११ श्रावण २०८३, सोमबार
,
Latest
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु स्वास्थ्य मन्त्रालयद्वारा नारायणी अस्पतालका सेवा सञ्चालन गर्न अनुरोध सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ क्याफेमा लगेर बालिकामाथि जबरजस्ती करणी, सञ्चालकसहित ५ जना पक्राउ सात बुँदे सहमति पछि डा. गोविन्द केसीले तोडे अनसन क्रसरविरुद्ध सर्वोच्चमा मुद्दा जित्ने बाराकी शिक्षिकालाई प्रहरी र क्रसर व्यवसायीको निरन्तर दबाब आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने अनसनरत डा केसीद्वारा औषधि लिन अस्वीकार बंगलादेशका विश्वचर्चित अलराउन्डर शकिब पोखरा एभेन्जर्समा अनुबन्धित दाङमा ग्यास अभाव भएको विषयमा सञ्चारकर्मीद्वारा प्रशासनको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वदेशी उत्पादन वृद्धि गरी निर्यात बढाऔँ: उद्योगमन्त्री भण्डारी



अ+ अ-

बैतडी। उद्योग, वाणिज्य आपूर्तिमन्त्री दामोदर भण्डारीले सीमावर्ती क्षेत्रका उद्यमीले स्वदेशी उत्पादन वृद्धि गर्दै भारत निर्यात गर्नुपर्नेमा जोड दिनुभएको छ ।

आज बैतडीको देहिमाडौँमा आयोजित इण्डो–नेपाल अन्तरराष्ट्रिय व्यापार मेला उद्घाटन गर्दै उहाँले उद्यमीलाई उत्पादन वृद्धि गरी निर्यातमा जोड दिन आग्रह गर्नुभयो ।

सरकारले उद्योगमैत्री नीतिहरू लागू गरिरहेको बताउँदै युवा तथा महिला उद्यमीका लागि सहुलियतका कार्यक्रम ल्याएको उहाँको भनाइ थियो । सीमावर्ती भारतीय बजारबाट सामान प्रशस्त आयात भइरहेकामा सोहीअनुरूप निर्यातजन्य उत्पादनमा जोड दिन उद्यमीलाई आग्रह गर्नुभयो ।

मन्त्री भण्डारीले विकास निर्माणका आयोजना सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेपाल–भारत सिमानाका झुलाघाटस्थित महाकाली नदीमा मोटरेबल पुल निर्माणको प्रक्रिया अघि बढेको र आगामी दिनमा हुने प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणका बेला थप प्रक्रिया अघि बढ्ने बताउनुभयो ।

उहाँले जिल्लाको आर्थिक, भौतिक तथा पर्यटकीय विकासका लागि आफ्नो ध्यान केन्द्रित भएको बताउनुभयो । आफूले जिल्लावासीसँग गरेका प्रतिबद्धता पूरा गर्न लागिपरेको मन्त्री भण्डारीको भनाइ छ ।

उहाँले बैतडीसहित सुदूरपश्चिम प्रदेश सम्भावनाको खानी भएको बताउनुभयो । “प्राकृतिक स्रोतसाधन, जैविक विविधता, पर्यटन सम्भावना, कृषि, ऊर्जा र पूर्वाधार विकासमा अपार सम्भावना बोकेको प्रदेश हो”, उहाँले भन्नुभयो, “स्रोतसाधनको उपयोग र जनसाङ्ख्यिक लाभांशका हिसाबले सुदूरपश्चिम प्रदेश अत्यन्त सम्भावनापूर्ण क्षेत्र हो, प्राकृतिक स्रोत र मानव स्रोतसँग सम्बन्धित विविध र आकर्षक लगानीका अवसर विद्यमान छन् ।”

यहाँ प्रशस्त वन स्रोत, वन उत्पादन, जडीबुटी तथा औषधिजन्य वनस्पति, खानी, जलस्रोत, कृषि क्षेत्रका लागि खेतीयोग्य जमिन र पशुपालनका सम्भावना छन् । यसको उपयोग गर्दै आर्थिक विकासमा जोड दिनु जरुरी छ । सरकारले उद्योगमैत्री बजेट ल्याएको मन्त्री भण्डारीको दाबी छ ।

इण्डो–नेपाल अन्तरराष्ट्रिय व्यापार मेला यही जेठ २६ सम्म सञ्चालन हुनेछ । रासस