२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने

पीसीआर जाँचमा भेदभावः नेता र कर्मचारीको रिपोर्ट फटाफट, अरु भने कुरेको कुर्‍यै

पीसीआर जाँचमा भेदभावः नेता र कर्मचारीको रिपोर्ट फटाफट, अरु भने कुरेको कुर्‍यै
अ अ+ अ-

धनगढी/हेटौंडा । सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा भदौ १ गते बैंकका कर्मचारीमा पहिलो पटक कोरोना देखियो। ग्लोबल आईएमईका एक पुरुष कर्मचारीले साउन ३० गते स्वाब दिएका थिए। त्यसको रिपोर्ट भदौ १ गते पोजिटिभ आएको हो। धनगढीमा दुईवटा शाखा रहेको ग्लोबल आईएमईका ३९ कर्मचारीले भदौ १ गते नै स्वाब दिए। त्यसको रिपोर्ट दुई दिनपछि आयो। नजिकै रहेको अत्तरिया शाखाका ११ कर्मचारीको स्वाबको रिपोर्ट आउन भने नौ दिन कुर्नुपर्यो। ‘बैंक अत्यावश्यक सेवाभित्र पर्छ। पैसा समात्नै पर्छ। भीडभाड भए पनि काम गर्नै पर्छ’, ग्लोबल आईएमईका सुदूरपश्चिम प्रदेश प्रमुख मुकुन्द भट्ट भन्छन्, ‘तर, यसरी ढिला रिपोर्ट आएकाले कर्मचारी नौ दिनसम्म मानसिक तनावमा परे।’ सानिमा, कृषि विकास, सिभिल बैंकका कर्मचारीमा कोरोना पुष्टि भएपछि नेपाल राष्ट्र बैंकसँगको समन्वयमा विभिन्न बैंकका थप १ सय ५ जनाले स्वाब दिए। तर, उनीहरूको रिपोर्टका लागि पनि पाँच दिन लाग्यो। ‘जनसम्पर्क बढी हुने कार्यालय भनेको बैंक हो। पैसाबाट पनि सर्छ भनेपछि बैंकका कर्मचारी त अझ जोखिममा हुने नै भए’, बैंकर्स क्लबका सुदूरपश्चिम अध्यक्ष धर्म विष्ट भन्छन्, ‘तर, स्वाब दिएको हप्ता दिनसम्म पनि रिपोर्ट नआउँदा कर्मचारीमा मानसिक तनाव देखिने गरेको छ।’ फोनबाट नेगेटिभ भने पनि आधिकारिक रूपमा कसैको पनि रिपोर्ट दुई हप्तासम्म नआएको उनको भनाइ छ।

सानिमा बैंकको फ्रन्ट डेस्कका एक जनामा भदौ २ गते कोरोना पुष्टि भयो। त्यसपछि शाखाका १२ जनाले त्यही दिन स्वाब दिए। तर, उनीहरूको पनि नौ दिनपछि मात्रै रिपोर्ट आयो। ‘हामीले सबै स्टाफलाई होटलमा बसाल्यौं। नौ दिनसम्म रिपार्ट आउँदैन’, सानिमा बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख मेखराज खड्का भन्छन्, ‘अफिसको काममा पनि प्रभाव परिरहेको छ। अझ कर्मचारीको मानसिक तनाव पनि उस्तै छ। पीसीआर जाँच र रिपोर्टको कुरा सिस्टममा भइरहेको छैन।’ स्वाब दिँदा भरिने फारममा मोबाइल नम्बर हुने भएकाले त्यसमै एसएमएसबाट कोरोनाको रिपोर्ट आउने व्यवस्था गर्नुपर्ने उनको माग छ। ‘प्रविधिको जमानामा पनि पीसीआरको रिपोर्टिङ सिस्टम परम्परागत ढर्राकै लाग्यो’, उनी भन्छन्। तर, गृहजिल्ला डोटीको पीसीआर मेसिन उद्घाटन गर्न दिपायल पुगेका मुख्यमन्त्री त्रिलोचन भट्टको निजी सचिवालयका चालकलाई केही दिनअघि कोरोना पुष्टि भयो। मुख्यमन्त्रीको दिपायल भ्रमणमा पनि ती चालक सचिवालयका व्यक्तिहरू बोकेर सँगै थिए। चालकमा कोरोना देखिएपछि मुख्यमन्त्री, मुख्यमन्त्री कार्यालयका सचिवहरू, अरू कर्मचारी, निजी सचिवालय र परिवारका सदस्य गरी ४० जनाभन्दा बढीको पीसीआर गरियो। तर, स्वाब दिएको भोलिपल्टै उनीहरू सबैको रिपोर्ट आयो। रिपोर्टमा भने सबैको नेगेटिभ छ।

