७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन News Polar पत्रकार महासंघलाई सञ्चारमन्त्रीको कटाक्ष–‘ठेक्का लिएको संस्थाले पत्रकारिता क्षेत्र जोगाइदिएको भए निकै माथि उठिसक्थ्यो’ News Polar भारी वर्षाको जोखिममा सरकारको तयारी : बाढीको अवस्था घण्टा–घण्टामा अपडेट गरिने

नेपालमा शिशु र बाल मृत्युमा उल्लेखनीय कमी आएकाे सर्वेक्षणकाे नतिजा

नेपालमा शिशु र बाल मृत्युमा उल्लेखनीय कमी आएकाे सर्वेक्षणकाे नतिजा
अ+ अ-

काठमाडाैंः केन्द्रीय तथ्याङ्क विभागद्वारा सञ्चालित नेपाल वहुसूचक सर्वेक्षण, २०७५/७६ को मुख्य सूचकहरूकाे नतिजामा नेपालमा बालमृत्यु र शिशु मृत्यु समेतका धेरै परिसूचकमा निकै सुधार आएकाे विवरण सार्वजनिक भएको छ । 

नेपालमा महिला तथा बालबालिकाको अवस्थाबारे राष्ट्रिय तथा क्षेत्रीयस्तरको अनुगमन मूल्यांकन, योजना तर्जुमा गर्न एवं स्तरीय तथा तुलनायोग्य सूचकहरु उपलब्ध गराउने प्रमुख उद्देश्य अनुरुप केन्द्रीय तथ्याङ्क विभागद्वारा आ.व. २०७५/७६ मा नेपाल बहुसूचक सर्वेक्षण सञ्चालन गरिएको विभागले जनाएकाे छ । यो सर्वेक्षण नेपालको तेस्रो हो।

यसबाट स्थानीय तहमा हुने योजना तर्जुमा, नीति निर्माण तथा विकास कार्यहरुको अनुगमनको लागि आवश्यक पर्ने तथ्याङ्कहरुको अपर्याप्ततालाई न्यून पार्नुका साथै अन्तर्राष्ट्रिय घोषणाहरु तथा दिगो विकास लक्ष्यका सूचकहरूको अनुगमन गर्न ठोस योगदान पुग्ने विश्वास गरिएको विभागकाे भनाइ छ । यो सर्वेक्षणको कार्यान्वयन छैठौं विश्वव्यापी बहुसूचक सर्वेक्षणको श्रृंखलाका रूपमा संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ) नेपालको प्राविधिक तथा आर्थिक सहयोगमा नेपाल सरकारले गरेको हो।

यस सर्वेक्षणमा तथ्याङ्क संकलनको लागि नेपालभर ५१२ क्लष्टर (गणना क्षेत्र) हरुमध्ये शहरी क्षेत्रबाट २९० क्लष्टर र ग्रामीण क्षेत्रबाट २२२ क्लष्टर तथ्यांकीय विधिबाट छनौट गरी हरेक क्लष्टरबाट गणनाको लागि २५ वटा परिवारहरु छानिएका थिए। यसरी छानिएका जम्मा १२ हजार ८०० परिवारबाट पारिवारिक विवरण संकलन गरिनुका साथै प्रत्येक परिवारमा भएका १५-४९ वर्ष उमेर समूहका महिला, १५-४९ वर्ष उमेर समूहका पुरुष, ५-१७ वर्ष उमेर समूहका बालबालिका तथा ५ वर्षमुनिका बालबालिकाहरुको विवरण संकलन गरिएकाे युनिसेफले जनाएकाे छ । साथै बाल पोषणको स्थिति अवगत गर्नका लागि तौल तथा उचाई पनि मापन गरिएको थियो। 

पाँच वर्षमुनिका बालबालिकाको व्यक्तिगत प्रश्नावली अन्तर्गतका मोड्युलहरुमा उमेर, जन्म दर्ता, प्रारम्भिक बाल्यकाल विकास, बाल अनुशासन, बालबालिकाको कार्यात्मक क्षमता, स्तनपान र शिशु स्याहार, खोपको विवरण र बिसञ्चो हुँदाको स्याहार तथा तौल/उचाई मापन विवरण संकलन गरिएको थियो।त्यसै गरी ५-१७ वर्ष उमेर समूहका बालबालिकाको व्यक्तिगत प्रश्नावली अन्तर्गत मोड्युलहरुमा उमेर, बाल अनुशासन, बालबालिकाको कार्यात्मक क्षमता, अभिभावकको संलग्नता, आधारभूत सिकाइ सम्बन्धी सीपहरु विवरण संकलन गरिएको विभागकाे भनाइ छ ।

