काठमाडौं। नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीको पूर्वी पृतना हेडक्वार्टरमा निमित्त प्रमुखका रूपमा सरुवा भएको छ। उपरथी बढुवाको तयारीमा रहेका सहायक रथी केसीलाई जंगीअड्डाले नयाँ जिम्मेवारी दिएको हो।
उनको स्थानमा सहायक रथी राजाराम बस्नेतले सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयको प्रमुखको जिम्मेवारी सम्हालेका छन्। बस्नेत हाल राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयका महानिर्देशक पनि हुन्।
बिहीबार जिम्मेवारी हस्तान्तरणपछि भएको परिचयात्मक कार्यक्रममा नवनियुक्त सैनिक प्रवक्ता बस्नेतले आफूले सैनिक नागरिक सम्बन्धलाई बलियो बनाउन भूमिका खेल्ने बताए । केसीले सञ्चारकर्मीहरूलाई सहयोगका लागि धन्यवाद दिए।










