४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

नेपाल किन देवभूमि हो ? 

नेपाल किन देवभूमि हो ? 
अ+ अ-

नेपालका विभिन्न स्थानमा बम्हाले ब्रम्ह चिन्तन गरेको, विष्णुले जीवात्मालाई पालेको, देवीदेवताहरूले यज्ञ र साधना गरेका, पार्वतीले महादेवबाट तन्त्र सिकेकी, दुर्गा तथा कालीले राक्षसहरूलाई परास्त गरेकी पुराणहरूले बताउँछन् । पृथ्वीले गाई, पराम्बाले दुर्गा, प्रकृतिले काली आदिको रूप लिई जीवात्मालाई पालनपोषण गरे ।

ऋषिहरूले परमात्माको, साधुसन्तले आत्माको, मुनिहरूले स्रष्टाको चिन्तन यहीँ गरे । दैवी ऊर्जा, प्राकृतिक सुन्दरता, वैदिक सम्पदा र ईश्वरीय छटाले भरिएर नेपाल ज्ञान, विज्ञान र ध्यानको केन्द्र बन्यो । यहीकारण अनेकौँ स्थानबाट तीर्थाटन, भीक्षाटन, शिक्षाग्रहण, साधना आदिका लागि मानिसहरू नेपाल आए । उनीहरूको तन, मन र ज्ञानले यो भूमि छोड्न मानेन अनि नेपालका पर्वतमालाहरूमा बस्ती बाक्लिन थाल्यो । ज्यानलाई भूऊर्जाले, ब्रéचिन्तनलाई सत्सङ्गले, प्रविधिलाई परिश्रमले, ज्ञानलाई साधनाले उचाईमा पुर्‍यायो । युरोप र अमेरिकाजस्तै कुनै कालखण्डमा विश्वको दृष्टि नेपाल तथा आर्यावर्तमा थियो ।

फरक ऋतु र भिन्न भूगोलमा पाइने फलफूल, अन्न, जडीबुटीहरू नेपालको एकै स्थानमा उम्रन्छन्, फुल्छन्, फल्छन् । एउटै पर्वतको टुप्पो, बिचभाग र फेदमा फरक हावापानी, वनस्पति, प्राणी पाइने हुँदा जीवनयापन गर्न सहज भयो । बहुमूल्य, बहूपयोगी र दुर्लभ खनिज पदार्थहरूले ज्ञान, भोजन र चिन्तनमा सहयोग पुर्‍यायो । यहाँको स्वच्छ हावा, शुद्ध पानी, तागतदार अन्न, असल शासक, कुशल प्रशासक र इमान्दार जनताले साधकहरूलाई गाँस, बास र कपासको व्यवस्था गरिदिए ।

शास्त्र अध्ययनले ज्ञानवान्, योगले ध्यानवान्, कर्मले आचारवान् बसेकाले नेपाललाई स्वर्ग भनियो । पितापुर्खाको अदम्य साहस, भूऊर्जाको महती पुण्य, साधकहरूको तपोबल, देवीदेवताको अनुकम्पाले पवित्र भएकी नेपालले उपनिवेशको अनुहार देख्न परेन । नेपालआमाले तपस्वीलाई गर्भाधान गराइन्, धीरलाई कोखमा बढाइन्, ज्ञानीलाई गोदमा लिएर पढाइन्, वीरलाई राष्ट्रको गरिमा बुझाएर राजकाज सिकाइन् । प्रकृतिको जप, ऋषिमुनिहरूको तप, साधुसन्तको पाठ, जनताको सेवा, मुनिको मनले नेपाल पुण्यभूमि भयो ।

यत्र ब्रम्ह च क्षत्रं च सम्यञ्चौ चरत: सह ।

तँल्लोकं पुण्यं प्रज्ञेषं यत्र देवा: सहाग्निता ।।–शुक्लयजुर्वेद (२०.२५)