युनिसेफका अनुसार उक्त अध्ययनका मुख्य नतिजाहरू निम्न रहेका छन्ः

 

बाल मृत्यु

  • बि.सं. २०७१ सालमा प्रति १००० जीवित जन्मेका शिशुहरुमध्ये १ वर्ष उमेर नपुग्दै ३३ जना शिशु मृत्यु भएको थियो भन्ने हालको सर्वेक्षण (२०७६) अनुसार सो घटेर २५ जनामा झरेको छ।सोही अवधिमा ५ वर्षमुनिका बालबाललिकाको मृत्युदर पनि प्रति १००० जीवित जन्मेका बालबालिकामध्ये ५ वर्ष उमेर नपुग्दै ३८ जना बाल मृत्युबाट घटेर २८ जनामा झरेको छ।त्यसै गरी प्रति १००० जीवित जन्मेका नवजात शिशुहरुमध्ये १ महिना उमेर नपुग्दै २३ जना नवजात शिशु मृत्युबाट झरेर १६ जनामा रहेको देखिन्छ।
  • प्रदेशगत अनुसार नवजात शिशु मृत्यु दर सवैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा प्रति १००० जन्ममा २५ जना छ भने सवैभन्दा घटी बागमती प्रदेशमा ९ जना रहेको छ भने प्रति १००० जन्ममा सवैभन्दा बढी शिशुमृत्यु दर ३५ जना प्रदेश ५ रहेको र सवैभन्दा कम प्रदेश २ मा १५ जना रहेको देखिन्छ। त्यसै गरी प्रति १००० जन्ममा सवैभन्दा बढी ५ वर्ष मुनिका बालबालिका बालमृत्यु दर ४० जना प्रदेश ५ रहेको छ भने सवैभन्दा कम प्रदेश २ र बागमती प्रदेशमा १९ जना रहेको देखिन्छ।
     

विद्युत तथा टेलिफोनमा पहुँच

  • ८९.९ प्रतिशत घरपरिवारमा विद्युत सेवाको पहुँच पुगेको छ भने प्रदेशगत आधारमा हेर्दा सबैभन्दा धेरै गण्डकी प्रदेश (९८.९ प्रतिशत) र सबैभन्दा कम कर्णाली प्रदेश (४४.६ प्रतिशत) रहेको छ।
  • नेपालमा ९६.२ प्रतिशत घरपरिवारमा टेलिफोन (स्थिर टेलिफोन वा मोवाइल फोन) सुविधाको पहुँच रहेको छ भने प्रदेशगत आधार अनुसार सबैभन्दा धेरै बागमती प्रदेश (९८.० प्रतिशत) र  सबैभन्दा कममा कर्णाली प्रदेश (९३.६ प्रतिशत)  रहेको छ ।
     

आमसञ्चार र सूचना सञ्चार प्रविधिमा पहुँच

  • १५-४९ वर्ष उमेर समूहका महिलाहरुले हप्तामा कम्तीमा एकपटक तीनवटै प्रकारका आमसञ्चार पत्रपत्रिका पढ्ने, रेडिया सुन्ने र टेलिभिजन हेर्ने गरेको ११.० प्रतिशतले पाइयो भने सोही उमेर समूहका १२.९ प्रतिशत पुरुषले गर्ने गरेको देखिन्छ।
  • प्रत्येक दुई जनामध्ये एक जना (५१.१ प्रतिशत) घरपरिवारसँग इन्टरनेटको पहुँचमा कुनै उपकरणको माध्यमद्वारा प्रयोग गरेको पाइयो।
  • १५-४९ वर्ष उमेर समूहका महिलामध्ये ७९.३ प्रतिशत महिलाहरुसंग आफ्नै माोबाइल फोन रहेको छ भने ९२.४ प्रतिशत महिलाहरुले गत तीन महिनामा मोबाइल प्रयोग गरेको देखिन्छ । त्यसै गरी १५-४९ वर्ष उमेर समूहका पुरुषहरुमध्ये ९१.४ प्रतिशत पुरुषहरुसंग आफ्नै माोबाइल फोन रहेको छ भने गत तीन महिनामा ९६.८ प्रतिशत पुरुषहरुले मोबाइल प्रयोग गरेको देखिन्छ।
     

