• २ आश्विन २०८१, बुधबार
  •      Wed Sep 18 2024
  •   Unicode
Logo

सहिद तथा बेपत्ता परिवारलाई सम्मान र परिपूरणको ढोका खुल्यो: अध्यक्ष प्रचण्ड



कास्की । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले सङ्क्रमणकालीन न्यायसम्बन्धी (टिआरसी) विधेयक संसद्का दुवै सदनबाट पारित भएपछि सहिद तथा बेपत्ताका परिवारलाई सम्मान र परिपूरणको ढोका खुलेको बताउनुभएको छ ।

सहिद तथा बेपत्ताका परिवारसँगको भेटमा आज पोखरामा उहाँले लामो समयको मेहिनतपछि टिआरसी विधेयक टुङ्गो लागेको बताउनुभयो ।

अध्यक्ष दाहालले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक पारित भएसँगै बेपत्ता योद्धाका बारेमा आयोगले छानबिन गर्ने र अब अवस्था पत्ता लगाउन धेरै समय नलाग्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “सहिदका लागि मात्र होइन, बेपत्ता योद्धाको अवस्था पत्ता लगाउने बाटो खुलेको छ । आयोगले छानबिन गर्छ, अब धेरै समय लाग्दैन । बेपत्ताले पनि सहिदको सम्मान र परिपूरण पाउँछन् ।”

माओवादी केन्द्रको नेतृत्वमा रहेको अघिल्लो सरकारले जनयुद्धका सबै सहिदलाई राष्ट्रिय सहिद घोषणा गरेर राजपत्रमा प्रकाशित गरेको बताउनुभयो । “अरु सबै सहिद हुने, जनयुद्धका सहिद राष्ट्रिय सहिद नहुने, यसले तपाईं हामी सबैलाई टेन्सन थियो । त्यो पनि यो पटक सरकारले सबैलाई राष्ट्रिय सहिद घोषणा मात्रै गरेको होइन, राजपत्रमै प्रकाशित गरियो । सबै सहिद राष्ट्रिय सहिदको दर्जामा जानुभयो”, अध्यक्ष दाहालले भन्नुभयो ।

बेपत्ता योद्धा परिवार कास्कीका अध्यक्ष अणनाथ बरालले बेपत्ता भएकाको अवस्था लामो समयसम्म पत्ता लाग्न नसक्दा आफूहरू अहिले पनि पीडामा रहेको बताउनुभयो । “हाम्रा परिवारका सदस्यको अवस्था अहिलेसम्म पनि हामीलाई केही थाहा हुन सकेन । हामीले जातीय परम्परा अनुसारको कर्म गर्न पाएका छैनौँ । परिवार पीडामा बाँचिरहेका छौँ”, उहाँले भन्नुभयो ।