४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

गोरखा राज्यका विसर्जकलाई किन चिन्ने ?

गोरखा राज्यका विसर्जकलाई किन चिन्ने ?
अ+ अ-

वि. सं. १७७९ पुष २७ गते साँझ ढलेपछि हिउँचुलीको चिसोले कठाङ्ग्रिदै गरेको गोरखादरबारले ७ महिनामा जन्मिएका युवराज प्राप्त गर्‍यो । सिंह लग्न, मकर राशिमा जन्मिएको युवराजलाई पृथ्वीनारायणका नामले चिनियो ।

पृथ्वीनारायण शाह गोरखाराज्यका विसर्जक तथा आधुनिक नेपालका प्रवर्तक हुन । उनले राखेको जग, उनले लगाएको पर्खाल, उनले हिँडेको बाटोले नेपाल राष्ट्रको पुनर्जन्म हुनाले पृथ्वीलाई राष्ट्रनिर्माता भन्न सकिन्छ । उनी मानिस हुन् त्रुटी गरेका छन्, उनी योद्धा हुन् गल्ती गरेका छन्, उनी शासक हुन् कसैको चित्त दु:खाएका छन्, उनी राजा हुन् शासन गर्दा केही छुटाएका छन् तथापि उनको पसिना, सपना, तपस्यालाई अवमूल्यन गर्नेलाई नेपाली भन्न सकिन्न ।

नेपालको एकीकरण र त्यसको समृद्धि, स्वावलम्बन र राष्ट्रवादका स्रोतव्यक्ति हुन् । जुन युगमा जन्मिएर विशाल नेपालको खाका कोरी हामीलाई नेपाल नामको घरमा नेपाली भएर ओतलाग्न, वैदिक राष्ट्रको आँगनमा हिन्दू भएर उभिने, सबै फूललाई उम्रन र सन्नतिलाई भविष्यसम्म हिँड्न बाटो दिए । एकीकरण अभियानमा आफू होमिए, वीरहरुलाई होमे, जनतालाई सचेत गराएर नेपाल नामको राष्ट्रतिलक, नेपाली नामको विभूतिपूञ्ज बनाए । उनको दिव्योपदेश नेपाल रहँदासम्मको दिव्य वाङ्मयमूर्ति हो, नेपालीले दैनिक पाठ गर्नुपर्ने ग्रन्थ हो ।

दिव्योपदेशले पृथ्वीको लक्ष्य बताउँछ, नेपालीको कर्तव्य देखाउँछ, राष्ट्रको विम्ब झल्काउँछ । स्वावलम्बी भएर आफ्नै नेतृत्वमा सेना सञ्चालन गरी हिमवत्खण्डलाई एक गर्ने कार्यको श्रीगणेश गर्नुलाई नेपाली जनताले श्रद्धास्पद मान्दै कृतज्ञता ज्ञापन गर्दछन् । सूर्यवंशी पृथ्वीनारायणमा नेपाल एकीकरण र सर्वाङ्कीण विकाशको सदिच्छा थियो ।

मर्स्याङ्दी  पश्चिमभन्दा सैन्य र वैभवका दृष्टिले पृथ्वीलाई त्रिशूलीपूर्व आक्रमण गर्न गाह्रो थियो । काठमाडौँलाइ आक्रमण गर्नु भनेको अरिङ्गालको गोलामा ढुङ्गा हान्नुभजस्तै हो भन्ने थाहा हुँदाहुँदै पनि नेपाल विस्तार गर्न उनी नेपालतिर लम्किए । गोरखाविस्तार गर्ने इच्छा थियो भने उनी पश्चिमतर्फका दीर्घवैरी लमजुङतिर पनि लस्कन सक्ने थिए ।

गोरखादेखि पश्चिमका टुक्रेराज्य निल्दै गोरखालाई फैलाउन उनले धेरै अर्थमा सहज थियो । उनले त नेपाललाई जितेर गोरखाको विसर्जन गरी विस्तार नेपालको शंखघोष गर्नुथियो । गोरखाराज्यको बिउ रोपेर नेपालराज्यलाई फलाउने उनको धेय थियो । उनले गोरखाराज्यको विर्सजन गरी नेपालराज्यको विस्तारीकरण गरे पनि त्यसका जरा मजबुत बनाउन बाँकी नै थियो । देशको दक्षिणी सीमा गङ्कालाई बनाउने इच्छा पूर्ण नभए पनि सांस्कृति र भूगोलको दृष्टिले विशाल र आदिम राष्ट्रको नागरिक हुन पायौैँ ।

वि. सं. १८०१ असोज १५ मा नुवाकोट विजय गर्दासम्म पृथ्वीनारायण शाह गोरखाली थिए, गोरखाकै राजा थिए, गोरखाकै महासेनानी थिए । नुवाकोटमा साततले दरबार, शेरमा बेलाबखत आएर आराम गर्ने दरबार निर्माण गरे पनि त्यो गोरखाराज्यको विस्तारित रुप थियो, नेपाल एकीकरणको अंकुरमा यसले जग राख्न ठूलो भूमिका खेल्यो ।

