१२ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढी : रुकुम पश्चिमका १५ जना सम्पर्कविहीन आवश्यकता परेको खण्डमा परराष्ट्र मन्त्रालयको च्यानलमार्फत वैदेशिक सहयोग परिचालन गर्छौं– सरकार चीनको सिजाङमा पहिरोः उद्धार टोली अति प्रभावित क्षेत्रमा पुग्यो बाढी–पहिरो पीडितको राहतका लागि प्रवासी नेपाली मञ्चले २० लाख दिने रसुवा बाढीपीडितका लागि हेटौँडा स्कूल अफ म्यानेजमेन्टले २० लाख सहयोग ड्याम फुटेको होइन, ग्ल्यासियर फुटेर लेदोसहितको पानी ओभरफ्लो : सरकार बाढीपीडितलाई सुदूरपश्चिम प्रदेश सरकारको दुई करोड सहयोग बाढीपीडित र प्रभावित क्षेत्रका लागि आर्थिक प्याकेज घोषणा गरिने भोटेकोशी बाढीपछि शव खोजी तीव्र, रसुवादेखि चितवनसम्म १२०० सैनिक परिचालन प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सबै सदस्यले एक महिनाको तलब विपद् कोषमा जम्मा गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनाङमा फस्टाउँदै बेमौसमीखेती



अ+ अ-

मनाङ : खेतीपाती तथा कृषिका लागि दुर्गम मानिने हिमाली जिल्ला मनाङ फेरिँदै गएको छ । कृषि पकेट क्षेत्र तोकिएका अन्य स्थानमा जस्तै व्यावसायिक रूपमा विभिन्न प्रजातिका अन्न र कृषिउपज उत्पादन हुन थालेका छन् । यहाँ विभिन्न प्रजातिको तरकारी उत्पादन हुन थालेपछि लमजुङ हुँदै अन्यत्र निकासी गर्न थालिएको छ ।

समुन्द्री सतहदेखि दुई हजार सात सय मिटर उचाइमा अवस्थित सदरमुकाम चामेमामात्र नभई तीन हजार पाँच सय ४० मिटर उचाइमा पर्ने ङिस्याङ गाउँपालिकामा बन्दाकोपी, गाँजर, मूला, गोलभेँडा, रायोलगायत बेमौसमी तरकारी उत्पादन हुन थालेको छ ।तरकारी उत्पादन हुन थालेपछि आन्तरिक खपतसँगै निकासी गर्न थालिएको र आयात प्रतिस्थापन सम्भव हुन थालेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

मनाङका चारवटै पालिकामा एक दशकयता टनेलखेतीको अभ्यास हुँदै आएको छ । यसले किसान र स्थानीय बासिन्दालाई उत्साहित बनाएको छ । अर्कोतर्फ चिन्ता पनि बढाएको छ । विश्वव्यापी तापक्रम वृद्धिले हिमपात कम भएर रैथाने बालीनाली लोप हुने अवस्थामा पुगेको छ । रैथाने बालीनालीको स्वाद र गुणस्तर खस्किँदै गएको किसानको चिन्ता छ ।

पर्यटन व्यवसायी समिति मनाङका अध्यक्ष विनोद गुरुङ भन्नुहुन्छ, “पहिले टनेलमा तरकारीखेती गरिन्थ्यो । बाहिरबाट आयात गर्नुभन्दा यही थोरै भए पनि उत्पादन गर्ने गरेका थियौँ । अहिले टनेलबिना तरकारी उत्पादन हुन थालेको छ ।” उहाँका अनुसार हाल माथिल्लो मनाङमा  टनेलबिना बन्दाकोपी, काउली, गोलभेँडा, गाँजर, मूला, धनियाँलगायत तरकारीखेती हुँदै आएको छ ।

नासों गाउँपालिका–८ ताचैका सोलबहादुर गुरुङ भन्नुहुन्छ, “अहिले त स्याउ मात्रै तीन÷चारथरी फल्न थालेको छ । पहिला जस्तो हिउँ पर्दैन । पानी र गर्मी अलि बढ्न थालेको छ । यस्तो हुँदा स्याउसहित अन्य बालीको स्वाद फेरिँदै गएको छ ।” आलुको स्वाद पहिलेको जस्तो नरहेको उहाँको अनुभव छ ।

स्याउ, मकै, भटमास, आलु, जौ, उवा, करु, फापर, गहँु, कोदो, राजमा जस्ता कृषिउपज मनाङका रैथाने बालीनाली हुन् । समयअगावै फूलफूल र अन्नबाली पाक्न थालेको अनुभव स्थानीयवासीले गर्न थालेका छन् । मनाङका अधिकांश किसान परम्परागत खेतीपाती छाड्दै व्यावसायिक स्याउखेतीतर्फ आकर्षित हुन थालेका छन् ।

रैथाने बाली हराउँदै जाने र गुणस्तर खस्किने चिन्ता बढ्न थालेसँगै कृषि ज्ञान केन्द्रले अनुदानसहितका सचेतना कार्यक्रम प्राथमिकतामा राखेको केन्द्र प्रमुख मदन रेग्मी बताउनुहुन्छ ।

जलवायु परिवर्तनको प्रभावले बालीनालीको उत्पादन र गुणस्तरमा प्रभाव पारिरहेको बताउँदै उहाँले भन्नुभयो, “रैथाने बालीको बीउ जोगाउन, परम्परागत खेतीलाई प्रोत्साहन गर्न हामी स्थानीय तहसँग सहकार्यमा जुटेका छौँ ।”

मौसम परिवर्तनले कतिपय पुराना बालीको उत्पादकत्व घट्न थालेको अनुभव सुनाउने आगन्तुकले विकल्प खोज्दै आफ्ना भेगमा नयाँ फल÷बिरुवातर्फ चासो लिने गरेको केन्द्रकी बागवानी विकास अधिकृत शोभा शर्माले बताउनुभयो । “विगतमा स्याउ राम्रोसँग नफलेका ठाउँमा तापक्रम अनुकूल हुँदा फल राम्रो लाग्न थालेपछि स्याउका बिरुवाको माग बढ्न थालेको छ”, शर्माले भन्नुभयो । रासस