काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सुरक्षा जोखिमको कारण देखाउँदै १२ देशका नागरिकलाई अमेरिका यात्रामा पूर्णप्रतिबन्ध लगाउने आदेशमा हस्ताक्षर गरेका छन् ।
ट्रम्पले अफगानिस्तान, म्यानमार, चाड, गणतन्त्र कंगो, इक्वेटोरियल गिनी, इरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान र यमनका नागरिकलाई अमेरिका यात्रामा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेका हुन् ।
यसैगरी ट्रम्पले बुरुन्डी, क्युबा, लाओस, सिएरालियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएलाका नागरिकलाई आंशिक प्रतिबन्ध लगाउने घोषणामा पनि हस्ताक्षर गरेका छन् ।
यात्रा प्रतिबन्धको निर्णय ९ जुनदेखि लागू हुने छ । यद्यपि अमेरिकी ग्रिनकार्ड भएका व्यक्तिहरु, ९ जुनभन्दा अघि नै भिसा लागिसकेका व्यक्तिहरू, केही निश्चित भिसा श्रेणीहरू र अमेरिकी राष्ट्रिय हितमा सेवा गर्ने व्यक्तिहरूलाई भने छुट दिइने बताइएको छ ।
अमेरिकालाई खतरनाक विदेशी तत्वहरूबाट जोगाउने चुनावी बाचाअनुसार यो निर्णय गरिएको ह्वाइट हाउसका अधिकारीहरुले बताएका छन् ।
राष्ट्रपति ट्रम्पले बुधबार राति पोस्ट गरिएको एक भिडियोमा कोलोराडोको बोल्डरमा हालै भएको आतंकवादी आक्रमणपछि यो यात्रा प्रतिबन्ध सम्बन्धी घोषणामा हस्ताक्षर गरिएको बताएका छन् ।
अमेरिकाको यो निर्णयबाट अफगानिस्तान सबैभन्दा बढी प्रभावित हुनसक्ने सम्भावना छ । किनकी ट्रम्पले भनेजस्तै भिसा अवधि नाघ्ने दर अफगानिस्तानका विद्यार्थीहरुको २९ दशमलव ३ प्रतिशत छ । अफगानिस्तान तालिबानको नियन्त्रणमा छ । तालिबान अन्तर्राष्ट्रिय आतंकवादी संगठनको रूपमा अमेरिकाको सूचीमा छ ।
इरानप्रतिको अमेरिकी बुझाइ पनि आतंकवादलाई सहयोग गर्ने राष्ट्रको रूपमा छ । इरानले अमेरिकी अधिकारीहरूसँग सहयोग आदानप्रदान गर्न अस्वीकार गर्ने गरेको ट्रम्पको आरोप छ । लिबिया, सोमालिया र यमनजस्ता देशहरूमा सुरक्षित कागजात जारी गर्न सक्ने सक्षम सरकार नभएको ट्रम्पको ठहर छ ।










