४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

स्थलगत ‘रिपोर्ट’ : बाढीपीडित पुनर्वास नहुँदा टहरमा बित्यो दसैँतिहार

स्थलगत ‘रिपोर्ट’ : बाढीपीडित पुनर्वास नहुँदा टहरमा बित्यो दसैँतिहार
अ+ अ-

पाटन, (ललितपुर) । गत असोज ११ र १२ गतेको बाढीपहिरोबाट प्रभावित भएकाहरुका लागि हालसम्म पुनर्वासको व्यवस्था हुन सकेको छैन । पुनर्वासको व्यवस्था नहुँदा पीडितले आफन्तको घर, टहरा र छोराछोरीको डेरामा यसपटकको दसैँतिहार मनाएका छन् ।

छिमेकी बचाउन जाँदा आफ्नो परिवारका सबै सदस्य गुमाउनुभएका डुकुमान स्याङ्तान अहिले ठूलो बुवाको छोरा जिरामान स्याङ्तानको घरमा आश्रय लिएर बस्नुभएको छ । परिवारका सबै सदस्य गुमाएर एक्लै बाँच्नुभएका डुकुमानलाई दसैँतिहारको उमङ्गभन्दा पनि परिवारका सदस्या गुमाउँदाको पीडाले विछिप्त बनाएको छ । कसैसँग राम्रोसँग कुरा गर्नसमेत नसक्ने अवस्थामा डुकुमान पुगेको उहाँका दाजु जिरामानले बताउनुभयो । “खानपिन पनि त्यति ध्यान दिएर खाँदैन, आफ्नै सुरको कुरा गरिरहन्छ, हिँडिरहन मात्रै खोज्छ”, उहाँले भन्नुभयो ।

बाढीपहिरो आएको दिन आफ्नो घर सुरक्षित ठानेर राति १ बजेतिर सुतिरहेका श्रीमती, दुई छोरा र छोरीलाई छोडेर घरभन्दा ५० मिटर तल रहेका सात घरमा बाढी पस्न थालेको देखेर छिमेकीको उद्धार गर्न तल झर्नुभएका डुकुमानले उद्धारमा खटिरहेका बेला आफ्नो परिवारको भने उद्धार गर्न पाउनुभएन् । अरुलाई सुरक्षित स्थानमा ल्याइसकेको डुकुमानले आफ्नै घर माथिबाट झरेको पहिरोले परिवार र घर पुर्न थालेको देख्नुभयो, तर उहाँ घर पुग्नै पाउनुभएन ।

“पहिरो यति तीव्र गतिमा झर्‍यो कि उहाँ पुग्नुअघि उहाँको घर पुर्यो । गुहार माग्यो, चिच्यायो अनि थचक्क भुँइमा बसेर रुनुको विकल्प भएन् । उसले कसैलाई बचाउन सकेन्”, दाजु जिरामानले भन्नुभयो ।

डुकुमानको श्रीमती राममाया स्याङ्तान, जेठा छोरा १४ वर्षीय अजय, ११ वर्षीय सुवास र नौ वर्षकी छोरी सलिनालाई पहिरोले पुर्यो । खोलाका किनारैकिनार तलैसम्म पुगेर छिमेकीहरूले बेपत्ता चारैजनाको खोजी गरे पनि फेला पार्न सकेनन् । चारैजना कहीँकतै जिउँदै भेटिने आश उहाँलाई थियो । असोज १२ गते दिउँसो करिब ३ बजेतिर श्रीमतीसहित दुई छोरा र एक छोरी एकैठाउँमा पुरिएको अवस्थामा फेला पर्नुभयो ।

“भर्‍याङमुनि चारैजना एकैठाउँमा थिचिएको अवस्थामा भेटियो, “श्रीमती राममायाले उद्धार माग्दै हात उठाएको देखिन्छ”, दाजु जिरामानले भन्नुभयो । परिवारका पाँचमध्ये डुकुमान एक्लै जीवित हुनुहुन्छ । उहाँका बुबा, आमा र दाइको पहिल्यै मृत्यु भइसकेको छ । उहाँ तीन वर्ष वैदेशिक रोजगारमा बसेर छ महिनाअघि मात्र स्वेदश फर्कनुभएको थियो ।

डुकुमानलाई आश्रय दिएर राखिरहनुभएका जिरामानको सात रोपनीभन्दा बढी खेत बढीले बगाएर नष्ट गरेको छ । “आफ्नो भएको त्यही खेत हो, सबै बगाएर सखाप पार्यो । अन्न उब्जाउ हुने ठाउँ छैन”, उहाँले दुखेसो पोख्नुभयो ।