सुर्तीजन्य र मदिराजन्य पदार्थको सेवन

  • नेपालमा ६.१ प्रतिशत तथा ४५.२ प्रतिशत क्रमशः १५-४९ वर्ष उमेर समूहका महिलाहरु तथा पुरुषहरुले सर्वेक्षणभन्दा अघिल्लो महिनामा कुनै किसिमको सुर्तीजन्य पदार्थ सेवन गरेको पाइयो।
  • ५.५ प्रतिशत पुरुष र २.२ प्रतिशत महिलाले १५ वर्षअगाडि नै एक पूरा चुरोट सेवन गरेको पाइयो।
  • १५-४९ वर्ष उमेर समूहका ९.१ प्रतिशत महिलाहरुले कम्तीमा एक पटक एक महिनाको कुनै दिनमा मदिराजन्य पदार्थ सेवन गर्ने गरेको थियो भने सोही समूहका ४०.६ प्रतिशत पुरुषहरुले मदिराजन्य पदार्थ सेवन गरेको पाइयो।
  • १५-४९ वर्ष उमेर समूहका ७.९ प्रतिशत पुरुष र ५.० प्रतिशत महिलाले १५ वर्षअगाडि नै पहिलो पटक मदिराजन्य पदार्थ सेवन गरेको पाइयो।
     

प्रजजन् तथा मातृत्व स्वास्थ्य

  • कूल प्रजजन दर प्रति महिला (१५-४९) वर्ष उमेर समूहले २.० जीवित बच्चा जन्माएका पाइयो।
  • १५-१९ वर्ष उमेर समूहको किशोरीको प्रजजन् दर प्रति १००० किशोरीहरुले ६३ जीवित बच्चा जन्माएका पाइयो भने ६ जना महिलामध्ये १ जना (१३.८ प्रतिशत), २०-२४ वर्ष उमेर समूहका महिलाहरुले १८ वर्षअगाडि नै जीवित बच्चा जन्माउने गरेको पाइयो।
  • १५-४९ वर्ष उमेर समूहका हालै विवाहित महिलाहरूमध्ये प्रत्येक २ जनामध्ये १ जना (४६.७ प्रतिशत) विवाहित महिलाले परिवार नियोजनको उपाय तथा साधनहरु (परम्परागत वा आधुनिक विधि) को प्रयोग गरेको देखिन्छ भन्ने सोही उमेर समूहका ५ जनामध्ये ३ जना (६१.९ प्रतिशत) महिलाहरुले आधुनिक परिवार नियोजनका साधन/सेवाहरुको आफ्नो माग अनुसार प्रयोगमा सन्तुष्टि रहेको देखिन्छ।
  • सर्वेक्षणभन्दा २ वर्षअघिसम्मको अवधिमा जीवित शिशुलाई जन्म दिएका १५-४९ वर्ष उमेर समूहका महिलाहरुमध्ये ७७.८ प्रतिशतले सिफारिश भए बमोजिम कुनै स्वास्थ्यकर्मीसँग कम्तिमा ४ पटक पूर्वप्रसूति जाँच गराएको देखिन्छ।
  • सर्वेक्षणभन्दा २ वर्षअघिसम्मको अवधिमा जीवित शिशुलाई जन्म दिएका १५-४९ वर्ष उमेर समूहका महिलाहरुमध्ये ७७.५ प्रतिशतले स्वास्थ्य संस्थामा, ७९.३ प्रतिशतले दक्ष प्रसूतीकर्मीबाट र १५.३ प्रतिशतले सल्यक्रियाको माध्यमबाट प्रसूती गराएको थियो।
     

