६ पुष २०८२, आईतवार
,
Latest
वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ? नोरा फतेहीको कार गम्भीर दुर्घटनामा पर्यो ओढारमा रात कटाउनुपर्ने अवस्थाको अन्त्य चिसोले गरिब बस्तीको जनजीवन कष्टकर तेस्रो टेस्टमा इङ्गल्याण्डलाई ८२ रनले पराजित गर्दै अष्ट्रेलियाले लगातार पाँचौं पटक एशेज उपाधि जित्यो भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसले छोरीको खेल हेर्न पाउनु भएन…



अ+ अ-

देवल । गएको शुक्रबार श्रीलङ्काको रनगिरी डम्बुल्ला इन्टरनेशनल स्टेडियममा एसिया कप महिला क्रिकेट चलिरहेको थियो । नेपाली समयअनुसार दिउँसो २:१५ बजेबाट सुरु खेलमा नेपाल र युएईबीच प्रतिस्पर्धा थियो । खेलमा नेपालका तर्फबाट उत्कृष्ट ब्याटिङ गरिरहनुभएको थियो, बझाङकी सम्झना खड्काले । उहाँको खेल प्रदर्शनले नेपाली क्रिकेटप्रेमीहरुको मन जितिरहेको थियो ।

तर, जय पृथ्वी नगरपालिका–९ बझाङमा रहनुभएका उहाँका बुबाआमा भने उक्त खेलबारे अनभिज्ञ हुनुहुन्थ्यो । खेल चलिरहँदा बुवा देवेन्द्रबहादुर र आमा कालीदेवी खड्का लेकतिर पणीतोलामा घेराबारको काम गरिरहनुभएको थियो । उहाँहरुलाई छोरीले क्रिकेट खेल्छिन् भन्ने मात्रै थाहा थियो । अघिल्लो साँझ भोलि छोरीको खेल छ भन्ने चर्चा भएको थियो ।

तर, भोलि कति बेला खेल्ने, कता हेर्ने टुङ्गो थिएन । बिहानको खाना खाएर बुवा आमा लेकतिर जानुभयो । सम्झनाका भाइहरूले जयपृथ्वी नगरपालिकाको हलमा खेल हेर्ने अवसर पाउनुभयो । “दिनभर घरमा बसेर केही हुन्न । घरमा छोरीको खेल हेर्नलाई केही माध्यम भएन । त्यसैले हामी लेकतिर गयौँ,” सम्झनाका बुवा देवेन्द्रले भन्नुभयो, “पछि छोरीले राम्रो खेली भनेर फोनमा खबर पाएपछि मोबाइलमा छोरीको खेल हेर्‍यौँ ।”

खेल खासै नबुझे पनि राम्रो खेलेको थाहा पाउँदा बुवाआमा खुसीले दङ्ग हुनुहुन्छ । छोरीलाई जागिरका लागि दबाब दिइरहेको खड्का परिवार आजभोलि खेल खेलेर नाम कमाएकोमा खुसी छ । “घरका कसैले त जागिर खानुपर्छ भनेर अनमी पढायौँ । पढाइ सकेर जागिर पनि खान थाली । बीचमै जागिर छोडेर खेलतिर लागि । त्यो बेलामा घरमा कसैलाई चित्त बुझेको थिएन । आजभोलि अरुले फलानाका छोरीभन्दा निकै खुसी लाग्छ”, बुवा देवेन्द्रले भन्नुभयो ।

पहिलो खेलमा सम्झनाले युएईविरुद्ध नेपाललाई जित दिलाउनुभएको थियो । उहाँले ४५ बलमा ११ चौकासहित ७२ रन बनाउनुभयो । सम्झना खेलको प्लेयर अफ दि म्याचसमेत बन्नुभएको थियो । त्यसपछि उहाँको चर्चा चुलियो । उहाँलाई नचिन्नेले चिन्ने अवसर पाए । उहाँलाई जिल्लामै प्रशिक्षण गर्ने सुरेन्द्र सिंह र प्रविन्द धामीको पनि चर्चा भयो ।

