९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई २ खर्ब ११ अर्ब १७ करोड विनियोजन

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई २ खर्ब ११ अर्ब १७ करोड विनियोजन
अ अ+ अ-

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि २ खर्ब ११ अर्ब १७ करोड रुपैयाँ बिनियोजन गरिएको छ ।

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीवार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि विनियोजित बजेट प्रश्तुत गर्दै यस्तो जानकारी गराउनुभएको हो । उहाँले आफ्नो भविष्य आफैं निर्माण गर्नसक्ने क्षमतावान, उद्यमशील र उत्पादक मानव पूँजीको विकास, शिक्षा प्रणालीलाई आधुनिक र प्रविधिमैत्री बनाइने, प्रत्येक जिल्लामा कम्तिमा एक विद्यालय पर्नेगरि एक सय विद्यालयमा शैक्षिक नतिजामा आधारित प्रोत्साहन कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो ।

ती एक सय विद्यालयले अन्य विद्यालयको नतिजा सुधारमा सहयोग गर्ने व्यवस्था मिलाउने र त्यसका लागि प्रति विद्यालय पच्चिस लाख रुपैयाँ अनुदान प्रदान गरिने बताउनु भयो । बजेट प्रश्तुत गर्ने क्रममा उहाँले अंग्रेजी, विज्ञान र गणित शिक्षकहरुको अभाव हुन नदिन विश्व विद्यालयसँगको सहकार्यमा शिक्षक बैंकको स्थापना गर्ने घोषणा गर्नुभयो । साथै बजेटमा कक्षा पाँचसम्मका विद्यार्थीलाई उपलब्ध गराइने दिवा खाजाको रकम बढाउँदै १० अर्ब १९ करोड विनियोजन गरिएको अर्थमन्त्री पौडेलले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आफ्नो भविष्य आफैं निर्माण गर्नसक्ने क्षमतावान, उद्यमशील र उत्पादक मानव पूँजीको विकास गरिनेछ । शिक्षा प्रणालीलाई आधुनिक र प्रविधिमैत्री बनाइनेछ । प्रत्येक जिल्लामा कम्तिमा एक विद्यालय पर्नेगरि एक सय विद्यालयमा शैक्षिक नतिजामा आधारित प्रोत्साहन कार्यक्रम सञ्चालन गरिनेछ । यस्ता विद्यालयले अन्य विद्यालयको नतिजा सुधारका लागि सहयोग गर्ने व्यवस्था मिलाइनेछ । यस कार्यक्रमका लागि प्रति विद्यालय रु २५ लाख अनुदान प्रदान गरिनेछ । शिक्षक र विद्यार्थी संख्या तथा भौगोलिक दूरी र यातायात सुविधाका आधारमा विद्यालयको पुनः नक्साङकन गरिनेछ । नक्साङ्नका आधारमा विद्यालय गाभ्ने नीति लिइनेछ । गाभिएका विद्यालयहरुका लागि प्रोत्साहन अनुदानको व्यवस्था गरेको छु । शिक्षक दरबन्दीको पुनरावलोकन गरिनेछ । शिक्षकको क्षमता विकास गर्न आवधिक रुपमा तालिमको व्यवस्था गरिनेछ । संस्थागत सामाजिक उत्तरदायित्वको दायरा विस्तार गरि विद्यालय शिक्षाको नतिजा र गुणस्तर सुधारमा समेत प्रयोग गर्न सक्ने नीति लिइनेछ । सामुदायिक र संस्थागत विद्यालयका सफल व्यवस्थापन अभ्यासलाई अन्य सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि सदुपयोग गरिनेछ । अंग्रेजी, गणित, विज्ञान शिक्षकहरुको अभाव हुन नदिन विश्वविद्यालयसँगको सहकार्यमा शिक्षक बैंकको स्थापना गरिनेछ ।

