४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

मूर्तिमा ईश्वर हुन्छ ? 

मूर्तिमा ईश्वर हुन्छ ? 
अ+ अ-

अमूर्त ईश्वरलाई देख्न, छुन सकिन्न । परमात्मालाई मूर्तरूपमा देखाउन मूर्ति (शिवलिड्ड) बनाइयो । ईश्वरको शरीर नभएकाले जन्म र मृत्यु हुँदैन । परमात्मालाई बुझ्न सजिलो होस् भनी शास्त्रमा मूर्ति (आकार)को कल्पना गरिएको छ ।  ईश्वरको स्वरूप (विग्रह)विशेषलाई मूर्ति भनिन्छ । प्राणीहरू परमात्माका अंश भएकाले सबैको स्वरूप ईश्वरसँग मिल्छ तर ईश्वरको स्वरूप एउटामात्र प्राणीसँग मिल्दैन । निराकार ईश्वरलाई चिनाउन, बुझाउन सजिलो होस् भनी ऋषिको चिन्तन पुर्खाको अनुभव, ग्रन्थको सन्देश र गुरुको बुझाईअनुसार मूर्ति बनाउन थालियो । ईश्वरप्रति मानिसको विश्वास दृढ, भावनालाई सबल, साधनालाई सक्षम बनाउन मूर्तिको कल्पना गरियो ।

फोटो वास्तवमा हजुरबुबा होइन, हजुरबुबाको बिम्बमात्रै हो । त्यस्तै निराकारमा मन लगाउन र बुझ्न मूर्तिको विकास गरियो  । सम्प्रदायको विकास, ग्रन्थको बयान, चेतनाको तह, कुल–मूल र भूगोलको प्रभावअनुसार ईश्वरका अनेक स्वरूपमा मूर्तिहरू निर्माण हुन पुगे । आजका हरेक धर्म र राष्ट्रमा मूर्ति बनाउने शिक्षा हामी र हाम्रो भूगोलले दिएको हो । मूर्तिको स्वरूप, पूजा विधि, दर्शन गर्ने प्रक्रिया आदिमा प्राचीन कालदेखि नेपालले प्रशिक्षण दियो । अरनिकोजस्ता महान् नेपाली मूर्तिकारको चीनमा ठूलो सम्मान भयो । नन्द पाल, राज मुलुमी, जयत मुलुमी  जस्ता कैयौँ मूर्तिकारले कुन मिति र स्थानमा ? कसको, कति मूर्ति बनाए ती सबै खोजका विषय छन् । पशुपतिको मूर्ति मल्लकालमा निर्माण भए पनि कुन कलाकारले पहिलो शिवलिङ्क कुँदे जानकारी छैन ।

ऋग्वेदले उक्थको रूपमा, यजुर्वेदले अग्निको रूपमा, सामवेदले सामको रूपमा, अथर्ववेदले यातुको रूपमा, सर्पविद्याका जानकारले सर्पको रूपमा, देवताले अन्नका रूपमा, मानवले धनको रूपमा, असुरले मायाको रूपमा, पितृगणले स्वधाको रूपमा परमात्माको उपासना गरेका थिए ।  चिनाउन, बुझाउन, निश्चय गर्न दृश्यमान वा अनुभूतजन्य वस्तु चाहिन्छ त्यसका लागि मूर्तिले ठूलो भूमिका खेल्यो । अक्षरहरू ईश्वरका मूर्ति हुन्, अंक र रेखाहरू देवीदेवताका मूर्ति हुन्, ब्रéाण्ड परमात्माको मूर्ति हो । पृथ्वीलाई परमात्माले बनाएको हुँदा हरेक कणमा मूर्ति हुन्छ ।

