८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar अत्यधिक वर्षाको सम्भावनापछि ट्रक व्यवसायीलाई सतर्क रहन महासंघको आग्रह News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द News Polar ईश्वर पोखरेलसहित सात नेता एमालेको स्थायी कमिटीमा News Polar एमालेले विद्या भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउने प्रस्ताव News Polar ओलीको राजनीतिक प्रतिवेदन तल्लो तहसम्म संप्रेषण गर्ने एमालेको निर्णय News Polar नामियाद्वारा भोटेकोशी बाढीपीडितका दोस्रो चरणको सहयोग कोषको खातामा News Polar केयूका संस्थापक उपकुलपति शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि News Polar ताप्लेजुङको दोभान बजारमा विद्युत् सर्ट हुँदा ७ घर जलेर नष्ट News Polar नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर News Polar इन्द्रजात्राको सम्पूर्ण गतिविधि गल्ली म्यापबाट लिन सकिने News Polar प्याब्सनद्वारा भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि २० करोड ८९ लाख राहत सहयोग News Polar भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्गमा राति ९ घण्टा सवारी आवागमन बन्द News Polar भाषाविद् डा बन्धु सम्मानित News Polar दलितको समुदायको अधिकार तथा विकाससम्बन्धी छुट्टै कानून निर्माण गर्दै सरकारः वर्गविहीन र जातविहीन समाज निर्माणमा सांसदहरुको जोड News Polar विष्टले उठाए सरकारको सुशासनमाथि प्रश्न, भ्रष्टाचार छानबिनदेखि बाढीपीडितलाई राहतसम्म माग News Polar सांसद शेर्पाको आक्रोशः ‘ब्युरोक्रेसीलाई विदेश भ्रमणको हतार, पीडितलाई ६ महिनासम्म पनि रिपोर्ट छैन’ News Polar प्रतिनिधिसभा बैठक : निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक, २०८३ प्रस्तुत News Polar विपद्मा परेका बालबालिकाका लागि दीर्घकालीन स्याहार योजना ल्याइने News Polar अविरल वर्षासँगै सतर्क रहन मौसमविद्को आग्रह News Polar सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो

देशको मुख्य समस्या भनेको स्थिर सरकार नहुनु होः मृगेन्द्रकुमारसिंह यादव

देशको मुख्य समस्या भनेको स्थिर सरकार नहुनु होः मृगेन्द्रकुमारसिंह यादव
अ+ अ-

काठमाडौँ। राष्ट्रियसभा परिपक्व सदस्यहरूको सभा हो । यो सभाले आफूलाई दिएको अधिकारको प्रयोग गरेर काम गर्दै आएको छ ।

संविधानको मूल मर्मअनुरुप यसले कानुन निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ । त्यसैगरी जनताका सवाललाई उठाएर सरकारसम्म पुर्याउने काम गर्दै आएको छ । विकास निर्माणमा सरकारलाई घच्घच्याउने काम पनि गर्दै आएको छ । तर पछिल्लो समय प्रतिनिधिसभाका एक सांसदले राष्ट्रियसभालाई ‘वृद्धाश्रम’ भनेर होच्याएको पनि पाइयो । तर त्यसो होइन ।

कानुन निर्माण गर्ने सवालमा प्रतिनिधिसभाको तुलनामा बढी छलफल हुन्छ राष्ट्रियसभामा । सरकारले ल्याएका सबै विधेयकमा राष्ट्रियसभाअन्तर्गतका विषयगत समितिमा विस्तृत रूपमा छलफल हुन्छ । समितिमा सरोकारवाला विज्ञलाई बोलाएर छलफल गरिन्छ । म प्रतिनिधिसभामा पनि सांसद थिएँ । तर त्यहाँ राष्ट्रियसभामा जति छलफल हुँदैन ।

जनता समाजवादी पार्टी नेपालले पहिलेदेखि नै अहिलेको संविधानमा सुधार गर्नुपर्छ भन्दै आएको हो । अहिले पनि भन्छौँ, संविधानलाई संशोधन गरेर सर्वमान्य बनाउनुपर्छ । संविधानमा धेरै कुरा छुटेका कारण कतिपय विषय कार्यान्वयन हुनसकेको छैन । जस्तो, सङ्घीयताको सही कार्यान्वयन हुनसकेको छैन । सङ्घीयता कार्यान्वयनका लागि बनाउनुपर्ने कानुन पनि बन्न सकेका छैनन् । सङ्घीय सरकारले प्रदेश र स्थानीय तहलाई अधिकार दिएको छैन । प्रहरीबिना, कर्मचारीबिना प्रदेश सरकार चलिरहेको छ ।

यदि सङ्घीयतालाई अझै बलियो र सुदृढ बनाउने हो भने सङ्घीय सरकारले जतिसक्दो चाँडो सङ्घीयतासम्बन्धी कानुन बनाएर कार्यान्वयन गर्नुपर्छ । शिक्षा ऐन पनि आउन सकेको छैन । संविधान संशोधनकै लागि हामीले वर्तमान सरकारलाई अहिलेसम्म समर्थन गरिरहेका छौँ । भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्छु भनेर यो सरकारलाई समर्थन दिएको हो ।

