काठमाडौं। नेपालको कालापानी क्षेत्रबाट भारतीय सेना हटाउन माग गर्दे नेपाल राष्ट्रवादी मोर्चाले सभामुख देवराज घिमिरेलाई ज्ञापन पत्र बुझाएको छ ।
ज्ञापनपत्रमा प्रतिनिधि सभाले अविलम्ब संकल्प प्रस्ताव पारित गरी कालापानीबाट भारतीय सेना हटाउन माग गरिएको छ ।
मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले सभामुख घिमिरेलाई शिहदरबारस्थित उहाँकै कार्यकक्षमा पुगेर ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्रमा उल्लेख गरिएको छ- इन्डियाले २०१९ नोभेम्बर २ तारिखमा उसको राजनीतिक नक्सामा नेपालको दार्चुला जिल्लाको पश्चिम(उत्तरमा अवस्थित लिम्पियाधुरा , कालापानी र लिपुलेकलाई राखेर नक्सा अतिक्रमण गरेकोमा नेपालले पनि २०७७ साल वैशाख ७ गते लिम्पियाधुरा , कालापानी र लिपुलेक नेपालको राजनीतिक नक्सामा समेटेको थियो ।
यो अद्यावधिक नक्सालाई संयुक्त सदनले सर्वसम्मतिले पारित गरेको थियो भने नेपालको संविधान संशोधन गरी यसलाई संविधानको अभिन्न अङ्गसमेत बनाएको थियो ।
पहिले असावधानीवश छुटेका भूभाग आफ्नो देशको राजनीतिक नक्सामा समेट्नु जति महत्त्वपूर्ण हो , त्योभन्दा पनि महत्त्वपूर्ण कुरा नेपालको त्यो सार्वभौमसत्तासम्पन्न भूमिबाट इन्डियाली सेना हटाई सो भूभाग नेपालको नियन्त्रणमा लिनु हो , तर नेपालको राजनीतिक नक्सा अद्यावधिक भएको पाँच वर्ष पुग्न लाग्दा पनि त्यहाँबाट इन्डियाली सेना हटाउने कुनै प्रयास भएको देखिएको छैन । अत: नेपाल राष्ट्रवादी मोर्चा प्रतिनिधि सभाले कालापानी क्षेत्रबाट इन्डियाली सेना हटाउन अविलम्ब संकल्प प्रस्ताव पारित गरोस् भन्ने विषयमा प्रतिनिधि सभाका सम्माननीय सभामुखसमक्ष जोडदार माग राख्छ ।