शास्त्रदेखि परम्परासम्म, प्रकृतिदेखि पशुपंक्षीसम्मले मूर्ति चिन्तन, पूजन र निर्माणमा योगदान दिए । शुक्लयजुर्वेद (४०।१)ले ईशावास्यमिदम् …. भनी सबैतिर ईश्वरमात्र रहेको जानकारी दिन्छ । नदीले बगेर, वनस्पतिले बढेर, पर्वतले अग्लिएर, हिउँले पग्लिएर, प्रकृतिले प्रसन्न भएर ईश्वरलाई बुझाउने आकृति बनी मूर्तिको स्वरूप लिन्छ । यसलाई चिन्ने र चिन्तन गर्ने कार्य हाम्रो हो । प्राचीन विद्या, शास्त्रीय विधि र वैदिक प्रविधिले मूर्ति निर्माण र मूर्तिपूजा गरिएकाले सुखदु:खमा भरोसा राखिन्छ । आर्यावर्तमा महाभारतको युद्धपछि मूर्ति निर्माण र मन्दिर स्थापनाको क्रम तीब्ररूपले बढ्दै गयो । महाभारतयुद्धमा योद्धासहित ज्ञानी, ध्यानी र वैज्ञानिकको समेत सर्वनाश हुँदा ऋषिकुल, गुरुकुल र वंशकुलहरू कमजोर बने ।

पटकपटक मुसलमानहरूको आक्रमण, अङ्ग्रेजको शासन, सम्प्रदायबिचको द्वन्द्वले यहाँका हरेक वैभवमा आगो लाग्यो । तन्त्रशास्त्रका पञ्चमकारले समाजलाई गलायो, छुवाछुत र सतीप्रथाजस्ता कुकृत्यले धर्मलाई धरापमा पुर्‍याउँदा यहाँका ज्ञान, विज्ञान र वैभवको प्रवाहलाई रोकिदियो । ‘भाकल गरे पुग्छ, व्रत बसे फल मिल्छ, पूजा गरे मुक्ति हुन्छ’ भन्ने लहै लहैले मूर्तिको शक्ति विनाश गरायौँ । भगवान्का नाममा व्यापार, मठमन्दिरका आडमा धन्दा फष्टाउँदा मूर्ति पूजाबाट लाभ लिन सकेनौँ । हृदयमा बसेको ईश्वर एवं मूर्तिमा व्यापक परमात्मालाई चिनेनौँ ।

मूर्ति वास्तवमा धर्म होइन विज्ञान हो, विभिन्न पक्षलाई जोड्ने यन्त्र हो । मूर्तिबाट अमूर्त जानकारी, अदृश्यहरूको दर्शन, अप्राप्यको प्राप्त गर्न सकिन्छ । मूर्तिमा मन्त्र, तन्त्रको भाव जगाएर विभिन्न लाभ लिन सकिन्छ । मूर्तिले भविष्यवाणीमात्र गर्दैन भगवान्को दर्शन, भावनाको संयोजन र भावीपुस्ताको कल्याण गर्छ । सन्तानलाई मूर्तिबारे परिवारबाट सिकाउन, पाठ्यपुस्तकमा पढाउन, सञ्चारका माध्यमबाट बताउन, राष्ट्रले संरक्षण गर्न छोडिएको छ । प्रविधिमा जोड्न, युगअनुसार प्रयोग गर्न, समाजका भावअनुकूल परिचालन गर्न सक्नुपर्छ । कमजोर राज्यव्यवस्थाको फाइदा उठाउँदै पश्चिमाले हाम्रो ज्ञानलाई ढाक्न, संस्कृतिलाई छोप्न, प्रविधिलाई मिल्काउन, इतिहासलाई बहकाउन, विज्ञानलाई बगाउन खोजिरहेका छन् । आधुनिक विज्ञान र प्रविधिका पितामह हाम्रै पितापुर्खा थिए भन्ने तथ्यलाई बुझाउन मूर्तिको बहूपयोगितालाई बताउन आवश्यक छ ।