अर्थात् “जहाँ ब्रम्ह(ज्ञान)बल, क्षत्र(शारीरिक) बल प्रेमपूर्वक एक साथ भएर व्यवहारमा ल्याइन्छ, जहाँ देवता र अग्नि साथ रहन्छन् त्यही पुण्य देश हुन्छ ।” नेपालमा बलवीर, दानवीर, कलमवीर र ज्ञानवीरले जन्म लिए, तपस्या गरे । बलवीर र ज्ञानवीरका रूपमा चिनिएका रावण हुन् वा कलमवीरका रूपमा परिचित वेदव्यास, तपवीर ब्रम्हर्षि विश्वामित्र हुन् कि विदेह राजा जनक, ज्ञान र ध्यानवीर बुद्ध हुन् कि तन्त्रवीर नेमुनि सबै नेपालकै सन्तान हुन् । यही भूमिमा सरस्वतीले ज्ञान फिजाइन्, विष्णुले प्राणी पालनको विज्ञता सदुपयोग गरे, महादेवले ध्यान सिकाए, पार्वतीले तन्त्रको अभ्यास गराइन्, ब्रéाले वेदको प्रचार गरे ।

ब्रम्ह बस्ने कमल, उनका ज्ञानलाई लिपिबद्ध गराउने ताडपत्र र भोजपत्र नेपालकै जमिन एवं जंगलले दिए । ब्रéाण्डको रचना गरेकाले  हिरण्यगर्भलाई ब्रम्हा भनियो । महादेव र पार्वती (गौरी)को निवासस्थल गौरीशङ्गरहिमाल, मनुको तपस्यास्थल गोरखाको मनास्लुहिमाल, कुम्भकर्णको तपस्यास्थल कुम्भकर्णहिमाल, गणेशको नामबाट गणेशहिमाल नामकरण गरियो । हिमालय र मेनकाले पार्वतीलाई नेपालपुरी दाइजोको रूपमा दिएका थिए  । महादेवले मृगको रूप धारण गरेको मृगस्थली, भष्मासुरले लखेट्दा आरक्ष लिएको हलेशी, कालकुट विष पिएर विश्राम लिएको गोसाइँकुण्ड नेपालमा पर्छ । गोसाइँकुण्डको पानीमा केके गुण र तागत छ खोज्न आवश्यक छ ।

विष्णुको स्वरूप मानिने शालग्रामलाई कालीगण्डकीले जन्माइन् । पार्वतीले नेपालमा तपस्या गरेर महादेव श्रीमान् पाइन् । गोमालाई काठमाडौँउपत्यका आसपास छोडेर कैलाश गएका महादेवका सुपुत्र नवराजले लावण्य देश अर्थात् हालको साँखु क्षेत्रमा शासन गरे । भक्त प्रह्लादले तप गरेका कारण भक्तपुर नाम भएको प्रसिद्धि अझैँ सुन्न पाइन्छ ।

पारुहाङ र सुम्निमाको निवासस्थल किरातप्रदेश, सीताको जन्मस्थल जनकपुर, पुष्पदन्त हात्ती र गोहीको युद्धस्थल नवलपरासीको जीवनदायिनी मानिने त्रिवेणीधाम, वाल्मीकिले रामायण नवलपरासीको भैँसालोटनमा लेखे, सतीदेवीको दाँत पतन भएको धरानस्थित दन्तकाली, गुह्यस्थान पतन भएको गुह्येश्वरीदेवी, जिब्रो पतन भएको स्थान नेपालगञ्जस्थित वागेश्वरी नेपालमा नै छ ।

नेपालभूमिले नै विपश्वी (पद्मपुर), शिखि(अरूणपुर), विश्वभू (अनुपमनगर), कक्रुच्छन्द, कनकमुनि, काश्यपदेखि गौतमबुद्धसम्मलाई काखमा खेलायो, साधना सिकायो, दर्शन गर्न बोलायो । बौद्धधर्मका अनुयायी मञ्जूश्री नेपाल दर्शनका लागि महाचीनबाट आएका थिए, वशिष्ठऋषि तन्त्रसिद्धिका लागि महाचीन गएका थिए । नेपालमा शिक्षित र दीक्षित भएपछि विदेश गएर वैदिक र तान्त्रिक ज्ञान फैलाएको बारे प्रशस्त प्रमाणहरू छन् ।

