३ मंसिर २०८१, सोमबार
,
Latest
चलचित्र हेरेपछि लाग्योः आँसुमै बग्यो ‘पूर्णबहादुरको सारङ्गी’ को मुद्दा रुस–युक्रेन युद्धको एक हजार दिन पूरा पुलमा भ्वाङ परेपछि विमानस्थल जोड्ने सडक अवरुद्ध भारतीय क्रिकेट टिमका प्रशिक्षक गौतम गम्भीरलाई दिल्ली उच्च अदालतबाट ठूलो राहत जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह धनगढीमा सुदूरपश्चिम रोयल्सको भव्य र्याली – फोटोफिचर सङ्खुवासभामा छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु मलेखु–मुग्लिन सडकको काम चाडपर्वपछि तीव्र गतिमा बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा अन्तरिक्षमा अड्किएकी सुनिता विलियम्सको तौल लगातार घट्दै छ ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

१० औं राष्ट्रिय खेलकुद अब कहिले ?



अ+ अ-

काठमाडौं । मंसिर २ देखि ९ गतेसम्म हुने भनिएको १० औं राष्ट्रिय खेलकुद स्थगित गरिएपछि अब कहिले गर्ने भन्ने अझै टुंगो लाग्न सकेको छैन । कर्णाली प्रदेशमा गर्ने भनिएको प्रतियोगिताको नयाँ मितिबारे अन्योल बढिरहँदा राष्ट्रिय खेलकुद परिषद्का सदस्यले नै युवा तथा खेलकुद मन्त्री र राखेपका सदस्य सचिवसँग जवाफ माग गरेका छन् ।

राखेपका सदस्य प्रकाशकुमार कुसारीले सामाजिक सञ्जालमार्फत् १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता हुने वा नहुने अनिर्णयको बन्दी भएको भन्दै यसको जवाफ कसले दिने भन्दै प्रश्न गरेका छन् ।

उनले भनेका छन्– ‘राष्ट्रिय खेलकुद परिषद्को मिति २०७९ साल कात्तिक २ गतेको ११५औं बोर्ड बैठक तथा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन समारोहको घोषणासँग दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०८१ साल मंसिर २ देखि ९ गतेसम्म कर्णाली प्रदेशको राजधानी सुर्खेतमा हुने भनी मिति घोषणा भएकोमा थियो । तर आज २०८१ साल मंसिर २ गतेसम्म आइपुग्दा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुने वा नहुने अनिर्णयको बन्दी भएको छ । यसको जवाफ कसले दिने ? युवा तथा खेलकुद मन्त्री एवम् राष्ट्रिय खेलकुद परिषद्का अध्यक्ष, राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव वा प्रदेश सरकारले जवाफ चाहियो ? युवा तथा खेलकुद मन्त्री एवम् राष्ट्रिय खेलकुद परिषदका अध्यक्ष र राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिबले राष्ट्रिय खेलकुद परिषद्को बोर्ड बैठक नबसेको १३/१४ महिना भइसक्दा पनि किन बोलाउन नसकेको जवाफ कसले दिने हो ?

राष्ट्रिय खेलकुद परिषद्को बोर्ड बैठक १४ महिनादेखि बस्न सकेको छैन । जसका कारण कर्मचारी सेवा शर्त विनियम, आर्थिक विनियम, ओएनएम :सर्भेको कुरा र दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको निर्देशिका संशोधनसहितका विषय अन्योलमा परेका छन् । जसका कारण पहिलो पारा राष्ट्रिय प्रतियोगितामा पनि अन्योलनमा परेको छ ।

कर्णालीमा गर्ने भनिएको १० औं खेलकुद प्रतियोगितामा राजनीतिसमेत हावी देखिएको छ । कर्णालीमा पटक पटक सरकारको नेतृत्व परिवर्तन त प्रतियोगिताको जस लिने होडबाजीका कारण खेलकुद प्रतियोगिता नै अन्योलमा परेको हो ।

प्रदेश सरकारले नयाँ मिति घोषणा गर्न संघीय सरकार र राष्ट्रिय खेलकुद परिषद्लाई आग्रह गरिसकेको छ । प्रतियोगिताको नयाँ मिति घोषणा नहुँदा प्रशिक्षणमा रहेका खेलाडीलाई पनि के गर्ने भन्ने अन्योल भएको छ ।

यस्तो अवस्था अन्त्य गर्न अब तत्काल दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मितिका साथै राष्ट्रिय प्रतियोगिता सञ्चालनसम्बन्धि निर्देशिकाको बारेमा प्रदेश सरकारसँग छलफल गर्नुपर्ने हुन्छ ।

त्यसैगरी खेल संख्या, खेल स्थल र प्रदेशलाई दिने बजेटको पनि तत्काल टुंगो लगाउनुपर्छ ।

आयोजना हुने प्रदेश र राखेपबीच राष्ट्रिय प्रतियोगिता सञ्चालनसम्बन्धी कार्य विभाजनका बारेमा प्रदेशसँग छलफल गरी टुंगो लगाउनुपर्ने छ । यसको लागि परिषदको बैठक बस्नु अगाडि एक कार्यदल बनाएर उक्त कार्यदलले दिएका सुझावका आधारमा अगाडि बढेमा मात्र दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अब तोकिएको मितिमा हुन सक्ने अन्यथा यसअघि परिषद्को ११५ औं बैठकले गरेको निर्णय जस्तो घोषणामा मात्र सीमित हुने छ ।