काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक यही जेठ २५ गते आइतबारसम्मका लागि स्थगित गरिएको छ ।
आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक चलाउन सहमति नजुटेपछि आइतबार दिउँसो एक बजेसम्मका लागि स्थगित गरिएको सङ्घीय संसद सचिवालयले जनाएको छ ।
आजको बैठकमा प्रतिपक्षी दलले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्नेलगायत तीन बुँदे मागलाई यथावत् राख्ने निष्कर्ष निकालेपछि सूचना टाँस गरेर आइतबार दिउँसो एक बजे बस्ने गरी तोकिएको हो ।
संसद्मा प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)एवं प्रतिपक्षी दलहरु राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा (एकीकृत समाजवादी)को आज संसद् भवन सिंहदरबारमा बसेको बैठकले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म बैठक चल्न नदिने यसअघिको निर्णयलाई यथावत् राख्ने निष्कर्ष निकालेको थियो ।
त्यसलगत्तै सभामुख घिमिरेले अर्को बैठक आइतबार बस्ने गरी तोकेका हुन् ।










