४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

कोदोखेतीले धानेको खोरियागाउँ

कोदोखेतीले धानेको खोरियागाउँ
अ+ अ-

सिरहा । मिर्चैया बजारबाट १० किलोमिटर उत्तरपट्टि चुरेको फेदमा अवस्थित छ खोरिया बस्ती । बस्तीमा दलित, जनजातिलगायत सीमान्तकृत समुदायका २६ परिवारको बसोबास छ । बस्तीमा सानो झुपडी, फुसको छानो, बाँसका भाटाले बेरेका टहरा छन् ।

मिर्चैया नगरपालिका–७ मा पर्ने यस गाउँमा जब प्रवेश सुरु हुन्छ, बारीभरि कोदोखेती देख्न सकिन्छ । यहाँका किसानका लागि यो निर्विकल्प खेती हो । वर्षमा एक पटक मात्रै यहाँका किसानले कोदो उत्पादन गर्छन् ।

चुरेको फेदमा अवस्थित यो गाउँ सुक्खा क्षेत्र भएको र सिँचाइ सुविधा नहुँदा कोदोखेतीको विकल्प नभएको यहाँका किसानको भनाइ छ । “बाउबाजेदेखि यही कोदो रोप्दै आएका छौँ । अन्य बालीका लागि सिँचाइको सुविधा छैन । पिउने पानी त नभएर छ महिना समस्या हुन्छ”, स्थानीय हर्कबहादुर परियारले भन्नुभयो, “जेजति उब्जनी हुन्छ यही कोदोको जोहो गर्नुपर्ने बाध्यता छ ।”

यतिबेला कोदो पाकेको छ । किसान बाली भित्र्याउने तयारीमा छन् । परियारले दुई कठ्ठा बारीमा कोदो लगाउनुभएको छ । “यो अगौटे बीउको कोदो आजभोलि नै टिप्ने बेला भइसकेको छ । आफ्नो उत्पादनको दुई गेडा अन्न भए पनि स्याहार्नु त पर्यो”, परियारले भन्नुभयो । उहाँले उत्पादन गर्नुभएको १०/१२ पाथी कोदोले केही महिना मात्र जोहो टर्छ, बाँकी महिना ज्याला मजदुरी गरेर छ जना परिवारको जीविका चलाउनुपर्छ ।

परियारको जस्तै भनाइ छ सोही बस्तीकी धनसरी विश्वकर्माको पनि । खडेरीले अन्य बाली खाने हुँदा आफूहरूले कोदा रोपेर जीविका चलाउनुपरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “मान्छे र गाईवस्तुलाई खानेपानीका लागि छ महिना एक घण्टाको बाटो धाएर पानी बोक्नुपर्छ । भएका कुवा र इनार मङ्सिर नलाग्दै सुक्छन् । यस्तो ठाउँमा कोदोबाहेक अन्य अन्नपात उब्जदैन । मकै रोपे पनि खडेरीले खाइहाल्छ ।” कोदोबाहेक गहत, बोडी र तिललगायतका अन्नपात लगाउने गरेको उहाँले जानकारी दिनुभयो ।

उब्जने त्यही कोदो बालीमा पनि स्थानीय सरकार तथा अन्य निकायले उन्नत बीउ तथा अनुदान सहयोग नगरेको यहाँका किसानको गुनासो छ । उत्तरी भेगका करिब १० प्रतिशत किसानले कोदोखेती गरे पनि नगरपालिले हालसम्म कोदोखेती गर्ने किसानलाई प्रोत्साहन गर्ने कुनै प्रकारको नीति र योजना नरहेको मिर्चैया नगरपालिका कृषि शाखा प्रमुख नागेश्वर हाथीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यहाँका किसानलाई कोदोखेती विस्तार र संरक्षणमा सम्बन्धित नगरले अहिलेसम्म कुनै नीति बनाएको छैन । आगामी दिनमा नगरका तर्फबाट किसानलाई कोदो उत्पादनका लागि प्रोत्साहन, बजार व्यवस्थापन र व्यावसायीकरणका लागि सहयोग गर्न पहल गर्नेछौँ ।” यहाँका कर्जना, मिर्चैया, गोलबजार र धनगढीमाई नगरपालिकाका चुरेफेदका सुक्खा बस्तीका गाउँमा मुख्यगरी कोदोखेती गरिन्छ ।

कृषि ज्ञान केन्द्र सिरहाका प्रमुख नरेन्द्रकुमार महासेठका अनुसार जिल्लामा करिब छ सय ४५ हेक्टर जग्गामा कोदोखेती गरिने तथ्याङ्क छ । त्यस्तै नौ सय ६७ मेट्रिक टन कोदो बर्सेनि उत्पादन गरिन्छ ।

प्रमुख महासेठका अनुसार स्थानीय तहले नै कृषिसम्बन्धी हेर्ने भएकाले किसानको प्रोत्साहनका लागि आफूहरूको कुनै विशेष योजना नरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिले जिल्लाको दक्षिणी भेगमा पनि यहाँका किसानले कोदोखेती गर्ने गर्थे । तर अहिले उत्तरी भेगमा मात्र सीमित छ । स्थानीय तहले कृषि शाखामार्फत प्रत्यक्ष किसानलाई हेर्ने हुँदा अहिले हामी एक हिसाबले अधिकारविहीनजस्तो भएका छौँ । स्थानीय तहसँग समन्वय गरेर भए पनि किसानलाई कोदोखेतीमा आकर्षित गर्नुपर्ने आवश्यकता छ ।” जिल्लाका परम्परागत बालीनालीको संरक्षण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

पहिले मुख्य खाना नै कोदाको रोटी, ढिँडो हुने गरे पनि अहिले मुख्य खाना भात भएकाले विभिन्न रोग पनि सँगसँगै आएको खोरिया बस्तीका खड्गबहादुर विश्वकर्माले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँघरमा कोदोखेती विस्थापित हुँदै गएको छ । बजारका अन्य खानेकुराले मानिसलाई रोगी बनाउँदै छ । सरकारले कोदोखेतीको संरक्षणमा ध्यान नदिँदा सीमित किसानले आफ्ना लागि आवश्यक पर्ने मात्र कोदोखेती गर्ने गरेका छन् ।” रासस