सरकारले मधेसी समुदायको मात्र होइन, महिला, आदिवासी जनजाति, दलितलगायत समग्र सीमान्तकृत समुदायको निम्ति काम गर्नुपर्छ । सरकारले कसैलाई पनि भेदभाव गर्नु हुँदैन । सरकारको नजरमा सबै जनता बराबर हुन् । सरकारले सीमान्तकृत समुदायसँग सम्बन्धित कानुन बनाएर लागू गर्नुपर्छ । कानुनमा कसैलाई काखा र कसैलाई पाखा गर्नु हुँदैन । सरकार सबैको हो । सुशासनको निम्ति पहिला भ्रष्टाचार अन्त्य गर्नुपर्छ । प्रधानमन्त्री वा मन्त्रिपरिषद्का सदस्यले भ्रष्टाचार गरेका छन् भने पनि कारबाही हुनुपर्छ । भ्रष्टाचार अन्त्य गर्ने हो भने सरकारमा रहेका मन्त्री र राजनीतिक दलका नेताबाट छानबिन सुरु गर्नुपर्छ । त्यसपछि निजामती कर्मचारीमा पनि छानबिन गर्नुपर्छ । यहाँ त भ्रष्टाचारीलाई ढाकछोप गर्ने चलन छ । आर्थिक हिनामिना गरेको छ, भ्रष्टाचार गरेको छभने जोकोहीमाथि कानुनबमोजिम कडा कारबाही हुनुपर्छ ।

यो देशको मुख्य समस्या भनेकै स्थिर सरकार नहुनु हो । एउटाले बल्लतल्ल सरकार बनाएको हुन्छ, अर्कोले ढाल्ने खेल सुरु भैहाल्छ । नौ–नौ महिनामा सरकार परिवर्तन भएर कहाँबाट विकास हुन्छ ? मन्त्रीहरूले राम्रोसँग बुझ्न नपाउँदै सरकार ढलिसक्छ । जोपनि प्रतिपक्षमा हुँदा ठूला– ठूला कुरा गर्ने सरकारमा गएपछि केही पनि नगर्ने परिपाटी छ । जनताको अवस्था कसरी सुधार गर्ने भन्नेतर्फ कुनै राजनीतिक पार्टीको ध्यान छैन । देश विकासका बारेमा कसैले सोचेकै छैन । भाषण ठुल्ठूला गर्ने, काम भनेको सत्तामा जाने मात्रै गर्ने । खासगरी, देशका तीन ठूला दल नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले सत्ताकेन्द्रित राजनीति मात्र नगरी मुलुकका मुख्य समस्यालाई सम्बोधन गर्न गम्भीर हुनुपर्ने खाँचो छ ।

विभिन्न समयमा भएका आन्दोलनबाट प्राप्त उपलब्धि रक्षाका लागि शोषित, पीडित, उपेक्षित समुदाय सङ्गठित हुनु जरुरी छ । देशमा सङ्घीय शासन व्यवस्था त्यसै आएको होइन, कठोर सङ्घर्षबाट आएको हो । परिवर्तनबाट थोरै भए पनि अधिकार प्राप्त गरेका जनताले महसुस गर्न पनि पाएका छैनन् । शोषित, पीडित, उपेक्षित जनतालाई यो व्यवस्थामा कमबेसी राहत मिलेको छ । यसलाई पनि उल्ट्याउन विभिन्न शक्तिहरू सक्रिय भएको देखिन्छ ।

देशबाट युवा पलायन रोक्न सरकारले रोजगारी सृजना गर्नुपर्छ । हाम्रो देश कृषिप्रधान हो । यहाँ झण्डै ६५ प्रतिशत जनता कृषि पेसामा छन् । तर कृषकले समयमा मल पाइरहेका छैनन्, सिँचाइको भरपर्दो सुविधा पनि छैन । कृषिलाई आधुनिकीकरण गरेर वैज्ञानिक प्रविधिसँग जोड्नुपर्छ । त्यसो गरेको खण्डमा आयात प्रतिस्थापन गर्न सक्छौँ । अहिले अर्बौँको कृषिउपज आयात भइरहेको छ । देशभित्रै आम्दानीका स्रोत उपलब्ध भए ४०–५० डिग्री तापक्रममा काम गर्न कुन युवा विदेश जान्छ र ? त्यसैले सरकारले कृषिमा लगानी बढाउँदै लैजानुपर्छ । हामी सांसदको काम कानुन बनाउने हो । जनताका विषयलाई संसद्मार्फत सरकारको ध्यानाकर्षण गराउने हो । अब म राष्ट्रियसभामा जतिन्जेल बस्छु, जनताको पक्षमा कानुन निर्माणका लागि भूमिका निर्वाह गर्नेछु । जनताका सवाललाई सरकारसमक्ष पुर्याउन पहल गर्नेछु ।

राष्ट्रियसभा सदस्य मृगेन्द्रकुमारसिंह यादवको परिचय

जनता समाजवादी पार्टी नेपालका उपाध्यक्ष मृगेन्द्रकुमारसिंह यादव राष्ट्रियसभाको सदस्य हुनुहुन्छ । विसं २०४३ मा पहिलोपटक राष्ट्रिय पञ्चायतको सदस्यसमेत बन्नुभएका यादव पूर्वमन्त्री, प्रतिनिधिसभाको सांसद समेतका विभिन्न पदमा रहेर काम गरिसक्नुभएको छ । उहाँ विगत पाँच वर्षदेखि राष्ट्रियसभामा हुनुहुन्छ । विगत लामो सयमदेखि मधेसी समुदायको अधिकारको निम्ति सङ्घर्ष गर्दै आउनुभएका उहाँ एक परिपक्व नेता मानिनुहुन्छ ।

(राष्ट्रियसभा सदस्य श्री मृगेन्द्रकुमारसिंह यादवसँग राससका समाचारदाता सुशील दर्नालले गर्नुभएको कुराकानीको सम्पादित अंश)