जुम्ला । हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित थाक्रामा रहेका दुईवटा हिमताल फुटेका छन् । जलवायु परिवर्तनले पारेको असरबाट छलफल गर्न काठमाडौं सगरमाथा संवाद आयोजना भइरहेका बेला जुम्लामा हिमताल फुटेको हो ।
दुई वटा हिमपात एकै पटक फुट्दा तल्लीतटीय क्षेत्रमा बाढी आएको थियो । बाढीबाट तील गाउँ उच्च जोखिममा छ । यहाँका १९ घर परिवार विस्थापित भएका छन् । वडाध्यक्ष पाल्जोर तामाङले तीलगाउँ उच्च जोखिममा रहेको बताएका छन् । स्थानीय अहिले पनि त्रासमा छन् ।
‘हिमताल जेठ १ गते नै फुटेको हो,’ उनले भने, ‘सुरुमा के हो भन्ने बारेमा अन्योल नै थियो । तर ९ घण्टाको पैदल हिँडेर थाक्रा पुग्दा हिमताल फुटेको थाहा भयो ।’
आइतबार पाँच जनाको टोली हिमताल फुटेको स्थानमा पुगेको छ । वडाध्यक्ष तामाङले भने, ‘त्यहाँ दुइवटा हिमताल फुटेको देखियो । त्यसपछि लेदो बगेको रहेछ ।’ अहिले तिलगाउँका १९ घर गाउँभन्दा टाढाको स्थानमा त्रिपालमा बसेका छन् । त्रिपालमा ३३ जना बसेका छन् । घरधुरी १९ हो तर अवस्था निकै जोखिम छ ।
घटनालगत्तै बाढीको कारण पत्ता लगाउन हिँडेको सुरक्षाकर्मीको टोलीबीच बाटोबाटै फर्किएको थियो । अग्लो ठाउँमा रहेको र त्यहाँ पुग्नका लागि विभिन्न स्वास्थ्य समस्या देखिने भएकोले टोली फर्किन बाध्य भएको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जानकारी दिए ।
’स्थानीय पाँच जनाको टोली त्यहाँ पुगेको छ । उनीहरुले देखेको आधारमा रणनीति बनाउनुपर्ने देखिन्छ,’ उनले भने ।