स्नातक तह उत्तिर्ण विद्यार्थीलाई स्वयंसेवक शिक्षकको भूमिकामा परिचालन गरिनेछ । शिक्षा क्षेत्रका सशर्त अनुदान कार्यक्रमलाई क्रमशः वित्तिय समानीकरण अनुदानमा रुपान्तरण गरिनेछ । माध्यमिक शिक्षा परीक्षाको सञ्चालन तथा व्यवस्थापन प्रदेश तहबाट गर्ने प्रबन्ध मिलाइनेछ । कक्षा पाँचसम्मका विद्यार्थीलाई उपलब्ध गराइने दिवा खाजाको रकम वृद्धि गरी १० अर्ब १९ करोड विनियोजन गरेको छ । यसबाट २८ लाख विद्यार्थी लाभान्वित हुनेछ । विद्यालयमा निःशुल्क सेनिटरी प्याड वितरण कार्यक्रमलाई निरन्तरता दिई एक अर्ब २९ करोड विनियोजन गरेको छ । यसबाट १३ लाख छात्रा लाभान्वित हुनेछन् । लक्षित समुदाय र विकट हिमाली जिल्लाका विद्यार्थीलाई प्रदान गरिँदै आएको छात्रवृत्तिलाई निरन्तर गरिनेछ । मुसहर, डोम र चमार समुदायका विद्यार्थीलाई चिकित्सातर्फको उच्चशिक्षामा उत्प्रेरणा छात्रवृत्ति प्रदान गरिनेछ । छात्रवृत्तिका लागि २ अर्ब ४४ करोड बिनियोजन गरेको छु ।

सामुदायिक विद्यालयमा कार्यरत प्रारम्भिक बालविकास सहयोगी कार्यकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक वापत संघीय सरकारबाट उपलब्ध गराइँदै आएको सशर्त अनुदान बृद्धि गरेको छु । यसका लागि रु १० अर्ब १६ करोड बिनियोजन गरेको छु । नेपाली मौलिकतामा आधारित शिक्षण सिकाई प्रणाली विकास गरिनेछ । विद्यालय शिक्षामा भर्चुअल शिक्षण प्रणालीलाई उयोग गरिनेछ । शिक्षाको गुणस्तर बृद्धि गर्न डिजिटल सिकाइ पोर्टलको विकास गरिनेछ । अपांगता भएका विद्यार्थीलाई आधारभूत तहको शिक्षा पूरा गर्न छात्राबासको प्रबन्ध गरिनेछ । राष्ट्रिय नियमन मापदण्ड तयार गरि निजी विद्यालयको समेत प्रभावकारी अनुगमन गरिनेछ । गुरुकुल, गुम्बा, मदरसालगायतका परम्परागत शिक्षा पद्धतिको विषयगत र शैलीगत विशेषता संरक्षण र प्रबद्र्धन गरिनेछ । राष्ट्रिय शैक्षिक सुधार कार्यक्रमअन्तर्गत तराई मधेशमा एक हजार पाँच सय, पहाडमा एक हजार र हिमालमा पाँच सयभन्दा बढी विद्यार्थी संख्या भएका विद्यालयको भौतिक पूर्वाधार निर्माणका लागि पूँजीगत अनुदान उपलब्ध गराइनेछ । निर्माणाधीन नमूना विद्यालयहरुको निर्माण कार्य सम्पन्न गरिनेछ ।

यसका लागि २ अर्ब ७२ करोड बिनियोजन गरेको छु । उच्च शिक्षालाई अनुसन्धानमा लक्षित बनाइनेछ । उच्च शिक्षा सम्बन्धी छाता ऐन निर्माण गरि विश्वविद्यालयहरुको सञ्चालनमा एकरुपता कायम गरिनेछ । अध्ययनका लागि मुलुक बाहिर जाने प्रवृत्तिमा कमी ल्याउन र रोजगार बजारअनुसारको जनशक्ति विकास गर्न जोड दिइनेछ । विश्वविद्यालयहरुका विभाग एवं संकायहरुका पुनःसंरचना गरिनेछ । विश्वविद्यालय अनुदान आयोगको पुनःसंरचना गरि उच्चशिक्षाको सुदृढ नियमनकारी निकायमा विकास गरिनेछ । विश्वविद्यालयहरुलाई विद्यार्थी संख्या, शैक्षिक गुणस्तर र पूर्वाधारको आवश्यकताका आधारमा अनुदान उपलब्ध गराइनेछ । शैक्षिक सत्र अगावै शैक्षिक क्यालेण्डर प्रकाशित गर्ने र कार्यान्वयनको अनुगमन गर्ने र सोको पालना नगर्ने विश्वविद्यालयको अनुदान रोक्ने व्यवस्था गरिनेछ । मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको पूर्वाधार निर्माण र जनशक्ति व्यवस्थापनको काम अगाडि बढाइने छ । शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा ल्याइनेछ । वीवीसी योगमाया हिमालयन आयुर्वेदिक विश्वविद्यालयको पूर्वाधार निर्माण गरिनेछ ।

