९ भाद्र २०८३, मंगलवार
,
Latest
हर्मुजमा छ महिनामा ६८ समुद्री घटना सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना पुरुष क्रिकेटः मलेसियाले नेपाललाई दियो २३३ रनको लक्ष्य कांग्रेसको विवाद समाधान महाधिवेशन रोक्नु होइन, विश्वसनीय बनाउनु हो : देवराज चालिसे फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, यसमा संघीय सरकार गम्भिर बन्नुपर्छः मेयर महर्जन आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै पाँचवर्षे कार्ययोजना अघि बढाइएको छ : अर्थमन्त्री वाग्ले नुवाकोटको किस्पाङ गाउँपालिकाकाे भेडा फार्म : पर्यटकको आकर्षणदेखि बरुवाल भेडाको संरक्षणसम्म प्रधानमन्त्रीकाे चस्माबारे सांसद शाहीको टिप्पणी : ‘कालो होस् कि सेतो, काम गरे भइहाल्यो’ वर्षासँगै देशभरका विभिन्न सडकखण्ड अवरुद्ध स्वर्णजयन्ती विशेष ‘नाडा अटो साे २०२६’ काठमाडौँमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आलुमा आत्मनिर्भर बनाउन साढे नौ टन बीउ वितरण



अ+ अ-

दमौली । आलुमा आत्मनिर्भर बनाउन तनहुँको व्यास नगरपालिकाले जिल्लाका विभिन्न कृषक समूहलाई आलुको बीउ वितरण गरेको छ । बीउ आलुमा आत्मनिर्भर बनाउने उद्देश्यसहित नगरपालिकाले साढे नौ टन आलुको बीउ वितरण गरेको हो । काभ्रेबाट जनकदेव र डिजिरे आलुको बीउ ल्याएर कृषक समूहमार्फत वितरण गरिएको नगरपालिकाका कृषि शाखा प्रमुख विश्वराज वाग्लेले जानकारी दिनुभयो । निर्वाहमुखी खेती प्रणालीको अन्त्य गरी सामूहिक खेतीमा किसानलाई प्रोत्साहन गर्न आलुको बीउ वितरण गरिएको वाग्लेले बताउनुभयो ।

हरेक वर्ष बाहिरी जिल्लाबाट बीउ ल्याएर वितरण गर्नुभन्दा पनि नगरपालिकाभित्रै आलुको बीउ उत्पादनका लागि ११ वटा समूहलाई बीउ वितरण गरिएको उहाँले बताउनुभयो । “सधैं बाहिरी जिल्लाबाट ल्याएर वितरण गर्दा आत्मनिर्भर बनाउन सकिएन, अब नगरपालिकाभित्रै आलुको बीउ उत्पादन गर्ने र यहीँ उत्पादन भएको बीउ कृषकलाई वितरण गर्ने लक्ष्य छ”, उहाँले भन्नुभयो । नगरपालिकाले अहिले वितरण गरेको आलुको बीउ उत्पादन भएपछि पहिलो पटक बिक्री गर्न पाइँदैन । उत्पादित आलुलाई चिस्यान केन्द्रमा राखेर अर्को वर्ष मात्रै वितरणको तयारी गरिएको छ । “बीउका लागि उत्पादन भएको आलु पहिलो पटक खानका लागि प्रयोग हुँदैन, उक्त आलु नगर क्षेत्रभित्रका अन्य कृषकलाई वितरण गर्छौं”, उहाँले भन्नुभयो ।

बीउ उत्पादनका लागि व्यास–५ स्थित सिन्धु सहकारी र हरियाली कृषक समूहलाई ३०÷३० क्विन्टल आलु वितरण गरिएको छ । हरियाली कृषक समूहका अध्यक्ष रविचन्द्र आचार्यले समूहमार्फत १० रोपनी क्षेत्रफलमा आलुको बीउ लगाउने तयारी गरिएको जानकारी दिनुभयो । “यसअघि सहकारीका सदस्यलाई मात्रै आलुको बीउ उत्पादन गर्ने गरेका थियौं, अब अन्य कृषकलाई पनि लक्षित गरी आलुको बीउ उत्पादनका लागि नगरपालिकाले बीउ उपलब्ध गराएको छ”, उहाँले भन्नुभयो ।

नगरपालिकाले खाने आलु वितरणका लागि भने वडा कार्यालयलाई जिम्मा दिएको छ । कृषकलाई वितरणका लागि दुई पटकसम्म बोलपत्र आह्वान गरे पनि कसैले बोलपत्र नभरेका कारण वडा कार्यालयमार्फत नै आलुको बीउ वितरणको जिम्मा दिइएको कृषि शाखाले जनाएको छ । “वडा कार्यालयलाई आलुको बीउ वितरणका लागि पैसा पठाएका छौँ, वडा कार्यालयले आफैँले खरिद गरेर कृषकलाई वितरण गर्नेछन्”, वाग्लेले भन्नुभयो । 

नगरपालिकामा करिब ६०० रोपनी क्षेत्रफलमा आलुखेती हुने गरेको छ । आलुमा अनुदान दिन थालिएपछि यहाँका कृषक यसतर्फ आकर्षित हुँदै गइरहेका छन् । 




भर्खरै