काठमाडौँविजय गरेपछि उनी नेपाली बने र गोरखालाई विशाल नेपालको जगमा हालिदिए । यसपछि गोरखाराज्यको भूगोल नेपाल राष्ट्रको पश्चिमी सीमानामा पर्ने भूभाग भयो । द्रव्य शाहले जन्माएको ऐतिहासिक राज्य पृथ्वीको एकीकरणले सधैँका लागि विलय गरादियो । पृथ्वीनारायण २१ वर्षको उमेरदेखि गोरखाविस्तारमा निस्किए वि. सं. १८२५ असोज १५मा कान्तिपुर जितेपछि त्यतिबेलासम्म गोरखाली सेनाले जितेका सम्पूर्ण भूभाग नेपालमा अर्पण गरी एकीकरणमा समाहित भए ।

पृथ्वीनारायणले नुवाकोट विजय गरेपछिका हरेक युद्धमा सकेसम्म कम योद्धालाई युद्धयज्ञमा आहुति दिएको देखिन्छ । उनले एकीकरणका क्रममा (१) नुवकोट र बेलकोट, (२) सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, दोलखा (३) काठमाडौँ उपत्यका (४) माझकिरात र पल्लोकिरात (५) मकवानपुर र त्यसको तराई क्षेत्र (६) चौदण्डी र त्यसको तराई क्षेत्र (७) विजयपुर र त्यसको तराई (८)मेचीदेखि टिष्टासम्मको भूभागमा नेपाली झण्डा फहराए, टुक्रेराज्यको इतिहासलाई विलय गराए । ती युद्धमा हत्या र हतियारको प्रयोगभन्दा विवेक र विचारको सदुपयोग भएको देखिन्छ । राज्यका दृष्टिले हेर्दा (१) सेनराज्य, (२) मल्लराज्य (३) किरातराज्यसहित तीनवटामात्रै पृथ्वीद्वारा गोरखालीले विजय गरे ।

दक्षिणएशियामा बढ्दै गएको बेलायती साम्राज्यवाद र फैलदो  इशाईकरणबाट जोगाउन नेपाल एकीकरणको आवश्यक थियो । त्रिशूलीनदी पश्चिममा रहेको २२ से र २४ से राज्यहरु, उपत्यकाका मल्लराज्यहरुले एक अर्कालाई होच्याउन, सिद्ध्याउन उद्दत थिए, एकीकरणमा उभिने हिम्मत कसैले गरेनन् । पृथ्वीनारायणले राज्यरजौटाहरूलाई विशाल नेपालको महायज्ञमा चरु जस्तै होम्न नथालेको भए आजसम्म हाम्रो मातृभाषा नेपाली र हाम्रो मुलुक नेपाल नहुन पनि सक्थ्यो ।

यहाँको प्राकृतिक सम्पदा, तिब्बतसँगको व्यापार आदिका कारण बेलायतले नेपालमाथि आँखा गाडिए रहेको थियो, यहाँको राजनीतिक अवस्थालाई चिहाइरहेको थियो । नेपालराज्यको एकीकरणको अठोट भने भर्खरै पिता गुमाएका, ससुरालीबाट अपमानित भएका, लमजुङले तर्साइरहेका पृथ्वीनारायणले गरे । अन्यको तुलनामा गोरखा आर्थिक, सैनिक, वौद्धिक दृष्टिले लुरे थियो ।  उनले यो कदम उठाउलान् भन्ने कसैले चिताएका थिएनन् । हनूमान्भञ्ज्याङकी सरस्वती, उपल्लोकोटका वज्रभैरवभट्टारक, गोरखानाथलाई साक्षी राखी गोरखनाथको आशीर्वाद र गोरखाली जनताको साथ लिई पृथ्वी पूर्वतर्फ लागे ।

पृथ्वीले पारिवारिक गुटलाई झेल्नुपरेन, भारदारहरुको साथ पाए, दैवी र सैन्य शक्तिको आधार मिल्यो । तथापि उनका मामा उद्योत सेनले भनेझैँ गरुडको आँखा छलेर भ्याकुताको शिकार गर्नुपर्ने परिस्थितिलाई बुझेका थिए । पृथ्वीले जीवनभर राजाको अनुभूति गर्न पाएनन्, सधैँ सिपाही भएर बाँचे, चिनिए र तदनुकूलको कर्म गरे । मृत्युको मुखमा पुगिरहँदा यो मुलुक अरुको मुखमा नपरोस् भनी उनले नुवाकोटदरबारमा भारदारहरुलाई संझाउँदै भने– “मेरा साना दु:खले आज्र्याको मुलुक होइन सबै जातको पूmलबारी हो सबैलाई चेतना भया” ।