महादेवको पाशुपतास्त्र, कुबेरको पुष्पकविमान, कृष्णको बाँसुरी, नारदको वीणा एवं लक्ष्मणले बनाएको लक्ष्मणरेखालाई बचाउन, बताउन र सदुपयोग गर्न सकेनौँ । यी सबै मूर्तिको काखमा, मन्दिरको आँगनमा, तीर्थस्थलको पिढीँमा, साधुसन्तको आश्रममा खेल्दथे । मूर्ति मौन बस्छ तर आशीर्वाद र अर्थको वर्षा गरिरहन्छ । ‘मूर्छा=मोह समुच्छययो:’ धातुमा ‘क्तिच्’ प्रत्यय लागेर मूर्ति शब्द बन्छ । मूर्तिका   कलेवर, काय, गात्र, वपु, संहनन, शरीर, वष्र्म, विग्रह, मूर्ति, देह, तनु र तनू गरी बाह्र मुख्य  नाम छन् । भक्तहरूले आफ्नो विवेक, श्रद्धा, शक्ति र विश्वासअनुसार परमात्माको स्वरूप सम्झिएर मूर्तिमा  पूजा गर्दछन् । मूर्तिपूजाले जडवादी होइन जरोवादी, पाखण्डी होइन पुर्खावादी बनाउँछ । मूर्ति नै आत्माको स्वरूप भएकाले प्राणप्रतिष्ठापछि प्रसाद, कपडा र गहना आदि अर्पण गरी नियमित पूजा गरिन्छ । हामी ढुङ्गमा होइन प्राण रहेको परमात्मामा पूजा गर्छौ । यो विज्ञान दुनियाँको कुनै विश्वविद्यालय र धर्ममा छैन ।

अनेकौँ विपत्ति आइरहँदा, दुर्घटना भइरहँदा मूर्ति स्थापनापछि सुधार भएका प्रशस्त घटना छन् । सिन्धुलीको सेतीदेवी, कोटेश्वरस्थित तीनकुनेको मुनिभैरव, पाल्पाको सिद्धबाबा यसका उदाहरण हुन् । मूर्ति साध्य होइन साधन हो, मन्त्ररूपी देवताको साकार रूप हो  । मन्त्रद्वारा अर्पण गरिएको भाव र पदार्थ परमात्मासम्म मूर्तिले पुर्‍याउँछ । शब्द र श्वास पनि मूर्ति हुन् जसले परमात्मा भेटाउँछ । मूर्ति, चित्र, तस्बिरको आकृतिद्वारा उनीहरूको विशेषता र उपयोगिता बुझिन्छ । धेरै हात, टाउको देखाएर देवीदेवताको उच्च कार्य क्षमता हुने विषयलाई बताएको छ । महादेवको खरानी घसेको स्वरूपले लोभ र मोह त्याग्ने सन्देश दिन्छ ।

ब्रम्हजीका ४ मुख र विष्णुका ४ हातले चारै वर्णका मानिसलाई शास्त्र पढ्ने, साधना गर्ने, जिम्मेवारी लिने अधिकार भएको बताउँछ । गणेशका ठूला कानले ‘बोल्नभन्दा सुन्नमा कल्याण हुने बुझाउँछ । सबै ढोका बन्द भएपछि मानिस ईश्वरको शरणमा पुग्छ । मूर्तिमा रहेको ईश्वर पुज्दा कसैलाई घाटा लाग्दैन । ईश्वर व्यापक छ, सीमित घेरामा राख्न सकिँदैन तथापि भावअनुसार प्रकट हुन्छन् । प्रह्लादलाई नृसिहंको रूपमा, द्रौपदीलाई कृष्णका रूपमा, परीक्षितलाई संरक्षण गर्न सुदर्शनचक्रका रूपमा आउनुभयो । हिरण्यकश्यपुदेखि अङ्गुलीमालसम्मले ईश्वरीय सत्तालाई बुझाउन मूर्तिले सहयोग गर्‍यो । रावणले लंकामा सुनको लक्ष्मीको मूर्ति बनाएका थिए । ईश्वरको चिन्तन गर्न, चित बुझाउन, पीडा पखाल्न, संस्कृतिलाई जोगाउन मूर्तिको आशीर्वाद चाहिन्छ । मूर्तिमा ईश्वरमात्र हुँदैन ज्ञान, माटो, मौलिकता, प्राण, प्रकृति, परम्परा र जीवन हुन्छ ।

मन्दिर किन बनाउने ?