बाढीपहिरोबाट विस्तापित बुद्धिमान स्याङ्तानको परिवार उच्च शिक्षा अध्ययनका लागि काठमाडौँ रहेका छोराछोरीको डेरामा बसिरहनुभएको छ । “अब बस्ने ठाउँ पनि रहेन, अर्को व्यवस्था तत्कालै हुने अवस्था पनि देखिएन, त्यसैले छोराछोरीको डेरामा केही समय बस्न गएका छौँ”, माइती आउनुभएकी बुद्धिमानकी श्रीमतीले भन्नुभयो ।

मानिखेलमा छको मृत्युु, दुई बेपत्तागरी आठ जनाको परिवारलाई जिल्ला प्रशासन कार्यालयबाट रु दुई लाखका दरले उपलब्ध गराएको महाँकाल गाउँपालिकाका प्रवक्ता एवं वडा नं २ मानिखेलका अध्यक्ष जोनीकुमार न्यासुरले बताउनुभयो ।

“मृतकका परिवारलाई सङ्घीय सरकारले दिने रकम सम्बन्धित परिवारलाई दिइसकेका छौँ । सङ्घीय सांसद उदयशम्शेर राणाले रु २० हजार र पूर्वमन्त्री मोहनबहादुर बस्नेतको पहलमा रु २५ हजार पनि उहाँहरुले पाइसक्नुभएको छ, स्थानीय सरकारले दिने रु १५ हजार राहत केही दिनमा उपलब्ध गराउनेछौँ”, अध्यक्ष न्यासुरले भन्नुभयो, “पुनर्वासका लागि वडा नं २ मानिखेलको टुटुवा डाँडामा व्यवस्था मिलाउने गरी पालिकाबाट निर्णय भएको छ । उक्त निर्णय विभिन्न निकाय हुँदै मन्त्रिपरिषद्बाट पारित भएपछि स्थायी संरचना निर्माण गरेर त्यहाँ सार्ने व्यवस्थाका लागि लागेका छौँ ।”

वडाध्यक्ष न्यासुरका अनुसार ठोट्ने खोलाका २९, लक्ष्यबासका तीन र मानिखेलबेंसीका छ परिवार गरी ३८ परिवार विस्थापित भएका छन् । “त्रिपालमुनि बस्नुपरेको अवस्था चाहिँ छैन, कोही आफन्तकामा, कोही गोठमा र कोही अध्ययनका लागि उपत्यकामा रहेका आफ्ना छोराछोरीको डेरामा बसिरहेका छन्”, उहाँले भन्नुभयो ।

वडा नं ३ गोटीखेलका अध्यक्ष मनोजकुमार पराजुलीका अनुसार वटा नं ३ मा चार जनाको मृत्यु र १९ परिवारको घरबार पूरै नष्ट गरेको छ । अरु ५२ घर अतिप्रभावित भई बासिन्दालाई विस्थापित बनाएको छ । “खाद्यान्न भाँडाकुँडा र कपडा प्रत्येकले पाएका छन्, पुनर्वासका लागि व्यवस्था गर्ने काम हुँदैछ । विस्तृत विवरण पूरा नभएका कारण स्थानीय तहले दिने राहत दिन बाँकी छ, एकरदुई दिनमा वितरण गर्नेछौँ”, उहाँले भन्नुभयो ।

विस्थापितको पुनर्वासका लागि स्थानीय तहले गरेको निर्णयअनुसार जिल्लाका सरोकार भएका सम्बन्धित सबै कार्यालयसँग समन्वयमा काम अगाडि बढिरहेको जिल्ला समन्वय समितिका प्रमुख ऋषिदेव फुयाँलले बताउनुभयो ।

“विस्तापितलाई सुरक्षित स्थानमा बसाउने व्यवस्थाका लागि हामी लागिरहेका छौँ । उहाँहरुलाई बासस्थान निर्माण गर्न कम्तीमा आठ आना जग्गाको व्यवस्थापन गर्नुपर्छ, यसका लागि स्थानीय तहले सुरक्षित ठाउँ पहिचान गरेर निर्णय सिफारिस गरिसकेको छ । अब जिल्ला प्रशासन कार्यालय हुँदै मन्त्रिपरिषद्बाट निर्णय भएपछि यो कामले मूर्तरुप पाउनेछ”, प्रमुख फुयाँलले भन्नुभयो ।

महाँकाल गाउँपालिकामा बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १३ छ । जिल्लामा बाढीपहिरोले सबैभन्दा बढी क्षति पुर्‍याएको यस पालिकालाई ललितपुर महानगरले रु ५० लाख राहतस्वरुप उपलब्ध गराउने निर्णय गरिसकेको छ भने बागमती प्रदेश सरकारले यही कात्तिक २ गते शुक्रबार बसेको बैठकको निर्णयले अतिप्रभावित स्थानीय तह घोषित गरी रु ७५ लाख उपलब्ध गराउने निर्णय गरेको छ । रासस