आधुनिक नेपाल एकीकरणले राष्ट्र जोड्यो, नेपालको भूगोललाई जोगायो, वीर जन्मायो, बेलायती र मुसलमानी सेनालाई भगायो, सेवाका नाममा राष्ट्र सिद्ध्याउने क्रिश्चियनलाई घुँडा टेकायो अनि हामीलाई नेपाली बनायो । वि. सं. २००७, वि. सं. २०१७, वि. सं. २०४७ र वि. सं. २०६३ का परिवर्तनले प्रणाली फेरिए, शासक बदलियो तर राष्ट्रको शान र जनताको जीवनमा गुणात्मक तथा परिणामात्मक सुधार आएन । यी आन्दोलनका  तागतबाट एक मुठÑठी माटो थपिएन, राष्ट्रियताको श्रीवृद्धिमा टेवा दिएन, जनतालाई जनार्दन बनाउन सकेन । गणन्त्रसँगै नेपालबाट मस्तिष्क र मसलवाला बाहिरिए, वृद्धा र अशक्तका बस्तीहरू बाक्लिए, प्रतिभमा ओइलाए र सीपहरु विस्तापित भए, राष्ट्रवादी र सांस्कृति निस्कासनमा परे ।

हरेक परिवर्तनमा जनताको चरु होमियो, प्रतिफलमा फूल खेल्न नपाउँदै यजकहरूबाट तुषारापात भयो । क्रान्तिका नाममा परिवार उजाडियो, समाज भाँडियो संस्कृति तोडियो, सभ्यताको रामधुलाई भयो अनि राष्ट्रको विकास, जनताका लक्ष्य र आशाहरू खहरे बनेर बिलाए । हाम्रा शासकले सिक्न चाहेनन्, सिकाउनमात्र चाहे ।

पृथ्वीनारायणले पुराना थिति पढेका थिए, परम्परालाई मानेका थिए, सबैबाट सिके, बुझे र त राष्ट्रनिर्माता भए । पृथ्वीले जनतालाई जमिनसँग जोडेर, माटोको विभूति लगाएर, इष्टदेवीदेवता संझिएर एकीकरण गर्न सिकाए । स्वदेशी हतियार उठाएर, स्वदेशी मन्त्र जप्दै, युवाहरुलाई परिचालन गर्दा गोरखाबाट जागेको नेपालएकीकरणको राँकोले नेपाल निर्माण गरे ।

नेपाल एकीकरण गर्नका लागि पण्डितको टुप्पी काट्नुपरेन, गजुर ढाल्नुपरेन, बैंक लुट्नुपरेन, क्रियापुत्रीलाई बलि चढाउनुपरेन । त्यसकारण पृथ्वीको एकीकरणले राष्ट्र जोड्यो, मुलुक बनायो, नेपालको विस्तार हुन सक्यो ।

पृथ्वीको नेपाल पुन: एकीकरणमा युवाहरूको बाहुबल अत्यधिक सदुपयोग भयो । २० वर्षको युवावस्थामा गोरखाका राजा भए । द्रव्य शाहको समयदेखि पटकपटक लमजुङबाट गोरखामाथि आकÐमण भइरहेको एवं उनका बुबा नरभूपाल शाहबाट नुवाकोट विजय गर्न नसकेको परिस्थितिका  बिचमा शासनको बागडोर सम्हाले ।

हातहतियारको उचित प्रबन्ध र सेनाको क¬शल परिचालनको कारण दोस्रोपटकको युद्धमा वि. सं. १८०१ अर्थात् २२ वर्षको उमेरमा उनले  नुवाकोट विजय गरे । नेपाल एकीकरणमा सहभागी भएका अधिकांश सेना प्रमुखहरू युवा नै थिए ।

सही मार्गदर्शन गर्न एवं उचित अवसर उपलब्ध गराउन सके युवाहरू देशका शक्ति र आधार स्तम्भ हुन् । दृढ सड्ढल्प तथा प्रबल इच्छाशक्तिसहित इमान्दार र कर्तव्यनिष्ट नेता भएमा सबै कार्य सफल बनाउन सम्भव हुन्छ भने उदाहरण आजभन्दा झण्डै तीन सय वर्षपूर्वका पृथ्वीनारायणले दिएर गए ।

राष्ट्र बनाउन युवा बेच्ने होइन युवालाई अवसर दिनुपर्छ । नेतृत्वकर्ताले नाता, कृपा र घुसभन्दा माथि उठ्ने कला विदेशीबाट होइन नेपालले पृथ्वीबाट सिक्नुपर्छ । पृथ्वीले ५२ वर्ष केही दिनको छोटो जीवनमा नबोलिकनै धेरै पाठ पढाएर, बाटो देखाएर, प्रशस्त सन्देश दिएर, नेपाल र नेपालीलाई मजबुत बनाउने शिक्षा दिएर गए । वैतरणी गर्नुपर्ने, सन्यासाश्रममा जानुपर्ने उमेरमा नेतृत्व ओगट्ने वर्तमानका अभागाले पृथ्वीलाई पढ्नुपर्छ, चिन्नुपर्छ, बुझ्नुपर्छ र उनले देखाएको बाटो हिँड्नुपर्छ ।