काठमाडौं । जर्मनीमा आइतबार सम्पन्न आमनिर्वाचनमा कन्जरभेटिभ क्रिस्टियन डेमोक्रेटिक युनियन (सीडीयू) विजयी भएको छ । फ्रेडरिक मर्ज नेतृत्वको सीडीयूले सबैभन्दा बढी २८ दशमलव ६ प्रतिशत मत पाएको छ । सबैभन्दा ठूलो दल बने पनि सीडीयूले अपेक्षा गरेअनुसारको ३० प्रतिशतभन्दा कम मत ल्याएको हो ।
मतदानबाट चरम दक्षिणपन्थी दल अल्टरनेटिभ फर जर्मनी (एएफडी) दोस्रो ठूलो दल बनेको छ । एएफडीले २० प्रतिशत मत पाएको छ । तर उक्त दलले अझै बढी मत ल्याउने सर्वेक्षणहरूले देखाएका थिए । एसपिडीले १६.४, ग्रीन्सले ११.६, लेफ्टले ८.८, बीएसडब्लूले ४.९७, एफडीपीले ४.३ प्रतिशत मत ल्याएका छन् ।
६ सय ३० सिटको बुन्डेसटाग (जर्मन संसद) मा सरकार गठनका लागि ३ सय १६ सिट आवश्यक पर्छ । सीडीयूले २ सय ८ सिट जितेको छ । मत परिणामअनुसार सरकार बनाउन सीडीयूलाई थप १ सय ८ मत चाहिने भएको छ । एएफडीले १ सय ५२, एसपिडीले १ सय २०, ग्रिन्सले ८५, लेफ्टले ६४ सिट पाएका छन् । सम्भावित गठबन्धन सरकार सीडीयू र एसपीडीबीच हुने जर्मन सञ्चारमाध्यमले जनाएका छन् । यदि एसपीडी गठबन्धनमा सहभागी नभएमा सीडीयूले ग्रिन्स र लेफ्टलाई मनाउनुपर्ने देखिन्छ ।
चुनावी परिणामसँगै सिडियू नेता फ्रेडरिक मर्ज नयाँ चान्सलर बन्ने निश्चित भएको छ । जनताले आफूहरूलाई विश्वास गरेको खुसी व्यक्त गर्दै उनले भनेका छन्, ‘आज हामी उत्सव मनाइरहेका छौं । भोलिदेखि काम गर्नेछौं ।’ उनले आफ्ना जिम्मेवारीबारे जानकार रहेको बताएका छन् ।
चुनावी नतिजापछि यूरोपेली नेताहरूले मर्जलाई बधाई दिएका छन् । बेलायती प्रधानमन्त्री केयर स्टार्मरले ‘जर्मनीको नयाँ सरकारसँग मिलेर काम गर्न र दुवै देशबीच पहिलेदेखि रहेको मजबुद सम्बन्धलाई अझ राम्रो बनाउँदै काम गर्न तयार रहेको’ बताएका छन् ।
यस्तै फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोले मर्जलाई बधाई दिँदै दुई देश मिलेर शक्तिशाली युरोपका लागि काम गर्ने बताएका छन् । युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले किभ जर्मनीसँग मिलेर काम गर्न तयार रहेको बताएका छन् । ’युरोपले उद्योगहरू स्थापना गर्नुपर्छ र नतिजा निकाल्नुपर्छ । युरोपले आफ्नो प्रतिरक्षा आफै गर्न सक्षम हुनुपर्छ,’ उनले भनेका छन् ।
त्यस्तै, इटाली, हंगेरी, अस्ट्रिया, इजरायल लगायतका देशले पनि मर्जलाई बधाई दिँदै मिलेर अघि बढ्न तयार रहेको बताएका छन् ।
रुसले भने मर्जको विजयमा सावधानीपूर्वक प्रतिक्रिया व्यक्त गरेको छ । रुस र कुनै नयाँ जर्मन सरकारबीचको सम्बन्ध कसरी विकसित हुन्छ भनेर पर्खनु पर्ने रुसी राष्ट्रपति कार्यालय क्रेमलिनले जनाएको छ । ’जर्मनीमा नयाँ सरकार बनेपिच्छे हामी वास्तविकताका लागि थप शान्त दृष्टिकोणका लागि आशा गर्न चाहन्छौं, पारस्परिक हितका मुद्दा, पारस्परिक लाभ के हुन सक्छन् भन्ने बारे थप दृष्टिकोणका लागि । तर वास्तविकतामा के हुन्छ हेरौं,’ क्रेमलिन प्रवक्ता दिमित्री पेस्कोभले भनेका छन् ।










