६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नाग्म पहिरो (अपडेट): १० जनाको मृत्यु, एकै परिवारका ४ जना परे



अ+ अ-

कालीकोट । पहिरोले तिलागुफा–१ नाग्मका चार घर भत्किँदा एकै परिवारका ४ सहित १० जनाको मृत्यु भएको छ । २ जना बेपत्ता छन् । घटनास्थलबाट उद्धार गरिएका २ जनालाई उपचारार्थ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । नाग्म बजारको पछाडिपट्टिको भिरालो जमिन आइतबार बिहान भासिएर पहिरो जाँदा घरभित्रै रहेकाहरू पुरिएका हुन् । पहिरोले लली नेपाली, मन्दिर कटुवाल, धनपति विक र वीर भेरिकारका घर भत्किँदा पुरिएकामध्ये १० को शव फेला परेको हो ।

शुभकालिका गाउँपालिका–७ घर भई नाग्म बजारमा व्यापार गर्दै आएका एकै परिवाका ४ जनाको मृत्यु भएको छ । ४० वर्षीय प्रयाग शाही, उनकी ७ वर्षीया छोरी हिमा तथा छोराहरू ५ वर्षका नीराजन र डेढ महिनाका अक्कलको घर भत्किएर भित्रै च्यापिँदा मृत्यु भएको हो । यस्तै, सुर्खेतको भेरीगंगा–१० की ४५ वर्षीया आइती खड्का, वीरेन्द्रनगरका २३ वर्षीय अमृत थापा, स्थानीय ३५ वर्षीय मनवीर बडुवाल, २७ वर्षीय टेक भेरिकार, २४ वर्षीय थाइला भेरिकार, १० वर्षीय गजेन्द्र भेरिकारको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी प्रमुख डीएसपी श्यामबाबु ओलियाले सुरुमा ८ र केही घण्टापछि २ जनाको शव फेला परेको बताए । उद्धार टोलीले डोजर पनि लगाएर पहिरो पन्छाउँदै बेपत्ताको खोजी गरिरहेको छ ।

खोजीमा सेना, सशस्त्र र नेपाल प्रहरीसँगै स्थानीय पनि लागिपरेका छन् । नाग्म बजारमा मोबाइल नेटवर्क छैन । घटनाको खबर केही ढिला गरी जिल्ला सदरमुकामसम्म पुगेको थियो । पहिरोको खबर पाएलगत्तै जुम्ला सदरमुकाम खलंगा र कालीकोट सदरमुकाम मान्मबाट उद्धार टोली घटनास्थल पुगेको कालीकोटका प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले बताए । उनका अनुसार बेपत्ता रहेका २ जनाको नाम खुलिसकेको छैन । जीवितै उद्धार गरेर अस्पताल पठाइएका अर्जुन हमाल र पुन्नी शाहीको अवस्था सामान्य छ । पहिरोमा परी पति र छोराछोरीको मृत्यु भएकाले घाइते शाही बेलाबेलामा बेहोस हुने गरेकी छन् ।

कालीकोट र जुम्लाको सिमानामा पर्ने नाग्म तिलागुफा नगरपालिका जुम्लाको हिमा र तिला गाउँपालिकाको व्यापारिक केन्द्र हो । स्थानीय प्रशासनले भदौ २० सम्म निषेधाज्ञा जारी गरेकाले बिहान पहिरो जाने बेला सबै घरभित्रै भएको हुन सक्ने स्थानीय अगुवा धनीराम न्यौपानेले बताए । पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध भएको छ । कान्तिपुर दैनिक