काठमाडौँ । नेकपा (एमाले)का सांसद पदम गिरीले जिम्मेवार तहमा बसेकाहरुले नै शिक्षकहरुलाई गलत बाटोमा हिँड्न प्रेरित गरिरहेको आरोप लगाउनुभएको छ ।
प्रतिनिधि सभाको आईतवारको बैठकमा बोल्दै सांसद गिरीले यस्तो आरोप लगाउनुभएको हो । उहाँले प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाललाई लक्षित गर्दै आफ्नो राजनीतिक रोटी सेक्नको लागि शिक्षकहरुलाई उत्तेजित पार्ने काम गरिएको टिप्पणी गर्नुभयो ।
उहाँले हिजो सरकारको नेतृत्वमा रहँदा शिक्षकहरुसँग सहमति गरेर कार्यान्वयन नगरी वर्तमान सरकारमाथि दोष थुपार्ने काम गरिएको भन्दै आक्रोश व्यक्त गर्नुभयो । उहाँले शिक्षाभित्रका सारा समस्याहरु वर्तमान सरकार र वर्तमान प्रधानमन्त्रीको कारण भएको हो जस्तैगरी जनतामा भ्रम पार्ने कामहरु भइरहेका भइरहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘आफ्नो राजनीतिक रोटि सेक्नको लागि शिक्षकहरुलाई उत्तेजित पार्ने, आन्दोनल नछोड्नुस्, सडक तताउनुस्, विद्यालय नफर्किनुस् जस्ता जिम्मेवार तहमा रहेका नेतृत्वहरुले जुन अभिव्यक्ति दिइरहनु भएको छ । यसले कतै शिक्षकहरुलाई गलत बाटोमा हिँड्नको लागि उत्प्रेरित त गरिरहनुभएको छैन ? हिजो सरकारको नेतृत्वमा आफू रहने, आफैं बसेर शिक्षकहरुसँग सहमति गर्ने, अनि त्यो सहमतिलाई कार्यान्वयन नगर्ने । अनि शिक्षाभित्रका सारा समस्याहरु वर्तमान सरकारले गर्दा आएको हो, वर्तमान प्रधानमन्त्रीको कारण भएको हो जस्तैगरी जनतामा भ्रम पार्ने कामहरु भइरहेका छन् । यसरी जनतामा भ्रम पार्ने हैसियत राख्दैन ।’
शिक्षकका जायज मागहरु सम्बोधन गर्न सरकार प्रतिवद्ध रहेको भन्दै जनतामा भ्रम पार्ने काम नगर्न समेत आग्रह गर्नुभयो ।










