१९ माघ २०८१, शनिबार
,
Latest
प्रदेश सरकारले माग गरेका कानुन चाँडै बन्नेछन्ः सभामुख घिमिरे अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता: डडेल्धुराको विजयी सुरुआत बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध ‘राज्यबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने सम्भावना छैन’ सोलुखुम्बुमा आगलागी र हावाहुरीकले २९ संरचनामा क्षति निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोभिडबाट मृत्यु भएका ४८ संक्रमितमध्ये २७ दीर्घरोगी



अ+ अ-

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट सोमबारसम्म नेपालमा ४८ जनाको मृत्यु भएको छ । उनीहरूमध्ये २७ जना दीर्घरोगी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

नेपालमा कोरोना भाइरसको संक्रमणबाट २ जेठमा सिन्धुपाल्चोककी सुत्केरीको धुलिखेल अस्पतालमा मृत्यु भएको थियो । मृत्युपछि स्वाब संकलन गरेर परीक्षण गर्दा ३ जेठमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसयता ७२ दिनमा कोरोनाबाट ४८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सोमबार साँझसम्म मृत्यु भएका ४८ जना कोरोना संक्रमितमध्ये २२ जना ५० वर्षभन्दा माथिका छन् । त्यस्तै, २६ जना ५० वर्षभन्दा कम उमेरका छन् । जसमा तीन बालबालिका पनि छन् । 

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार मृत्यु भएकामध्ये २७ जना गम्भीर प्रकारका दीर्र्घरोगी हुन् । उनीहरूमा मिर्गौलाको समस्या, क्यान्सर, अंग प्रत्यारोपित, फोक्सोको क्यान्सर, क्षयरोग, मधुमेह, उच्च रक्तचापजस्ता समस्या रहेको पाइएको हो । मृत्यु भएकामध्ये सातजनामा श्वास–प्रश्वासको समस्या देखिएको छ । त्यस्तै, कोभिड–१९ बाट मात्रै चारजनाको मृत्यु भएको मन्त्रालयले जनाएकोे छ । मृत्यु भएका १० जनामा कोरोना पुष्टि भए पनि कारण खुलेको छैन । 

स्वास्थ्य मन्त्रालयका अनुसार औसत प्रत्येक दुई दिनमा एकजनाको मृत्यु भएको छ । मृतक व्यक्तिमा कोरोना पुष्टि भएपछि उनीहरूको मृत्युको प्रमुख कारक कोरोना हो वा अरू नै त्यसबारे कुनै गहन अध्ययन भएको छैन । नेपालमा ४८ जनाको कोरोनाबाट मृत्यु भएको भनिए पनि प्रमुख कारण कोरोना नै हो भन्ने विषयमा गम्भीर प्रश्न खडा भएको अनुसन्धान वैज्ञानिक डा। सन्तोष दुलालले बताए । उनका अनुसार कोरोनाबाट मृत्यु भएकामध्ये ७३ प्रतिशतमा कुनै न कुनै प्रकारको ‘को–मोर्बिडिटिज’ देखिएको छ । 

त्यस्तै, दीर्र्घरोग नभए पनि हप्तौँ लगाएर भारतबाट हिँडेर आउँदा खाना, पानी र थकानको कारणले गर्दा उनीहरू पनि दीर्र्घरोगीजस्तै हुन पुगेको डा। दुलालको भनाइ छ । यस्तो अवस्थामा क्वारेन्टाइनमा बस्दा उनीहरूले ज्यान गुमाउनुपरेको उनले बताए । ‘मृत्युको कारक कोरोना नहुन सक्छ, मुख्य कारकतत्व दीर्र्घरोग र बढी थकान हुन सक्छ । दीर्र्घरोगले उनीहरू गम्भीर अवस्थामा थिए, थप कोरोनाले अझ बढी गम्भीर बनाइदियो । जसका कारण उनीहरूको मृत्यु भयो,’ डा। दुलाल भन्छन्, ‘यसले गर्दा सबैको मृत्यु कोरोनाले भएको भनेर दाबी गर्न सकिँदैन । कोरोना र अन्य रोगले मृत्यु गराउने सम्भावना के छ, त्यसलाई राम्रोसँग केलाउनुपर्छ ।’

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार नेपालमा ५० वर्षभन्दा माथिको उमेर समूहका सबै व्यक्तिमा अन्य समस्या पाइएको छ । जसमध्ये २२ प्रतिशतमा मिर्गौलाको समस्या र अन्यलाई क्षयरोग, मुटु, मधुमेह, क्यान्सरको समस्या देखिएको छ । त्यस्तै, ५० वर्षभन्दा कम उमेर समूहका व्यक्तिमा ५५ प्रतिशत मात्र अन्य समस्या भएको पाइएको छ । डा। दुलालका अनुसार कोरोनाको पुष्टि भएका ५० वर्षभन्दा कम उमेरका व्यक्तिभन्दा ५० वर्षभन्दा बढी उमेर समूहका व्यक्तिमा मृत्युको जोखिम करिब १२ गुणा बढी देखिएको छ । 

एकैदिन तीन संक्रमितको मृत्यु

कोरोना भाइरसको संक्रमणबाट सोमबार एकैदिन तीनजनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गत २४ घन्टामा एक सय ३९ नयाँ संक्रमित थपिँदा तीनजनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बताए । योसँगै कोरोना संक्रमितको संख्या १८ हजार सात सय ५२ पुगेको छ । जसमध्ये १३ हजार सात सय ५४ जना निको भएका छन् । 

सोमबार मृत्यु हुनेमा भारतीय ६५ वर्षीय वृद्ध, धनुषाका ३६ वर्षीय युवक र बाराका ६० वर्षीय वृद्ध रहेका छन् । मुटुका रोगी भारतीय नागरिकको वीरगन्जमा उपचारका क्रममा मृत्यु भएको हो । त्यस्तै, धनुषाको सहिदनगर नगरपालिकाका युवकमा ज्वरो, खोकी र श्वास–प्रश्वासको समस्या देखिएको थियो । बाराका वृद्धमा निमोनिया, मस्तिष्कघात र मिर्गौलासम्बन्धी गम्भीर समस्या देखिएको मन्त्रालयले जनाएको छ ।, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।