ओखलढुङ्गा। यस वर्ष ओखलढुङ्गा, सोलुखुम्बु र खोटाङका ४०० युवाले सीपमूलक तालिम लिएका छन् । व्यावसायिक तथा सीप विकास तालिम केन्द्र ओखलढुङ्गाले चालु आर्थिक वर्षमा तीन जिल्लाका युवालाई विभिन्न विषयको तालिम दिएको हो ।
नियमित र विशेष सीप विकास गरी १५ प्रकारका तालिममार्फत युवालाई सीप सिकाइएको कार्यालय प्रमुख जितेन्द्र राईले बताउनुभयो । युवालाई स्वदेशमै स्वरोजगार बनाउने उद्देश्यले तालिम सञ्चालन भइरहेको छ ।
उहाँले भन्नुभयो, “हामीले सीप सिकाएका युवालाई अनिवार्य उद्यमी बन्न प्रेरित गरेका छौँ । कार्यालयका तर्फबाट थप क्षमता विकासका कार्यक्रम ल्याउँछौँ । सरकारी क्षेत्रबाट पाउने अन्य सहयोग र अनुदानजस्ता कार्यक्रममा पनि सहभागी हुनुस् तर सिकेको सीपको सदुपयोग गरेर उद्यमी बनेर आत्मनिर्भर बन्नुस् भनेका छौँ । सरकारको लक्ष्य पनि सीप दिएर स्वरोजगार र आत्मनिर्भर बनाउने नै हो ।”
कार्यालय प्रमुख राईका अनुसार यस वर्षका केही तालिम सम्पन्न भइसकेका छन् भने केही सञ्चालनमा छन् । यस वर्ष आधारभूत कम्प्युटर, कटाइ–सिलाइ, कुक, केश शृङ्गार, ढाका बुनाइ, विद्युत् जडान, सेक्युरिटी गार्ड, वेटर, मोबाइल मर्मत, कम्प्युटर डिप्लोमालगायतका तालिम सञ्चालन गरिएका छन् ।
व्यावसायिक तथा सीप विकास केन्द्र ओखलढुङ्गाले चालु आर्थिक वर्षमा सीपमूलक तालिम सञ्चालन गर्न रु ७४ लाख ६४ हजार बजेटको अख्तियारी पाएको थियो । केन्द्रले आव २०८०÷८१ मा तीन वटै जिल्लाका गरी ६८८ जनालाई सीपमूलक तालिम दिएको थियो । बर्सेनि सयौँको सङ्ख्यामा युवालाई समेट्दै सीप विकासले नियमित र विशेष सीप विकासअन्तर्गतका तालिमहरु दिँदै आएको छ । तर सीप सिकेकामध्ये केही मात्रै व्यावसायिक बनेका छन् । रासस










