६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनाबाट मृत्यु हुनेमध्ये १८ प्रतिशत काठमाडौं उपत्यकाकै



अ+ अ-

काठमाडौं । कोरोनाबाट मृत्यु हुनेमध्ये १८ प्रतिशतको मृत्यु काठमाडौं उपत्यकामा भएको छ। उपत्यकाका तीन जिल्लामा मंगलबारसम्म ५७ जनाको मृत्यु भएको छ। ती मध्येमा ३४ जना पुरुष र २३ जना महिला छन्। तीमध्ये काठमाडौंमा ४०, ललितपुरमा ७ जना र भक्तपुरमा १० जना छन्। मृत्यु हुनेमा ६० वर्षमाथिका ४० र ६० वर्षमुनिका १७ जना छन्। १७ जना ६० वर्षमुनिको समूहमा २२ देखि ५७ वर्षभित्रका छन्। ६० वर्षमाथिकामा धेरै जसो ६५ वर्षमाथिका छन्। उपत्यकामा कोरोनाबाट बालबालिकाको मृत्यु भएको तथ्यांकमा उल्लेख छैन। बिबरणमा उल्लेख भए अनुसार ६० वर्षदेखि ९९ वर्षभित्रका वृद्धाहरुको संख्या बढी देखिन्छ। उपत्यकामा हालसम्म ८ हजार ९ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये काठमाडौंमा ७ हजार २ सय १७, ललितपुरमा ९ सय ७७ र भक्तपुरमा ७ सय ८२ जना छन्। संक्रमितमध्येमा ६० देखि ६५ प्रतिशत २० देखि ५० वर्षभित्रका रहेको र ७२ प्रतिशत २० देखि ५० वर्षभित्रका रहेको राष्ट्रिय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। कुल संक्रमितमध्ये ६० देखि ६५ प्रतिशत पुरुष र ३० देखि ३५ प्रतिशत महिला रहेको महाशाखाले जनाएको छ।

मृत्यु हुनुको कारणमा धेरै जसो दम, उच्चरक्तचाप, मधुमेह, मिर्गौलाका बिरामी र क्यान्सरका दीर्घरोगी रहेको विवरणमा उल्लेख छ। उपत्यकामा कोरोनाबाट पहिलो मृत्यु जेठ १० गतेदेखि सुरु भएको देखिन्छ। तर उल्लेखनीय संख्यामा मृत्यु हुन थालेको भने साउनको दोस्रो सातादेखि हो। पहिलो लकडाउन खुलेलगत्तै उपत्यका भित्रकै संक्रमितको मृत्युदर बढ्न थालेको हो।
काठमाडौंमा एक महिनाको अवधिभित्र धेरेको संख्यामा मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पहिलो चरणको संक्रमणमा बैदेशिक रोजगारीबाट फर्केकाहरुमा मात्र संक्रमण भएकोले कम मृत्यु भएको र दोस्रो चरणमा समुदायमै संक्रमण फैलिएका कारण उपत्यकामा संक्रमण बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा। समीरकुमार अधिकारी बताउँछन्। सरकारले समुदायमा कोरोना संक्रमण नियन्त्रण प्रयास–गर्दा–गर्दै भएको १८ प्रतिशत मृत्यु दुःखदायी भएको अधिकारीले बताए। उपत्यकामा दोस्रो लकडाउन नभएको भए यो संक्रमण चौगुणा बढेर मृत्युदर थप बढ्ने स्थिति थियो। ‘दोस्रो कलडाउन नभएको भए उपत्यकामा चौगुणा संक्रमण र दोब्बर मृत्यु हुन्थ्यो,’ उनले भने।

मन्त्रालयका विज्ञ महेन्द्रप्रसाद श्रेष्ठका अनुसार दोस्रो चरणको संक्रमण ९० प्रतिशत समुदायका स्थानीय व्यक्तिको छ। उनीहरुमा संक्रमण फैलिएकै कारण छोंटो अवधिमा दीर्घरोगी, बृद्ध–बृद्धाको बढी मृत्यु हुन गएको हो। विकसित देशमा समेत कोरोना भाइरसले जोखिम समूहको धेरै प्रतिशतमा मृत्यु भएको अवस्थामा नेपालमा समेत त्यसको प्रभाव परेको श्रेष्ठको तर्क छ। ‘अमेरिका जस्ता शक्तिशाली राष्ट्रहरुले रोक्न सकेनन्, हामीले प्रयास गरेका हौं,’ श्रेष्ठले भने।

संक्रमितभन्दा निको हुने दोब्बर
गत शनिवारदेखि यता नेपालमा नयाँ संक्रमितको संख्या भन्दा निको हुनेको संख्या दोब्बर हुन थालेको छ। तथ्यांकअनुसार शनिबार निको हुनेको संख्या १५ सय ६६ यियो भने नयाँ संक्रमित १ हजार ४१ थियो। त्यसैगरी आइतबार यो संख्या १८ सय १४ जना थिए भने नयाँ संक्रमित ९ सय ८० जना छन्। सोमवार निको हुने संख्या १७ सय ३६ जना छन् भने नयाँ संक्रमित ९ सय ७९ जना छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार ६ दिनको अवधिमा निको दर १२ प्रतिशत बढेको छ। भदौ १८ गते निको हुने दर ५६ थियो भने मंगलबारसम्म आइपुग्दा ६८ प्रतिशत पुगेको छ।
यसलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सकारात्मक सुधार भएको बताएको छ। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले भने, ‘संक्रमित हुने दरको तुलनामा निको हुनेको संख्या केही दिनदेखि बढिरहेको छ, यो सुधार भएको स्थिति हो’। छिमेकी राष्ट्र तथा अन्य राष्ट्रको तुलनामा नेपालमा अहिले पनि मृत्यु हुने दर कम रहेकोले निको हुनेको दर बढिरहेको मन्त्रालयका प्रवक्ता डा। गौतमले बताए। तथ्यांकअनुसार अन्य देशमा मृत्यु हुनेको दर २ देखि ४ प्रतिशतसम्म छ भने नेपालमा ०.६ प्रतिशत छ। (नागरिक दैनिकमा समाचार छ ।)