‘मुख्यमन्त्री कार्यालयको रिपोर्ट दोस्रो दिन नै आइहाल्छ। अरूले नौ दिन पर्खिनुपर्छ। यो विभेद भयो’, बैंकर्स क्लबका अध्यक्ष विष्ट भन्छन्। पीसीआर अत्यावश्यक सेवाका लागि अलि छिटो गरिनुपर्ने उनी बताउँछन्। सुदूरपश्चिम प्रदेशको जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख रामप्रसाद ओझा परीक्षणमा विभेद नभएको दाबी गर्छन्। ‘मुख्यमन्त्री कार्यालय प्रदेशकै अत्यावश्यक कार्यालय हो। त्यहाँ सुरक्षाकर्मी पनि हुन्छन्, धेरै काम रोकिएको हुन्छ’, ओझा भन्छन्, ‘त्यसैले पीसीआरको रिपोर्ट छिटो आएको होला।’ उनी चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सुत्केरी हुन आएको महिला, मृत्यु भएका व्यक्तिजस्ता घटनाका स्वाबलाई पहिलो प्राथमिकतामा राखेर परीक्षण गर्ने गरिएको बताउँछन्। बीचमा स्वाबका नमुनाको संख्या निकै बढेकाले पनि दुई हजार स्वाब डँडेलधुराको प्रयोगशालामा पठाएकाले ढिलाइ भएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ।

नेता र कर्मचारीको फटाफट

यता मकवानपुरको हेटौंडा–८ का एक युवाले पीसीआर परीक्षण गर्न भदौ ३ गते स्वाब दिए। त्यसको रिपोर्ट एक सातापछि भदौ १२ गते मात्र आयो। रिपोर्ट नआएसम्म उनी घर र बजार ओहोरदोहर गरिरहेका थिए। ‘मेरो रिपोर्ट पोजिटिभ आएपछि आइसोलेसनमा छु’, उनी भन्छन्, ‘छिट्टै रिपोर्ट आएको भए अरू धेरैसँग सम्पर्क हुने थिएन।’ भदौ ९ गते स्वाब दिएकी हेटौंडा–४ की एक महिला पीसीआर रिपोर्टको प्रतीक्षामा छिन्। ६ दिनसम्म पनि रिपोर्ट नआउँदा तनावमा रहेकी उनी भन्छिन्, ‘रिपोर्ट नआउँदा काममा जान पनि पाएको छैन। अझै कति दिन लाग्ने हो थाहा छैन।’

नेता र कर्मचारीलाई भने यो कुरा कमै मात्र लागू हुन्छ। बागमती प्रदेश प्रमुख कार्यालयका सचिवले स्वाब दिएको भोलिपल्ट नै रिपोर्ट आयो। उनको रिपोर्ट पोजिटिभ आएपछि परिवारका अन्य सदस्यको पनि त्यसै दिन स्वाब संकलन भयो र रिपोर्ट पनि त्यसै दिन आयो। प्रदेश सरकारका मन्त्रीहरू, हेटौंडामा रहेका प्रदेशसभा सदस्यहरू, प्रदेश सरकार सचिवहरू तथा अन्य कर्मचारी, व्यवसायीले पनि धमाधम पीसीआर परीक्षण गराएका छन। तर उनीहरूले स्वाब दिएको बढीमा दुई दिनभित्र प्रयोगशालाले रिपोर्ट दिएको छ। प्रयोगशालामा नेता र प्रशासकले आफ्नो मान्छेको स्वाब छिटो परीक्षण गरी सार्वजनिक गर्न दबाब दिँदा अरूको परीक्षणमा ढिलाइ भएको हो। ‘स्वाबको रिपोर्ट छिटो सार्वजनिक गर्न मन्त्रीदेखि अधिकृतसम्मको फोन आउँछ। फोनमै अरु कुरा थाहा छैन फलानो रिर्पोट छिटो आउनुपर्छ भन्नुहुन्छ’, प्रयोगशालामा कार्यरत एक स्वास्थ्यकर्मी भन्छन्।