विश्वविद्यालयहरुमा विदेशी विद्यार्थीहरु समेत आकर्षित नीति लिइनेछ । शैक्षिक क्यालेण्डर अवधिभरको लागि विदेशी विद्यार्थीलाई निःशुल्क भिषा उपलब्ध गराइनेछ । त्यस्ता विद्यार्थीका अभिभावकलाई बहु प्रवेशको भिषाको प्रबन्ध मिलाइनेछ । सरकारी स्वास्थ्य प्रणालीमा आवश्यक पर्ने विषय र संख्या अनुरुप जनशक्ति उत्पादन गर्न छात्रवृत्ति उपलब्ध गराइने छ । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिस वमोजिम मेडिकल शिक्षामा प्रदान गरिँदै आएको छात्रवृत्तिलाई गरिब, जेहेन्दार र अति दुर्गम क्षेत्रका विद्यार्थी लक्षित बनाइनेछ । बर्दिबास, बुटवल, सुर्खेत र डडेलधुरामा निर्माणाधीन तथा प्रस्तावित मेडिकल कलेजहरुको पूर्वाधार निर्माण कार्य अघि बढाउन ५६ करोड बिनियोजन गरेको छु । चिकित्सा शास्त्र, इन्जिनियरिङ, सूचना प्रविधि, नर्सिङलगायतका प्राविधिक विषयमा जनशक्तिको अभाव हुन नदिन विद्यमान मापदण्ड पुनरावलोकन गरि अध्ययन कोटा बृद्धि गरिनेछ ।

विद्यालय शिक्षा पूरा गरेका विद्यार्थीलाई नतिजाको आधारमा प्राविधिक तथा व्यवसायिक शिक्षा र विश्वविद्यालय शिक्षामा आबद्ध हुन प्रोत्साहित गरिनेछ । उच्चशिक्षा अध्ययन गर्न नसकेका युवाहरुलाई शीपमूलक तालिमका माध्यमबाट उद्यमशील बनाइनेछ । आगामी वर्ष प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्बाट २६ हजार ९ सय युवाहरुलाई छ महिनाभन्दा बढी अवधिको तालिम प्रदान गरिनेछ । प्रत्येक प्रदेशमा एक प्राविधिक शिक्षालय छनोट गरि नमूना शिक्षालयमा स्तरोन्नति गरिनेछ । साधारण विद्यालयका प्राविधिक धारका विद्यार्थीले शिप विकासका लागि त्यस्ता शिक्षालयको पूर्वाधार सुविधाको उपभोग गर्नसक्ने व्यवस्था मिलाइने छ । सेवाको प्रकृतिका आधारमा सार्वजनिक निकायमा इन्टर्नलाई परिचालन गरिनेछ । उद्यमशीलतामैत्री शिक्षालाई प्रोत्साहन गर्न हप्तामा बीस घण्टा कामको न्यूनतम ज्यालासहित कमाउँदै पढ्दै कार्यक्रम सञ्चालन गरिनेछ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको लागि रु २ खर्ब ११ अर्ब १७ करोड बिनियोजन गरेको छु ।’ 

उहाँले बर्दिबास, बुटवल, सुर्खेत र डडेलधुरामा निर्माणाधीन तथा प्रस्तावित मेडिकल कलेजहरुको पूर्वाधार निर्माण कार्य अघि बढाउन ५६ करोड बजेट विनियोजन गरेको जानकारी दिनुभयो ।