खोज तथा अनुसन्धानको अभाव, पश्चिमाको प्रभाव, अस्थिर राजनीतिले गर्दा हाम्रा देवीदेवता एवं ऋषिमुनिहरू कोही छिमेकीका, केही विदेशका, कतिपय सीमित जात तथा सम्प्रदायविशेषका हुन पुगे । वाल्मीकिको संरक्षणमा रामका सुपुत्रहरू लव एवं कुश नवलपरासीजिल्लास्थित भैँसालोटनमा जन्मे, शास्त्र र शस्त्रको अध्ययन एवं अभ्यास गरे ।

नेपालको कोशी, गण्डकी, कर्णाली एवं यसका शाखा नदीहरूमा अनेकौँ ऋषिमुनि र महात्माहरूले गुरुकुल सञ्चालन, साधनाको अभ्यास गराए । केहीका तपस्यास्थलमा अहिले मूर्ति राखिएका छन्, मन्दिरहरू बनेका छन्, कैयौँ तीर्थस्थल एवं दर्शनस्थलमा परिणत भएका छन्, कतिपय अलपत्र भई खण्डहर बनेका छन् । उनीहरूको तपस्यास्थलमा ढुड्डो बोल्ने, भूमिबाट अनेक शब्द आउने, नाग बेरिएर, बाघले ढुकेर बस्ने, तिथि र मितिविशेषमा अनेक रङका बत्ति बल्ने, अनौँठो ढुड्डा र मूर्ति भेटिने, भविष्यको पूर्व सङ्केत दिनेजस्ता चामात्कारिक विषय सुन्न पाइन्छन् । महाभारत (वनपर्व ८३.२०२)का अनुसार पृथ्वीको नैमिषारण्य र अन्तरिक्षको पुष्कर सर्वश्रेष्ठ तीर्थस्थल छन् । यहाँका तीर्थस्थलसँग अनेकौँ ग्रह, सिद्धि, देवीदेवता र लोकहरूको सम्बन्ध भएकाले नेपाल वैदिक धर्मको केन्द्र, आर्य संस्कृतिको जननी, तन्त्र परम्पराको आधारस्थल हुन पुग्यो ।

नेपालले वेद, मुन्धुम र त्रिपिटकसहितका अनेकौँ ग्रन्थहरू जन्मायो । स्वयम्भू र पशुपतिजस्ता महाज्योर्तिलाई आफ्नै आँगनमा बसायो । पशुपति वास्तवमा नेपालको मात्र होइन संसारकै आराध्यदेव, अन्ताराष्ट्रदेव, ब्रम्हण्डनायक हुन् । अनेकौँ नदी, शालग्राम, पर्वत, स्तूप, मठमन्दिरसहितको ऊर्जाले नेपाल हिन्दूराष्ट्र भयो ।

राजाले सम्बोधनको अन्तमा “श्रीपशुपतिनाथले सबैको कल्याण गरुन्” भन्थे । गरुन् शब्दले पशुपतिलाई राजाले निर्देशन दिएजस्तो हुनाले– “श्रीपशुपतिले सबैको कल्याण गरेको निवेदन गर्दछु” जस्ता प्रार्थना वाक्य हुनुपर्छ । सनातनधर्म र पशुपतिको अस्तित्व हुँदासम्म नेपालको सतीत्व गुम्दैन । वेदअनुसार हिँडे, त्रिपिटकअनुसार बाँचे, मुन्धुमअनुसार सोचे नेपालले स्वर्गलाई माथ गर्ने थियो । पुर्खा र ग्रन्थअनुसारको जीवन र व्यवहार, धर्म र राजनीति, विकाश र शिक्षा हुन आवश्यक छ ।

वैदिक धर्म, पशुपति वा नेपालमाथि वक्रदृष्टि दिनेको कहिल्यै कल्याण हुँदैन, इतिहासले संझन चाहदैन । रणबहादुर शाहले यसको परिणाम भोगे । पूर्वप्रधानमन्त्री वी. पी. ले पशुपतिको शिवलिङ्क तातेको खबर सुनेपछि–“पशुपतिको तल्लो भागमा ग्याँस छ, उत्खनन् गर्नुपर्छ” भनेको केही दिनमा वि. सं. २०१७ पौष १ गतेको घटना भयो । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पशुपतिका पुजारीमाथि मनपरी गरेको, पूर्वप्रधानमन्त्री के.पी. शर्मा ओलीले शास्त्रविपरीत जलहरीमा सुनको लेप लगाएको केही समयपछि पद छोड्नुपरेको थियो ।

