४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

राष्ट्रपति पौडेलले ‘पर्वतीय क्षेत्रमा जलवायुजन्य नोक्सानीको सम्बोधन’ विषयक विशेष सत्रमा राख्नुभएको सम्बोधनको पूर्ण पाठ

राष्ट्रपति पौडेलले ‘पर्वतीय क्षेत्रमा जलवायुजन्य नोक्सानीको सम्बोधन’ विषयक विशेष सत्रमा राख्नुभएको सम्बोधनको पूर्ण पाठ
अ+ अ-

बाकु । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तन हामी सबैको साझा चुनौती भएको तथा यस साझा चुनौतीको सामाना गर्न हामी सबैको साझा बुझाइ र साझा प्रयास हुनुपर्ने बताउनुभएको छ ।

यही कात्तिक २६ गतेदेखि यहाँ सुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको सम्मेलन कोप–२९  अन्तर्गत आज नेपालले आयोजना गरेको विशेष सत्रलाई सम्बोधन गर्नुहुँदै सो कुरा बताउनुभएको हो ।

राष्ट्रपति पौडेलले नेपालका तर्फबाट आयोजना गर्नुभएको ‘पर्वतीय क्षेत्रमा जलवायुजन्य नोक्सानीको सम्बोधन’ विषयक विशेष सत्रमा जलावायु परिवर्तनका उस्तै प्रभावित राष्ट्रहरुलाई एकै ठाउँमा राखेर छलफल गर्दा समस्याको बारेमा बुझ्न र समाधन गर्न सहज हुने धारणा व्यक्त गर्नुभयो । राष्ट्रपति पौडेलले उक्त विशेष सत्रमा गर्नुभएको सम्बोधनको पूर्ण पाठ यसप्रकार छ ।

कीर्गिस्तानका सम्माननीय राष्ट्रपतिज्यू,
माल्दिभ्सका सम्माननीय राष्ट्रपतिज्यू,
अजरबैजानका सम्माननीय राष्ट्रपतिज्यू,
विकास साझेदार संस्थाका प्रमुख र प्रतिनिधिहरु,
विभिन्न देशका प्रमुख र प्रतिनिधिहरु,
मिडिया प्रतिनिधिहरु,

सर्वप्रथम, हाम्रो निमन्त्रणालाई स्वीकार गरी यस कार्यक्रममा उपस्थिति भई सक्रिय रुपमा भाग लिई दिनुभएकामा हार्दिक धन्यवाद दिन चाहन्छु ।

जलवायु परिवर्तन हामी सबैको साझा चुनौती भएको र यस साझा चुनौतीको सामना गर्न हामी सबैको साझा बुझाई र साझा प्रयास बनाउनुपर्ने भएकाले हामीले यस कार्यक्रमको आयोजना गरेका हौँ ।

जलवायु परिवर्तनका उस्तै प्रभावित राष्ट्रहरुलाई एकै ठाउँमा राखेर छलफल गर्दा समस्याको बारेमा बुझ्न र समाधान गर्न पनि सहज हुने हाम्रो विश्वास हो । सबैलाई आ–आफ्नो समस्या ठूलो लाग्नु स्वाभाविकै हो, तर पछिल्ला दिनमा नेपालले भोगेका जलवायु समस्याको चुनौती निकै हृदयविदारक छ ।

तीन महिनाअघि विश्वको सर्वोच्च शिखर सगरमाथा नजिकैको हिमताल फुट्दा सम्पूर्ण थामेगाउँलाई बगाएर लग्यो, जबकि त्यस क्षेत्रमा मानवीय गतिविधि शून्य नै थियो । त्यस्तैगरी, विगत तीन महिनामा जलवायुजन्य प्रकोपमा परेर नेपालमा मात्र पाँच सयभन्दा बढी मानिसले ज्यान गुमाउन पुगे भने खर्बभन्दा बढीको हानि–नोक्सानी भएको छ ।

यस प्रकारको हानि–नोक्सानी भर्खरै स्पेनमा भएको बाढी र डुबानलाई हेर्दा पनि हुन्छ, र गत जुलाईमा क्यारिबियन क्षेत्रमा आएको आँधीबेहरी हेर्दा पनि हुन्छ । भोलिका दिनमा यो मानवीय सङ्कट कसलाई कतिबेला पर्छ, कसैलाई थाहा छैन, तर आज समस्या परेको देशलाई सबै मिलेर सहयोग गर्नु नै मानवीय धर्म हो भन्ने हामी नेपालीको विश्वास पनि हो ।

पहाडी देशमा परेको जलवायु जोखिमको प्रभाव सामुद्रिक देशमा पर्न सक्ने र सामुद्रिक किनार माथि उठ्न सक्ने भएकाले आउँदा दिनमा पर्वतीय देश र सामुद्रिक देश मिलेर साझा कार्यक्रमका साथ एकीकृत रुपमा काम गर्न म हार्दिक अनुरोध गर्दछु ।

मुख्यगरी कार्बन उत्सर्जन गर्ने विकसित राष्ट्र र उच्च दरमा आर्थिक वृद्धि गर्ने राष्ट्रले उच्च जलवायु जोखिममा परेका राष्ट्रका लागि बढी सहयोग गर्नुपर्ने हुन्छ, बढीभन्दा बढी जलवायु वित्तको व्यस्थापन गर्न २९औँ जलवायु सम्मेलन सफल हुनेछ भन्ने मेरो विश्वास छ ।

जलवायु परिवर्तनका प्रभाव बहुआयामिक भएकाले हानि–नोक्सानीलाई जलवायुवित्त व्यवस्थापनका लागि नयाँ समिष्टिगत सङ्ख्यात्मक लक्ष्यमा हानि–नोक्सानी समेत  समेट्न म विशेष आह्वान गर्दछु ।

अन्त्यमा, पुनः एकपटक सम्पूर्ण महानुभावहरुलाई हार्दिक धन्यवाद दिँदै यस कार्यक्रमलाई म यही अन्त्य गर्दछु । प्रकृति संरक्षणका लागि विश्वलाई अपिल गर्दै वेद्को यो उद्धरणलाई उद्धृत गर्दै आफ्नो भनाइ टुङ्ग्याउँछु ।

ॐ द्यौः शान्तिरन्तरिक्षं शान्तिः
पृथिवी शान्तिरापः शान्तिरोषधयः शान्तिः ।
वनस्पतयः शान्ति विश्वेदेवाः शान्ति ब्रह्म शान्तिः
सर्वं शान्तिः शान्तिरेव शान्तिः सा मा शान्तिरेधि ।।
ॐ शान्तिः शान्तिः शान्तिः ।।