किशोरावस्था प्रवेशसँगै क्रिकेट खेल्न थाल्नुभएकी सम्झनालाई सफलता मिल्दै गएपछि परिवारमा खुसी छाएको उहाँका दाजु नवीन खड्काले बताउनुभयो । सम्झनालाई मोजाको बलले बलिङ गराउँदै १३ वर्षअघि सिंह र धामीले क्रिकेट खेल्न सिकाउनुभएको थियो । खेलमैदान नहुँदा बन्द विमानस्थलमा उनीहरु खेल अभ्यास गर्थे ।

त्यसै बेलादेखि बझाङमा क्रिकेट खेलको सुरुवात भएको थियो । खेल सिकेको छ महिनामै धामी र सिंहले सम्झनालाई बझाङको महिला टिम कप्तान बनाउनुभएको थियो । बिहान स्कुल जाने, स्कुलबाट फर्किएपछि घरायसी काम सकेर क्रिकेट खेल्ने उहाँहरुको दैनिकी भएको प्रविन्द धामी सम्झनुहुन्छ । उहाँले भन्नुभयो, “सम्झनालाई बझाङ टिमको कप्तान बनाएर जिल्लाबाट धनगढी, महेन्द्रनगर, बैतडीलगायतका ठाउँमा हुने क्षेत्रीय खेलमा सहभागी गराउथ्यौँ । पछि उसको खेल सुध्रिँदै गयो र राष्ट्रिय टिमबाटै खेल्ने अवसर मिल्यो ।”

त्यो बेलामा खेलको महत्व कसैले नबुझेको उहाँको अनुभव छ । “बहिनीहरु खेल्न जाँदा परिवारकै सदस्यले अवरोध गर्थे,” धामीले भन्नुभयो, “त्यो बेलामा कुनै दिन हाम्रा खेलाडी अन्तर्राष्ट्रिय रङगशालामा सबैको अगाडि देख्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो । अहिले आएर हाम्रो सपना पूरा भएको छ । त्यो बेलामा हामीसँग रिसाउनेहरुले अहिले बुझेका छन् ।”

सम्झना राष्ट्रिय टिमबाट खेल्न थालेको दुई वर्ष भयो । यसपटकको एसिया कपको दोस्रो खेल गरी उहाँले अन्तर्राष्ट्रियस्तरका प्रतियोगिताका १८ खेल खेलिसक्नुभयो ।

आइतबार भएको खेलमा नेपालले पाकिस्तानसँग लज्जास्पद हार व्यहो(यो । नेपाललाई पाकिस्तानले नौ विकेटले हरायो । नेपालले निकै आशा गरेकी खेलाडी सम्झनाले पाकिस्तानसँगको खेलमा उत्कृष्टता देखाउन सक्नुभएन । पाँच बल खेल्नुभएकी सम्झनालाई पाकिस्तानी कप्तान निदा डारको बलमा नाशरा सन्धुबाट मिडविकेटमा क्याच आउट हुनुभयो । मङ्गलबार भारतसँग भएको खेलमा नेपाल ८२ रनले पराजित भयो । जितसँगै भारत प्रतियोगिताको सेमिफाइनमा प्रवेश ग(यो भने नेपाल हारसँगै प्रतियोगिताबाट बाहिरियो ।

क्रिकेट खेलको चर्चा माझ सम्झनाका आमाबुवाले कुनैपनि खेलको प्रत्यक्ष प्रसारण हेर्न पाउनुभएन । “घरको टिभिमा आउँदैन । मोबाइल छैन । अरुले भनेको आधारमा छोरीले खेल जितेको/हारेको थाहा पाउँछौँ ।” उहाँका बुवा देवेन्द्रले भन्नुभयो । छोरीले जुनसुकै ठाउँमा पुगेपनि क्रिकेट खेलबाट गरिरहेको प्रगतिबाट उहाँको परिवार सन्तुष्ट हुनुहुन्छ ।रासस