प्रयोगशाला प्रमुख नारायण कार्की सात कर्मचारीका भरमा काम गर्नुपरेको गुनासो गर्छन्। ‘१८ घण्टा लगातार सञ्चालन गर्दा हामीसँग भएको प्रयोगशालाले २ सय ५० देखि तीन सयसम्म स्वाब परीक्षण गर्न सक्छ’, कार्की भन्छन्, ‘बढी स्वाब संकलन हुँदा केही ढिलाइ भएको हो। तर, अहिले सुधार भइसकेको छ।’ स्वाब संकलन बढी भए भनेको समयमा रिपोर्ट दिन नसकिने उनको भनाइ छ। बागमती प्रदेशका विभिन्न प्रयोगशालामा आइतबारसम्म १५ सयभन्दा बढी स्वाब परीक्षण हुन बाँकी रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। हेटौंडाको मात्र भदौ ९ देखि १४ गतेसम्मको करिब तीन सय स्वाबको रिपोर्ट आउन बाँकी रहेको हेटौंडा—४ स्थित आइसोलेसन वार्डका इन्चार्ज भोला चौलागाईं बताउँछन्। हेटौंडास्थित प्रयोगशालामा मकवानपुरसहित बागमती प्रदेशका विभिन्न जिल्ला र प्रदेश २ बाट संकलन गरिएको स्वाब परीक्षण गरिँदै आएको छ। प्रदेशअन्तर्गत हेटौंडासहित काभे्रको धुलिखेल र भरतपुरमा पीसीआर परीक्षण प्रयोगशाला छ।भएन कन्ट्याक्ट ट्रेसिङमकवानपुरमा आइतबारसम्म कोरोना पोजिटिभ देखिएका ५ सय ४ जनामध्ये १ सय ३३ जना होम आइसोलसनमा छन्। तर, पोजिटिभ देखिएकाको कन्ट्याक्ट ट्रेसिङ हुन सकेको छैन।

‘मसँग सम्पर्कमा आएकाहरूको कन्ट्याक्ट ट्रेसिङका लागि आग्रह गर्दा पनि वास्ता गरिएको छैन। अरूको हकमा पनि यस्तै छ’, कोरोना पोजिटिभ देखिएपछि घरमै आइसोलेसनमा रहेका नेपाली कांग्रेस हेटौंडा नगर सभापति आनन्दराम पराजुली भन्छन्, ‘प्रभावकारी कन्ट्याक्ट ट्रेसिङ नगरेकाले निषेधाज्ञा गरेको दुई सातापछि पनि झन् कोरोना पोजिटिभको संख्या बढ्दै गएको हो।’ सामाजिक विकास मन्त्रालयले भने कीट अभावका कारण नजिकको सम्पर्कमा आएकाहरूको मात्र पीसीआर परीक्षण गरिरहेको जनाएको छ। ‘पोजिटिभ देखिएका व्यक्तिसँग नजिक रहेका व्यक्तिबाहेक देखभेट गरेकाहरूलाई पीसीआर गर्न अनिवार्य छैन’, सामाजिक विकास मन्त्रालयका कोभिड— १९ प्रवक्ता पुरुषोत्तम सेढाईं भन्छन्, ‘सीमित कीटका कारण पनि पीसीआरको दायरा बढाउन समस्या भएको हो।’ अन्नपुर्णपोष्ट दैनिक