रोहन घिमिरेलाई सम्मान गरिएको थियो ।

उत्कृष्ट स्वास्थ्यकर्मीलाई फालेलुङ गाउँपालिकाका उपाध्यक्ष महेन्द्रहाङ जबेगू, हिलिहाङ गाउँपालिकाका अध्यक्ष समरबहादुर अधिकारी, फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्ले र जिल्ला समन्वय समितिका उपप्रमुख यामकुमार आङ्बोले प्रमाणपत्र वितरण गर्नुभयो । रासस