२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

आणविक सम्झौतामा इरानसँग ‘प्रत्यक्ष वार्ता’ गर्ने ट्रम्पको चाहना



अ+ अ-

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार तेहरानसँग आणविक सम्झौताबारे ‘प्रत्यक्ष वार्ता’ चाहेको बताउनुभएको छ । यसअघि उहाँले इरानले आणविक हतियार विकास गरे बम हान्ने धम्की दिनुभएको थियो ।

दशकौँदेखि पश्चिमी राष्ट्रहरूसँगको सम्बन्धलाई तनावपूर्ण बनाएको देशको आणविक कार्यक्रममा सहमतिमा पुग्न ट्रम्पले इरानी नेताहरूलाई दुई महिनाको समयसीमा दिनुभएको छ ।

संयुक्त राज्य अमेरिकासहितका पश्चिमी देशहरूले लामो समयदेखि इरानलाई आणविक हतियारको खोजी गरेको आरोप लगाएका छन् । उक्त आरोपलाई तेहरानले अस्वीकार गर्दै यसको समृद्धिकरण गतिविधिहरू शान्तिपूर्ण उद्देश्यका लागि मात्र भएको दाबी गरेको छ ।

“मलाई लाग्छ प्रत्यक्ष वार्ता गर्नु राम्रो हुन्छ”, ट्रम्पले राष्ट्रपतीय विमान एयर फोर्स वानमा पत्रकारहरूसँग भन्नुभयो, “मलाई लाग्छ यो छिटो हुन्छ र मध्यस्थकर्ताहरू मार्फत जानुभन्दा अर्को पक्षलाई धेरै राम्रोसँग बुझ्न सकिन्छ ।”

इरानका विदेशमन्त्री अब्बास अराघचीले गत हप्ता तेहरानले ‘इरानप्रति अर्को पक्षको दृष्टिकोणमा परिवर्तन नआएसम्म’ वासिङ्टनसँग प्रत्यक्ष वार्ता नगर्ने बताउनुभएको थियो ।

ट्रम्पले आफ्नो पहिलो कार्यकालमा पूर्ववर्ती बाराक ओबामाले सन् २०१५ मा गर्नुभएको आणविक सम्झौता रद्द गर्नुभएको थियो र इरानमाथि कठोर प्रतिबन्ध लगाउनुभएको थियो ।

तेहरान र विश्व शक्तिहरूबीच सम्पन्न भएको सो सम्झौताले इरानलाई प्रतिबन्धहरूबाट राहत दिने बदलामा आफ्नो आणविक महत्त्वाकांक्षालाई सीमित गर्न बाध्य पारेको थियो ।

“उनीहरूले मध्यस्थकर्ताहरू प्रयोग गर्न चाहन्थे, त्यो अब आवश्यक छ भन्ने मलाई लाग्दैन”, ट्रम्पले भन्नुभयो, “मलाई लाग्छ उनीहरू चिन्तित छन्, मलाई लाग्छ उनीहरू आफूलाई कमजोर महसुस गर्छन् । मैले उनीहरूलाई त्यस्तो महसुस गराउन चाहन्न, मलाई लाग्छ उनीहरू भेट्न चाहन्छन् ।”

गत महिना ट्रम्पले इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीलाई आणविक वार्ताको आह्वान गर्न र तेहरानले अस्वीकार गरेमा सम्भावित सैन्य कारबाहीको चेतावनी दिन पत्र लेखेको बताउनुभएको थियो ।

खामेनीले अमेरिकी धम्कीहरूले ‘उनीहरूलाई कतै पनि पुर्‍याउने छैन’ भन्दै इरानविरुद्ध ‘यदि उनीहरूले केही हानिकारक गरे भने’ पारस्परिक उपायहरूको चेतावनी दिनुभएको थियो ।

गत हप्ता ट्रम्पले इरानले आणविक हतियार विकास गर्ने प्रयास छोडेको छैन भने ‘बमबारी हुनेछ’ भन्नुभएको थियो ।

इजरायलले इरानका दुई सहयोगी हमास ९सन् २०२३ अक्टोबर ७ मा इजरायलमा आक्रमण गर्ने प्यालेस्टिनी लडाकूहरू० र लेबनानको हिजबुल्लाहलाई ध्वस्त पारेपछि ट्रम्पको पहुँच इरानका लागि कमजोर स्थितिमा आएको छ ।