देवीदेवताको विग्रह (मूर्ति) राखिने घरविशेषलाई मन्दिर भनिन्छ । मन्दिरलाई देवालय, देवायतन, देवगृह, देवकुल, देवनिबास आदि नामले चिनिन्छ । तनलाई स्वस्थ, मनलाई तन्दुरुस्त, धनलाई शुद्ध बनाउने शक्ति मन्दिरले दिन्छ । परम्परा र भूगोल, अवस्था र आस्था, शास्त्र र समाजलाई ध्यानमा राखी ढुड्डा, काठ वा विभिन्न पदार्थ मिसाएर उपयुक्त स्थानमा मन्दिर बनाइन्छ । रुखमुनि, ओडार वा गुफाभित्र मूर्तिलाई संरक्षण र सुरक्ष दिन अप्ठेरो भए पछि मन्दिर निर्माण गर्न थालियो । मन्दिरले ईश्वरलाई बसाउँछ, श्रद्धालाई बढाउँछ, समाजलाई जोड्छ, परम्पराको संरक्षण गर्छ, तीर्थस्थललाई जन्माउँछ, शास्त्रलाई प्रयोग गराउँछ । मन्दिरका आध्यात्मिक साधना, धार्मिक अनुष्ठान र सांस्कृतिक कर्मलाई व्यवस्थित बनाउन पूजारीदेखि गुठीसम्मको व्यवस्था गरियो ।

मन्दिरले साधुसन्तको साधनामा, दीनदु:खीको जीवन रक्षामा, विपन्नको शिक्षामा, सन्ततिको संस्कृति आदिको संरक्षणमा, वातावरणको शुद्धीकरणमा, राष्ट्रको सुदृढीकरणलगायतमा टेवा दिन्थ्यो । मन्दिर वरिपरि वृक्षरोपण गर्ने, धर्मशाला, यज्ञशाला, धारा, गौशाला, आश्रम आदिद्वारा प्राणी, समाज र राष्ट्रसेवा गरिन्थ्यो । मूर्तिलाई देवस्वरूप मानेर मन्दिरमा राख्नेबारे बौधायनगृह्यसूत्र (२।२।१३), कौटिल्यको अर्थशास्त्र (२।४), विष्णुधर्मसूत्र (२३।३४, ६३।२७), आपस्तम्बधर्मसूत्र (१।११।३०।२८) आदिमा बहुपक्षीय चर्चा छन् । असल शासक, कुशल राजनीतिज्ञ, धर्मानुरागी जनता, शास्त्रमर्मज्ञ गुरुहरू हुँदासम्म नेपालमा अलौकिक मूर्ति एवं अद्भूत मठमन्दिरको निर्माण भए ।

देवागारं करोमीति मनसा यस्तु चिन्तयेत् ।

तस्य कायगतं पापं तदह्ना हि प्रणश्यति ।।–अग्निपुराण (४१।३३)

अर्थात् “मन्दिर बनाउँछु भनी मनले सङ्कल्प गरे पनि शारीरिक पाप तुरुन्तै नष्ट हुन्छ ।” पाशुपतक्षेत्रमा शिवालय बनाउनाले आफ्नै कुल, मावलीकुल र ससुरालीकुलसमेतको उद्धार हुन्छ । आफ्नो यश, पितृहरूको उद्धार, आर्थिक वैभव, लक्ष्य प्राप्ति, सन्तान लाभ, इष्ट सिद्धि आदिका लागि गुम्बा, विहार र मठमन्दिरको निर्माण गरिन्छ । राजा गुणकामदेवलाई महालक्ष्मीले स्वप्न दिएपछि नेपाल रक्षाका लागि तन्त्रोक्त विधिले भद्रकालीको स्थापना गरे । ललितपुरस्थित बालकुमारीमन्दिर अशोक मल्लले निर्माण गरे । दैवी सूचना र संकेतअनुसार निर्माण भएकाले बौद्धस्तूप, स्वयम्भूको चैत्य, चारुमती बिहारले नेपालको गरिमा र परिचयमा चमक थपेका छन् । चैत्य, गुम्बा, मठमन्दिरले इतिहास, वास्तु, कला, प्रविधि, शैलीलाई जोगाएका छन् । बौद्ध स्तूपलाई यन्त्राकार स्वरूपमा शिवलिड्डको आकार झल्कने गरी निर्माण गरिएको छ ।