किनकि नेपालका हरेक देवीदेवता  साक्षात् छन्, जाग्रत छन्, तुरुन्तै फल दिने छन् । यहाँका गाउँ–गाउँमा देवता छन्, क्षेत्र–क्षेत्रमा यज्ञ हुन्थ्यो, घरघरै लक्ष्मीको निवास थियो, प्रत्येक मानिस धार्मिक थिए ।

नेपालमा अनेक दर्शन, धार्मिक ग्रन्थ, देवीदेवता एवं सम्प्रदायको उत्पत्ति र विस्तार भयो । शैव, वैष्णव, बौद्ध, शाक्त, किरात, नाथ, बोन आदि सम्प्रदायको जन्म भयो । नेपाल धर्मभूमि, देवभूमि भएकाले सबै जाति तथा सम्प्रदायबिच आत्मयीता छ ।

नेपालमा बाहिरका देवीदेवता, ऋषिमुनि, साधुसन्त राजनीतिज्ञ, योद्धा आदि विपद्मा पनि शरण लिन आएको इतिहासले बताउँछ । हरिसिंहदेवलाई सपनामा तुलजादेवीले म्लेच्छबाट उपद्र एवं आक्रमण हुन लागेपछि सुरक्षार्थ आफूलाई नेपाल लैजान भनेकी थिइन् । जीवित देवी कुमारीको पूजा विश्वमा कतै हुँदैन । दैवी शक्तिले गर्दा नेपालका खोलाहरू नदी मानिन्छन्, पानी जल बन्छ, वनस्पति औषधि हुन्छन्, पशुपंक्षी देवीदेवताको वाहन बन्छ, माटो विभूति हुन्छ ।

तराईले अन्न उमारेर, पहाडले देवता भएर, हिमालले देवी बनेर नेपालको शोभा बढाएका छन् । विश्वका १४ अग्ला हिमालमध्ये १० वटा यहीँ बसे । विश्वको अग्लो चुचुरो सगरमाथाले नेपाल टेथिस सागरभित्र जलमग्न हुँदा नडुबेर हेरिरह्यो । संसारमा पाइने पाँचै किसिमका हावापानी, अन्नबाली, जडीबुटी, फलफूल यहाँका हरेक भूभागमा उम्रन्छन्, फुल्छन्, फल्छन् ।

बाह्रै महिना अन्न र फलफूल पाइने भएकाले ऋषिमुनि, साधुसन्त र महापुरुषलाई साधनाकालमा जीवनयापन गर्न सहज भयो । आर्यभट्टलाई गुरुत्वाकर्षण, भाष्कराचार्यलाई खगोल, कणाद्लाई अणु र परमाणु, भारद्वाजलाई विमानविज्ञान, जैमिनिलाई विद्युतशक्ति, गर्गलाई ज्योतिष, मुद्गललाई युद्धसम्बद्ध ज्ञान यही भूमिमा प्राप्त भयो । पराशरका पुत्र वेदव्यासले वेदको विभाजन र पुराणको लेखन कार्य दमौलीमा गरे, विश्वामित्रले गौरीशंकरहिमालमा गायत्रीमन्त्र प्राप्त गरे । श्रृड्डी, जैमिनी, अरूण, वरुण आदिको साधनास्थल नेपालका गुफा, नदी र पहाडहरूमा भयो ।

वेदान्तदर्शन, वैशेषिकदर्शन, जनकदर्शन, बौद्धदर्शन, बोनधर्म, मुन्धम एवं अष्टावक्रगीताको अंकुर र विकास नेपालमै भयो । पार्वतीलाई महादेवले यहीँका हिमाल र नदीमा मुद्रा, योग, तन्त्रको अभ्यास गराए । नेपालको ऊर्जाले यहाँका नदी, गुफा, कन्दरा, जंगल, पर्वतहरूमा ज्ञानको दियो बल्यो, विज्ञानको मूल फुट्यो, साधनाको फल पाक्यो । देवभूमिको भूऊर्जाले ब्रéचिन्तकलाई तान्यो, तन्त्रविज्ञलाई लोभ्यायो र यन्त्रनिर्मातालाई आकर्षण गर्‍यो ।

