काठमाडौँ । विश्वमा सबैभन्दा बढि भ्रष्टाचार हुने देशको सुचीमा साउथ सुडान पहिलो स्थानमा परेको छ । मंगलबार ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले सार्वजनिक गरेको ‘भ्रष्टाचार अवधारणा सूचकांक’ अनुसार सर्वेक्षण गरिएका १८० देशमध्ये साउथ सुडान विश्वकै भ्रष्ट मुलुकमा दर्ज भएको हो ।
साउथ सुडानले जम्मा स्वच्छतामा ८ अंक प्राप्त गरेको छ । ट्रान्सपरेन्सीको अनुसार सूचकांकमा १०० अंकले अति स्वच्छ र शून्य अंकले अति भ्रष्ट जनाउँछ । युरोपेली मुलुक डेनमार्क विगत ७ वर्षदेखि लगातार ९० अङ्क प्राप्त गरी विश्वको सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकको रुपमा रहेको छ ।
यस्तै, नेपाल भ्रष्टाचार हुने मुलुकको १०७ औँ स्थानमा परेको छ । भ्रष्टाचार अवधारणा सूचकाङ्क–२०२४ मा नेपालले १०० मा ३४ अंक प्राप्त गरेको छ । गत वर्ष नेपालले ३५ पाएको थियो ।
दक्षिण एशियाली राष्ट्रहरूमध्ये भुटानले ७२ अङ्क, भारतले ३८ अङ्क, मालदिभ्सले ३८ अङ्क, श्रीलङ्काले ३२ अङ्क, पाकिस्तानले २७ अङ्क, बङ्गलादेशले २३ अङ्क र अफगानिस्तानले १७ अङ्क प्राप्त गरेका छन् । छिमेकी मुलुक चीनले भने ४३ अङ्क प्राप्त गरेको छ ।