हरेक धार्मिक संरचना दैवी ऊर्जा भएकै भूमिमा निश्चित लक्ष्य प्राप्त गर्न बनाइएका छन् । झट्ट हेर्दा ती संरचनाहरू शैव, वैष्णव, बौद्ध, शाक्त आदि सम्प्रदायका निजी सम्पत्तिजस्तो देखिए पनि नेपालकै कला, इतिहास र गौरवका धरोहर हुन् । हाम्रा देवस्थलहरू ऐतिहासिक, पुराताŒिवक, धार्मिक महŒवका भण्डारस्थल हुनाले विश्वसम्पदामा सूचीकृत भई राष्ट्रको नाम चम्काएका छन् । मठमन्दिरबाट आध्यात्मिक, वैज्ञानिक, शैक्षिक, आर्थिक, साधनालगायतका लाभ लिन बनाइयो । पशुपतिभन्दा निकै कम आयस्रोत भएका मठमन्दिरले भारतमा विश्वविद्यालय, अस्पताल, अन्नक्षेत्र, धर्मशाला आदि सञ्चालन गरी समाजको हित र राष्ट्र कल्याणमा सहयोग पुर्‍याएका छन् । नेपालको एक चौथाई बजेट पाशुपतक्षेत्र, बौद्धनाथक्षेत्र, लुम्बिनीक्षेत्र, देवघाटक्षेत्र, मुक्तिनाथ, जनकपुर, पाथीभरा आदिले दिन सक्छन् । मठमन्दिर अध्यात्मको केन्द्रमात्र होइन अर्थतन्त्रको मूल हो, व्यापारको मेरुदण्ड हो, आयस्रोतको भण्डार हो, समस्या निवारको केन्द्र भएकाले हरेक गाउँ, टोलमा बनाइन्छ ।

फरक राष्ट्रलाई धर्म र संस्कृतिले जोड्छ । पशुपति, मुक्तिनाथ, जनकपुर, लुम्बिनी, उग्रतारा, वैद्यनाथ, स्वयम्भू आदिले नेपालइतरका हिन्दू र बौद्धधर्मावलम्बीहरूलाई नजिक बनाएको छ । ध्यान, जप, साधना, तन्त्रसिद्धि, शान्तिका लागि नेपालका मन्दिर अद्भूत छन् । तिथिविशेष, पर्वविशेष वा सदावहाररूपमा धार्मिक क्षेत्रबाट नि:शुल्क खान र बस्न पाउँछन् । मन्दिरनजिक मागेर, व्यापार र कर्मकाण्ड गरेर धेरैले जीवनयापन गरेका छन् । मन्दिरले रोगलाई भगाउँछ, ईश्वरलाई बोलाउँछ, राष्ट्रलाई जोगाउँछ, सभ्यतालाई फैलाउँछ, आवश्यकताअनुसारको जागरण ल्याउँछ । दुर्गासप्तशती, महाभारत, रामायणजस्ता ग्रन्थहरूमा धार्मिकभन्दा अधिक राजनीतिक, कुटनीतिक, आर्थिक, सामाजिक विषयहरू अन्यत्र कहाँबाट सिक्न पाइन्छ ? नेपालमा प्रजातन्त्रको पुनस्र्थापनापछि राजनीतिले धर्म र मठमन्दिरलाई बिर्सियो, संस्कार र संस्कृतिलाई भुल्यो, परम्परा र इतिहासलाई गुमायो, ग्रन्थ र शास्त्रलाई लत्यायो । गणतन्त्रसम्म आइपुग्दा संरक्षण गर्नुपर्ने सबै विषयहरू सर्वनाशकै दैलोमा उभियो । मन्दिरमा पूजा, घरमा मन्त्र पाठ, तीर्थस्थलमा देवीदेवताको दर्शन हुँदासम्म नेपालभित्र नेपालै थियो, नेपाली नै बस्थे । मन्दिरबाट आशीर्वाद लिँदासम्म राजनीतिक पीडाले समाज फुटेको एवं राष्ट्र चाउरिएको थिएन । मन्दिर अब पण्डितपूजारीको कमाउस्थल, सरकारको नियुक्तीस्थल र व्यापारीको आयस्थल बन्न पुग्यो ।