पर्वतहरू भञ्ज्याङमा भेटिएर, वृक्षहरूमा देवीदेवताहरू बसेर, नदीहरू घाटमा मिलेर, ढुड्डाहरूले मूर्ति भएर तीर्थलाई स्वागत एवं देवीदेवतालाई पूजा गरे । तीर्थस्थलले तार्छन्, देवस्थलमा परमात्माले दर्शन दिन्छन्, साधनास्थलले सायुज्य प्रदान गर्छन् ।

सेती र काली नदीको संगममा स्नान गर्नाले मृत्युपछि स्वर्गमा उडेर जान्छ, जो विद्वान्ले यहाँ शरीर त्याग्छ उसले मुक्ति पाउँछ ।  सेती र कालीको संगम देवघाट हो । भारतीय विद्वान्हरूले यसलाई अस्वीकार गरी गंगा र यमुनालाई मानेका छन् । तीन नदीको संगमलाई ॐकार स्वरूप मानिन्छ जसको साकारस्वरूप त्रिवेणीधाम नेपालमा छ । मनुस्मृति (२.२३)मा भनिएको छ– कृष्णसारस्तु चरति मृगो यत्र स्वभावत: । स ज्ञेयो यज्ञियो देशो म्लेच्छदेशस्त्वत: पर: ।। अर्थात् कृष्णसारमृग जहाँ विचरण गर्छन्, त्यो यज्ञभूमि वा यज्ञीय देश हो ।

नेपालमा कृष्णसार मृग पाइने हुनाले यहाँका यज्ञ र साधनाले अधिक फल दिन्छन् । यसकारण अन्य राष्ट्र भोगभूमि, रोगभूमि, शोकभूमि हुन पुगे, नेपाल भने आर्यावर्त र देवभूमि मानियो । पारसमणिदेखि सोमलतासम्म, सञ्जीवनीबुटीदेखि सिद्धहरूसम्म, यतिदेखि एलेनसम्म, औषधिदेखि देवीदेवता बसेको गुफासम्म यहीँ भेटिएकाले सबैको मातृभूमि भयो ।

भारतमा झण्डै सात सय वर्ष मुसलमानले, दुई सय वर्ष अङ्ग्रेजले शासन गर्दा दैवी शक्ति, शास्त्र, तीर्थस्थल, परम्परा प्रदुषित बन्न पुगे । देवस्थलको शक्ति, शास्त्रको ऊर्जा, सन्तहरूको साधनाबल, पुर्खाको तपोबल सुरक्षाकवच भएकाले नेपाल गुलाम भएन । पृथ्वीनारायणको स्वर्गबाससँगै नेपालमा राजा जन्मिएनन्, बहादुर शाहपछि वीर भेटिएनन्, कालु पाण्डेपछि योद्धा पाइएनन्, महेन्द्रपछि कम्युनिष्ट देखिएनन्, वीरेन्द्रसँगै प्रजातन्त्रको मृत्यु भयो तथापि देवीदेवताको शक्ति, ऋषिमुनिको साधना, तीर्थस्थलको ऊर्जा, मठमन्दिरको तागतले यो भूमिको स्वामित्वमाथि कसैको आवाद हुन पाएन ।

यो हुनुमा नेपालको सतीत्व, परमात्माको अनुकम्पा, देवीदेवताको ऊर्जा, ज्ञानको औरा, शास्त्रको आशीर्वाद, योद्धाहरूको त्याग, वीरहरूको मनोबल मुख्य कारण हुन् । आध्यात्मिक, यान्त्रिक, तान्त्रिक, प्राकृतिक शक्तिहरूको संयोजनले नेपालमा अधिक दैवी शक्ति सञ्चार भइरहने हुँदा देवभूमि हुन पुग्यो ।