बाल स्वास्थ्य, पोषण तथा विकास

  • सर्वेक्षणको पाँच वर्ष अवधिमा ५ वर्षमुनिका बालबालिकाहरुको पोषण स्थितिमा विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार उमेर अनुसारको तौल कमी भएका बालबालिकाहरु (लिखुरे), उमेर अनुसार उचाई कम भएका बालबालिकाहरु (पुड्को) बि.सं.२०७१ मा क्रमशः ३०.१ प्रतिशत र ३७.५ प्रतिशतबाट घटेर बि.सं.२०७६ मा क्रमशः २४.३ प्रतिशत र ३१.५ प्रतिशत भएको पाइएको छ। त्यसै गरी उचाई अनुसार तौल कम भएका बालबालिकाहरु (ख्याउटे) र उचाई अनुसार तौल बढी भएको बालबालिकाहरु बि.सं.२०७१ र बि.सं.२०७६ मा खास भिन्नता नभएको पाइयो।
  • उमेर अनुसारको तौल कमी भएका बालबालिकाहरु (लिखुरे) सबैभन्दा बढी ३७.४ प्रतिशत कर्णाली प्रदेशमा र सबैभन्दा कम ११.१ प्रतिशत बागमती प्रदेशमा देखिन्छ।
  • ५ जना आमाहरुमध्ये ३ जना (६२.१ प्रतिशत) ले आफ्नो बच्चालाई जन्मेको ६ महिनासम्म आफ्नो दुध मात्र खुवाउने गरेको पाइयो। प्रदेशगत आधारमा हेर्दा, सबैभन्दा बढी (६९.९ प्रतिशत) प्रदेश २ मा,  त्यसपछि क्रमशः कर्णाली प्रदेशमा (६८.३ प्रतिशत) र प्रदेश ५ मा (६३.२ प्रतिशत) देखिन्छ भने सबैभन्दा कम बागमती प्रदेशमा (५१.१ प्रतिशत) रहेको पाइयो।
  • नेपालमा बि.सं.२०७१ देखि बि.सं.२०७६को पाँच वर्ष अवधिमा १२-२३ महिनासम्मका बालबालिकाहरुमध्ये ७०.२ प्रतिशत बालबालिकाहरुले मात्र पहिलो वर्षमा सबैखोप पूर्णमात्रामा लिएको देखिन्छ।
  • सर्वेक्षणभन्दा २ हप्ताअघिसम्मको अवधिमा झाडापखाला लागेका ५ वर्षमुनिका बालबालिकाहरु ९.७ प्रतिशत  रहेको थियो भने २८.९ प्रतिशत बालबालिकाहरुलाई मात्र पुनर्जलीय झोलका साथै जिङ्क चक्की पनि खुवाएको पाइयो।
  • ३६-५९ महिनाका बालबालिकाहरुमध्ये ६१.९ प्रतिशत बालबालिकाले सर्वेक्षणको अवधिमा प्रारम्भिक बाल्यकाल शिक्षा कार्यक्रममा जाने गरेको पाइयो भने समग्रमा, प्रारम्भिक बाल विकास सूचकांक ६५.२ प्रतिशत रहेको देखिन्छ।
     

शिक्षा

  • प्राथमिक विद्यालय (१-५ कक्षा) मा ५.६ प्रतिशत, निम्न माध्यमिक विद्यालय (६-८ कक्षा) मा ४.३ प्रतिशत र माध्यमिक विद्यालय (९-१२) मा १५.१ प्रतिशत विद्यालय बाहिर रहेको बालबालिका देखिन्छ।
  • प्राथमिक विद्यालय (१-५ कक्षा) को १ कक्षामा प्रवेश गर्ने उमेरका बालबालिकाहरु ३९.८ प्रतिशत रहेको पाइयो।
  • प्राथमिक विद्यालय (१-५ कक्षा) मा ८१.८ प्रतिशत, निम्न माध्यमिक विद्यालय (६-८ कक्षा) मा ७३.१ प्रतिशत, माध्यमिक विद्यालय (९-१२) मा २७.२ प्रतिशत बालबालिकाहरुले पूरा कक्षा उतीर्ण गरेको देखिन्छ।
     

हिंसा तथा शोषणको सुरक्षा

  • ५ वर्षमुनिका बालबालिकाका आमा/स्याहारसुसार गर्ने व्यक्तिहरुमध्ये ८०.० प्रतिशतले नेपालमा जन्मदर्ता कसरी गर्ने भन्ने थाहा भएको पाइयो। त्यसैगरी, ५ वर्षमुनिका बालबालिकाहरुको जन्मदर्ता ७७.२ प्रतिशत रहेको पाइयो।
  • प्रदेशगत आधारमा हेर्दा सबैभन्दा बढी (८९.१ प्रतिशत) ५ वर्षमुनिका बालबालिकाहरुको जन्मदर्ता सुदूरपश्चिम प्रदेशमा रहेको थियो भने सबैभन्दा कम (७०.८ प्रतिशत ) बागमती प्रदेशमा देखियो।
  • ०-१७ वर्ष उमेर समूहका बालबालिकाहरुको जन्म दिने आमाबाबु (एक वा दुबै) को मृत्यु ४.२ प्रतिशत रहेको पाइयो। प्रदेशगत आधारमा हेर्दा सबैभन्दा बढी (५.७ प्रतिशत) कर्णाली प्रदेशमा छ भने सबैभन्दा कम (३.२ प्रतिशत) बागमती प्रदेशमा देखियो।
  • २-१७ वर्ष उमेर समूहका बालबालिकाहरुमा कम्तीमा एक कार्यात्मक क्षमता: सुन्ने, देख्ने, बोल्ने, सिक्ने, हिँडडुल गर्ने तथा स्वयं हेरविचार गर्नेमा क्षमतामा १०.६ प्रतिशत रहेको पाइयो।
  • १५-१९ वर्ष उमेर समूहका महिलाहरुमध्ये ७२.२ प्रतिशतले मानव वेचबिखन बारेमा सुनेका छन् भने सोही उमेर समुहका पुरुषहरुमध्ये ८८.४ प्रतिशतले सुनेका पाइयो।
  • १५-१९ वर्ष उमेर समूहका किशोरीहरुमध्ये १९.३ प्रतिशतले हाल विवाहित गरेको छ भने सोही उमेर समूहका किशोरहरुमध्ये ५.३ प्रतिशतले हाल विवाहित गरेको पाइयो।
     

