अमेरिका । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी एप्पलले आइफोनको उत्पादन बढाउने योजना बनाइरहेको छ । कम्पनीले आगामी वर्षको पहिलो अर्धवार्षिक अवधिमा ९ करोड ६० लाख थानसम्म आइफोन उत्पादन गर्ने योजना बनाएको भन्दै निक्केईले मंगलबार समाचार छापेको हो । यो यस वर्षको सोही अवधिको तुलनामा करीब ३० प्रतिशत धेरै हुनेछ ।
कम्पनीले आपूर्तिकर्ताहरुलाई करीब ९ करोड ५० लाखदेखि ९ करोड ६० लाख थानसम्म आइफोन बनाउन भनेको छ । यसमा आइफोन १२ का साथै आइफोन ११ र आइफोन एसई लगायत मोडलहरु समेत भएको समाचारमा भनिएको छ । मुख्य पार्टस्हरुको अभावले यो लक्ष्य हासिल चुनौती हुन सक्ने स्रोतहरुलाई उद्धृत गर्दै समाचारमा भनिएको छ । सन् २०२१ मा कम्पनीले २३ करोड थानसम्म आइफोन आपूर्ति गर्ने योजना बनाएको छ । यसमा नयाँ र पुराना सबै मोडलका आइफोन हुनेछन् ।