नेपाली काँग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकमा केही विकास भएन भाष्य निर्माण भइरहेको उल्लेख गर्दै त्यस्तो भन्नेहरुलाई मेचीदेखि महाकालीसम्म भ्रमण गर्न आग्रह गर्नुभएको छ ।
प्रतिनिधि सभाको मंगलवारको बैठकमा अगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सांसद कार्कीले यस्तो आग्रह गर्नुभएको हो । उहाँले प्रयाप्त विकास नभएपनि सिमित स्रोत र साधनद्वारा धेरै विकास भएको दाबी गर्नुभयो । यद्यपि विकासले जनताको चाहना र आवश्यकताहरु पूरा गर्न नसकेको उहाँको भनाइ छ । उहाँले विकास विरोधी कुरा गरेर मुलुकको अर्थतन्त्रलाई गतिशील र जनताका आवश्यकता पूरा गर्न नसकिने उल्लेख गर्दै निरर्थक र झुटो कुरा नगर्न समेत आग्रह गर्नुभयो । उहाँले गाउँ–गाउँमा विकास पुगेको भएपनि जनताको मन गाउँमा अडिन नसकेको उल्लेख गर्दै विकासको विश्लेषण गरेर अघि बढ्नु अहिलेको आवश्यकता रहेको बताउनु भयो । उहाँले जनचाहानाअनुसार मुलुकको विकास गर्नको लागि सरकार गम्भिर भएर अघि बढ्नुपर्नेमा उहाँको जोड छ ।
उहाँले भन्नुभयो, ‘अहिले केही भएन भन्नेहरुले एकपटक मेचीदेखि महाकालीसम्म भ्रमण गरे हुन्छ । प्रयाप्त विकास भएको छ भनेर म भन्दिन । तर धेरै विकासहरु हामीले सिमित स्रोत र साधनद्वारा गरेका छौँ । अवश्यपनि यो विकासले जनताको चाहना र आकाङ्क्षाहरु पूरा हुन सकेका छैनन् । तर विकास नै भएन भन्ने कुरा निरर्थक र झुट हो । यस्ता झुटा कुरा गरेर हामीले मुलुकको अर्थतन्त्रलाई गतिशील र जनताको आवश्यकताअनुसार अग्रसर गराउन सक्दैनौं । आज गाउँ–गाउँमा हिजोको भन्दा राम्रो सडकको पहुँच छ, खानेपानीको पहुँच छ, खानेपानीको अवस्था हिजोको भन्दा राम्रो छ । गाउँ–गाउँमा विकास भएको भएपनि जनताको मन त्यो गाउँमा अडेको छैन । गाउँमा विकास पुगेको छ तर जनता शहरतर्फ आउँदैछन् । शहरमा पनि मन नअडेपनि हाम्रा युवाहरु विदेश जाने होडबाजीमा छन् । यसलाई विश्लेषण नगरेर विकासको कुरा गर्यौं भने त्यो केबल भाषणको विषय मात्र हुनसक्दछ ।’
मुलुकमा राजनीतिक र आर्थिक स्थायित्व दिने दायित्व समेत वर्तमान सरकारमाथि रहेको सांसद कार्कीको भनाइ छ । उहाँले अगामी आर्थिक वर्षको बजेट दस्तावेजका लागि मात्र नभई मुलुकको आर्थिक–सामाजिक विकास हुनेगरी आउनुपर्नेमा जोड दिनुभयो ।