खानेपानी तथा सरसफा

  • नेपालको कूल जनसंख्याको ९७.१ प्रतिशतले खानेपानीको लागि सुधारिएको पानी स्रोत प्रयोग गरेको देखिन्छ। पानीको गुणस्तर परिक्षण गर्दा ८५.१ प्रतिशत घरपरिवार सदस्यहरुले पिउने पानीमा E-coli को जीवाणु ->=1cfu/100ml_ पाइयो।
  • नेपालको कूल जनसंख्याको ९३.८ प्रतिशतले सुधारिएको चर्पीहरुको प्रयोग गरेको र ७९.२ प्रतिशतले सुधारिएको चर्पीहरु परिवारका सदस्यहरु वाहेक अरुले प्रयोग नगरेको बताएको थियो।
  • ८०.७ प्रतिशत घरपरिवारसँग हात धुनको लागि निर्दिष्ट स्थानमा पानी तथा साबुन वा अन्य सफाइका वस्तु राखिएको भेटियो।
     

स्वास्थ्य बीमा

  • १५-१९ वर्ष उमेर समूहका महिला (५.८ प्रतिशत) तथा पुरुष (५.२ प्रतिशत) ले स्वास्थ्य बीमा गरेको पाइयो। त्यसै गरी ५-१७ वर्ष उमेर समूहका बालबालिका (४.४ प्रतिशत) तथा ५ वर्षमुनि बालबालिका (३.७ प्रतिशत) ले स्वास्थ्य बीमा गरेको पाइयो।
     

जीवन सन्तुष्टि

  • १५-४९ वर्ष उमेर समूहका महिलाहरु (६२.४ प्रतिशत) तथा सोही उमेर समूहका पुरुषहरु (६४.७ प्रतिश)ले ज्यादै खुशी वा केही हदसम्म खुशी व्यक्त गरेका पाइयो। त्यसै गरी १५-२४ वर्ष उमेर समूहका युवतीहरु (६८.० प्रतिशत) तथा सोही उमेर समूहका युवाहरु (६९.६ प्रतिश) ले ज्यादै खुशी वा केही हदसम्म खुशी व्यक्त गरिएको पाइयो।
  • १५-४९ वर्ष उमेर समूहका महिला (४५.४ प्रतिशत) तथा सोही उमेर समूहका पुरुष (५२.५प्रतिशत) ले गत वर्षभन्दा आगामी वर्षमा अझ राम्रो जीवनस्तरमा सुधार हुने अपेक्षा व्यक्त गरेको पाइयो भने १५-२४ वर्ष उमेर समूहका युवतीहरु (५०.१ प्रतिशत) तथा सोही उमेर समूहका युवाहरु (५६.४ प्रतिशत) ले गत वर्षभन्दा आगामी वर्षमा अझ राम्रो जीवनस्तर सुधार हुने अपेक्षा व्यक्त गरेको पाइयो। 

बहुसूचक सर्वेक्षण महिला, बालबालिका तथा घरपरिवार सम्बन्धी तथ्याङ्क उपलब्ध गराउने विभिन्न स्रोतहरुमध्ये एक बृहत् तथ्याङ्कीय स्रोत रहेकाे पनि युनिसेफ नेपालले जनाएकाे छ । यो सर्वेक्षण संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ) बाट विकसित गरिएको अन्तर्राष्ट्रियस्तरको घरपरिवार सर्वेक्षण विधि अपनाइ सञ्चालन गरिएको बताइएकाे छ ।