काठमाडौँ । च्याम्पियन्स ट्रफीको तेस्रो खेलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई १०७ रनले पराजित गरेको छ । शुक्रबार कराँचीको नेशनल स्टेडियममा भएको खेलमा दक्षिण अफ्रिकाले ब्याटिङ रोजेको थियो ।
टोलीले ६ विकेट गुमाएर ३१५ रन बनायो । जवाफमा अफगानिस्तान ४३.३ ओभरमा २०८ रन बनाएर अलआउट भयो ।
दक्षिण अफ्रिकाका लागि रायन रिकेल्टनले शतक प्रहार गरे । उनी प्लेयर अफ दि म्याच समेत भए । एडेन मार्करामले ५२, टेम्बा बाभुमाले ५८ र रस्सी भान डेर डुसेनले ५२ रन बनाए । कागिसो रबाडाले ३ र लुंगी एनगिडीले २ विकेट लिए ।
अफगानिस्तानका लागि मोहम्मद नाबीले २ विकेट लिए । ब्याटिङका क्रममा रहमत शाहले उत्कृष्ट प्रदर्शन गरे । ३८ रनमा २ विकेट खसेपछि उनी ब्याटिङमा आउनु परेको थियो । उनले एक छेउमा टोलीलाई ह्यान्डल गरे, तर अर्को छेउमा भने साथ पाएनन् । उनी ९० रन बनाएर अन्तिम ब्याट्सम्यानका रुपमा आउट भए ।
ठूलो लक्ष्यको अगाडि अफगानिस्तानले ५० रनमै ४ विकेट गुमाएको थियो । रहमानउल्लाह गुरबाज १०, इब्राहिम जाद्रान १७, सेदिकुल्लाह अटल १६ र कप्तान हसमतुल्लाह शाहिदी खाता खोल्नै नखोली आउट भए । खेलमा अफगानिस्तानका लागि खराब सुरुवात टर्निङ प्वाइन्ट साबित भयो ।
आजको खेलमा अष्ट्रेलिया र इंग्ल्याण्ड भिड्दैछन् । खेल पौने तीन बजे सुरु हुनेछ ।










