१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं जिल्ला प्रशासनको नियमित कार्य मंसिर ३ बाट मात्र हुने



अ+ अ-

काठमाडौं । कोरोना महामारीका कारण हाल बन्द रहेका नागरिकता वितरणलगायतको सेवा जिल्ला प्रशासन कार्यालय काठमाडौंले  मंसिर ३ गतेदेखि मात्र दिने भएको छ । सो कार्यालयले आगामी मंसिर ३ गतेबाट मात्र दिने गरी कार्यालय खुला गरिने जानकारी आज सूचना प्रकाशन गरेर जानकारी दिएको हो । 

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई नै कोरोना संक्रमण भएको थियो । कोरोना महामारीको जोखिम उच्च रहेको र कार्यालयका कर्मचारीमा समेत कोरोना संक्रमण देखिएको भन्दै सो कार्यालयले गएको असोजको अन्तिमदेखि नै कतिपय सेवा स्थगित गरेको छ ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले बिहीबार सूचना प्रकाशित गरेर नयाँ नागरिकता, नागरिकताको प्रतिलिपी, नावालिग परिचयपत्र, राहदानी हतियार दर्ता तथा नवीकरण जस्ता सेवा मंसिर ३ गतेदेखि खुला गर्ने जानकारी दिएको हो । 

मंसिर ३ गतेबाट सो कार्यालयले यस जिल्लाका स्थानीय तहहरुलाई बार अनुसार बाँडेर निश्चित बार निश्चित मात्र स्थानीय पालिकाको मात्र सेवा दिने गरी सूचना प्रकाशन गर्ने पनि बताइएको छ । जसअनुसार आइतबार काठमाडौं महानगरपालिकाको वडा नं १ देखि ११ सम्मका बासिन्दाले, सोमबार कीर्तिपुर, नागार्जुन र चन्द्रागिरि नगरपालिकाका वासिन्दाले सेवा पाउनेछन् ।

त्यस्तै मंगलबार काठमाडौं महानगरपालिकाको वडा नं १२ देखि २१ सम्मकाले, बुधबार बुढानीलकण्ठ, टोखा र कागेश्वरी मनोहरा नगरपालिका, बिहीबार काठमाडौं महानगरपालिकाको वडा नम्बर २२ देखि ३२ सम्मकाले र शुक्रबार गोकर्णेश्वर, दक्षिणकाली, शंखरापुर र तारकेश्वर नगरपालिकाका वासिन्दाले सेवा पाउनेछन् ।

यस बाहेकका कार्यालयले दिनुपर्ने अन्य सेवाहरु जस्तै पत्रपत्रिका, संघ संस्था दर्ता र नवीकरणसम्बन्धी सेवा पनि बार अनुसार बर्गीकरण गरेर दिइने कार्यालयले सूचनामा उल्लेख गरेको छ । संघसंस्था दर्ताको काम सोमबार र बुधबार, संघसंस्था नवीकरण आइतबार, मंगलबार बिहीबार र पत्रपत्रिका, छापाखाना दर्ता र विधान संशोधन शुक्रबार मात्र हुनेछ । प्रतिलिपी पत्राचार सेवा प्रत्येक दिनको ४ बजेपछि दिनेछ ।

उता मुद्धामामिलासम्बन्धी तथा शान्ति सुरक्षासम्बन्धी कार्यहरु भने सम्बन्धित विषयमा हुनुपर्ने समन्वय र छलफलका साथै विपद व्यवस्थापनसम्बन्धी कार्यहरु भने यस कार्यालयले सबै दिन दिनेगरी व्यवस्था गरेको छ ।