कृतं दत्तं तपोधीतं यत्किञ्चित् धर्मसंस्थितिम् ।

अर्धाङ्गुलस्य सीमाय हरणेन प्रणस्यति ।।–पद्मपुराण (३३।३८)

अर्थात्, “मन्दिरको आधा औँलाबराबरको जमिन अतिक्रमण गरेमा कर्म, दान, तप, स्वाध्याय तथा धर्मसम्बन्धी फल पूर्णरूपमा नष्ट हुन्छन् ।” यस्ता सोचले मन्दिरहरूका सम्पत्ति वृद्धि हुन्थे, गुम्बाका वैभव बढ्थे, गुरुद्वाराहरू सम्पन्न थिए । आफ्नालाई भुलेर मित्रराष्ट्रका तीर्थस्थल, पश्चिमाका भूमि, विदेशीका देवस्थल जान खेतबारी बेच्ने होड चलेको छ । काशीक्षेत्रभन्दा चार गुणा धेरै पुण्यदायक पाशुपतक्षेत्र छ ।  काशीमा मोक्षमात्र मिल्छ तर पाशुपतक्षेत्रमा धर्म, अर्थ, काम र मोक्ष प्राप्त हुन्छ । यसैले नेपाललाई तीर्थस्थलहरूको शिरोभाग भनिन्छ ।

हाम्रा शास्त्रको निचोड, दैवी शक्तिको केन्द्र, ऋषिहरूको तपोबल, पुर्खाहरूको सार, कलाको समग्रतालाई मठमन्दिर एवं मूर्तिले संरक्षण गरेका छन् । शिखरशैली, छानेशैली (प्यागोडाशैली), घण्टेशैली नेपालको मौलिक कला हुन् । विभिन्न शैलीका मन्दिरले शक्तिशाली, स्वाभिमानी, वीर, धीर, ज्ञानी बनाउँछ । यहाँका पहाड र हिमचुचुराको नक्कल गरी शिखरशैलीका मन्दिर बनाइयो । थुम्का र टाकुरालाई आधार मानी छानेशैली तयार गरे । जागरण, नाद, ब्रम्हण्डको ऊर्जा आदिलाई समेटेर घण्टेशैलीका मन्दिर निर्माण गरियो । हाम्रा घर, दरबार र मन्दिरहरू नेपालीशैलीअनुसार बनाउँदा शिर ठाडो, ज्ञान उच्च, राष्ट्र पूजनीय थियो ।

पशुपतिमन्दिर छानेशैलीमा, मृगस्थलीस्थित गोरखनाथमन्दिर शिखरशैलीमा, अधिकांश मन्दिरहरू घण्टेशैलीमा बनाइएका छन् ।  हिऊँ चाँडै झरेर जाओस् भनी हिमालीक्षेत्रमा छानेशैली र शिखरशैलीका मन्दिर बनाइए । भूमि, भगवान् र भवन (मठमन्दिर, चैत्य) बिच अन्तरङ्ग सम्बन्ध हुन्छ । देवीदेवताका आयुध, गण, पाश्वर्ती, वाहन, क्षेत्रपाल, द्वारपाललाई विधिपूर्वक उपयुक्त स्थानमा राख्दा मन्दिर र मूर्तिमा ऊर्जा बढ्छ । मन्दिरले मनलाई नियन्त्रण गर्छ, प्राणीलाई आश्रय मिल्छ, प्रकृतिलाई करुणामयी बनाउँछ । कुल, मूल, समाज, राष्ट्रको मात्र पहिचान बोक्दैन मानवको परिचय पनि दिने हुनाले शास्त्रका विधिअनुसार मन्दिर बनाउनुपर्छ ।