२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

विपिनको रिहाइबारे परराष्ट्रमन्त्रीद्वारा इजरायली विदेशमन्त्रीसँग पनि फोनवार्ता



अ+ अ-

काठमाडौं ।  हमास अतिवादी समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका लागी परराष्ट्र मन्त्री डा आरजु राणा देउवाले आज साँझ इजरायलका विदेशमन्त्री गिडियन सारसँग फोनवार्ता गर्नुभएको छ ।

हमासले आफ्नो नियन्त्रणमा रहेकामध्ये केहीलाई मुक्त गर्न लागेको समाचार आएपछि परराष्ट्रमन्त्री डा राणाले विपिनको रिहाइका लागि पहल गरिदिन विदेशमन्त्री सारमार्फत् इजरायल सरकारसँग आग्रह गर्नुभएको हो ।

फोनवार्तामा मन्त्री डा राणाले इजरायल सरकारले विपिन सहित सबै बन्दीका पक्षमा निर्वाह गरिरहेको भूमिकाका लागि धन्यवाद दिँदै नेपाली युवा विपिनलाई हमासको नियन्त्रणबाट मुक्त गराउन पहल गर्नका लागि विशेष आग्रह गर्नुभएको थियो ।

त्यस अवसरमा मन्त्री सारले विपिनको सकुशल रिहाइका लागि इजरायल सरकारले अधिकतम प्रयास गरिरहेको जानकारी मन्त्री डा राणालाई गराउनुभएको थियो । साथै विदेशमन्त्री सारले आज बिहान परराष्ट्रमन्त्री डा राणाले कतारका मन्त्रीसँग कुराकानी गर्नुभएकामा खुसी पनि व्यक्त गर्नुभएको थियो । कतारका मन्त्री हमाससँगको शान्तिवार्ताका प्रमुख वार्ताकार एवं मध्यस्थकर्ता भएकाले उहाँको भूमिका महत्वपूर्ण रहेको इजरायली विदेशमन्त्रीको भनाई थियो ।

आज बिहान नै मन्त्री डा राणाले कतारका विदेश राज्यमन्त्री डा मोहम्मद बिन अब्दुलाजिज अल‐खुलाइफीसँग फोनवार्ता गरी सोही आग्रह गर्नुभएको थियो ।

हमास समूहले केही बन्दी रिहा गर्न लागेको समाचारपछि मन्त्री डा राणाले इजरायल सरकार र हमाससँग सम्पर्कमा रहेर युद्धविरामका लागि मध्यस्थता गरिरहेका कतार र इजिप्टसँग सम्पर्क गरी विपिनको रिहाइका लागि अपिल गरिरहनुभएको छ । गत हप्तामात्र उहाँले इजिप्ट सरकारसँग पनि सो आग्रह गर्नुभएको थियो ।

विपिनको रिहाइका लागि नेपाल सरकारले आफ्नो कूटनीतिक प्रयासलाई जारी राखेको छ । मन्त्री डा राणाले संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय एवं क्षेत्रीय मञ्चहरु र बैठकहरुमार्फत विपिनको रिहाइका लागि आग्रह गर्दै आउनुभएको छ ।