२५ जेष्ठ २०८३, सोमबार
,
Latest
पशुचौपाया गुमाएका परिवारलाई राहत दिइने हर्क साम्पाङ ट्राफिक कारबाहीमा नागरिकले सुरक्षित र सम्मानजनक जीवनयापन गर्न पाउने वातावरण निर्माण गर्नु राज्यको प्रमुख दायित्वः आईजीपी कार्की काठमाडौं महानगरपालिका ‘सडकआश्रित मानवमुक्त’ घोषणा सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने अमेरिका–इरान युद्धको छायाँमा समूह ‘जी’ विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिका–इरान युद्धको छायाँमा समूह ‘जी’



अ+ अ-

काठमाडौं। अमेरिकासँग प्रत्यक्ष युद्धमा भए पनि अन्तत अमेरिकामा हुने विश्वकपमा इरानको सहभागिता निश्चित भएको छ । समूह ‘जी’ मा इरानले बेल्जियम, न्युजिल्यान्ड र इजिप्टसँग प्रतिस्पर्धा गर्नेछ । संयोगवश इरानका समूह चरणका सबै खेल अमेरिकामै छन् ।

१६ जुनमा न्युजिल्यान्ड तथा त्यसको ६ दिनपछि २२ जुनमा बेल्जियमविरुद्धका खेल इरानले लस एन्जलसमा खेल्नेछ भने समूहको अन्तिम खेल २७ जुनमा इजिप्टसँग सियाटलमा खेल्नेछ । मार्चसम्म इरानले समूह चरणका आफ्ना खेलहरु अमेरिकाबाट मेक्सिकोमा सार्न फिफासँग छलफल गरिरहेको थियो । तर, फिफाले पूर्वनिर्धारित तालिकाअनुसार नै खेलहरु हुने भनेपछि टोलीका खेलहरु अमेरिकामै हुने तय भए ।

इरान युद्ध सुरु हुनुभन्दा पहिला नै समूह ‘जी’ को एउटा खेललाई लिएर विवाद उठिसकेको थियो । इरान र इजिप्टबीच सियाटलमा हुने खेल एलजिबिटिक्यू समुदायले गौरवको रुपमा मनाउने सप्ताहमै पारिएको विषयलाई लिएर दुवै टिमले विरोध जनाएका थिए । दुवै टिमले फिफामा आफ्नो खेललाई ‘प्राइड म्याच’का रुपमा लिन खोजिएको विषयमा धार्मिक तथा सांस्कृतिक कारण देखाएर विरोध जनाएका थिए । इरानमा समलिंगी कृयाकलाप पूर्णत बर्जित छ । समलिंगीमाथि त्यहाँ मृत्युदण्ड समेत दिन सकिने कानूनी प्रावधान छ ।

इरान

युद्धका कारण इरान समूह ‘जी’ को मात्र नभई अमेरिकामा हुन लागेको विश्वकपकै आकर्षणको केन्द्र हो । एसियाली फुटबलको महारथी इरानको यो लगातार चौथो तथा समग्रमा सातौं विश्वकप हो । तर टोली अहिलेसम्म समूह चरणभन्दा माथि उठन सकेको छैन । फिफा विश्व वरियतामा हाल २१ औं स्थानमा रहेको इरान पूर्व खेलाडी अमिर घालेनोईको प्रशिक्षणमा छ । एसियाली छनोट प्रतियोगितामा इरानले एउटा मात्र खेल गुमाएको थियो ।

इरानका लागि १०२ खेलमा ५७ गोल गरेका मेहदी तारेमी टिमका कप्तान हुन् । एफसी पोर्टो र इन्टर मिलानबाट खेलिसकेका तारेमी अहिले भने ग्रिक क्लब ओलम्पियाकोससँग आबद्ध छन् । तारेमीसँगै बेल्जियमबाट व्यावसायिक फुटबल खेलिरहेका मिड्फिल्डर अलीरेजा जाहानबक्स इरानी टिमका हेर्न लायक खेलाडी हुन् । मार्चमा नाइजेरियाविरुद्धको एक मैत्रीपूर्ण खेलअघि राष्ट्रिय गानको समयमा इरानी खेलाडीले फेब्रुअरी २८ मा एक प्राथमिक विद्यालयमा भएको मिसाइल आक्रमणमा परि मृत्यु हुनेको सम्झनामा सानो गुलाबी र बैजनी रंगको झोला प्रदर्शन गरेका थिए । लस एन्जलसमा सुरुका दुई खेल खेल्ने इरानको प्रशिक्षण सिविर सुरुमा एरिजोनामा राखिने तय थियो । तर युद्धका कारण इरानले अमेरिकाबाट प्रशिक्षण सिविर मेक्सिकोमा सारेको छ ।

टिम इरान

गोलकिपरः अलीरेजा बेरानभान्ड (ट्रयाक्टर एफसी), सइद होसेन होसेइनी (सेपाहान), पायाम नियाजमान्ड (पेर्सेपोलिस)
रक्षकः ड्यानिअल इरी (मालाभान), इशान हाजसाफी (सेपाहान), सालेह हार्डानी (इस्टेघलाल), होसेन कानानी (पेर्सेपोलिस), सोजा खलिलजादेह (ट्रयाक्टर एफसी), मिलाद मोहम्मदी (पेर्सेपोलिस), अली नेमाती (फुलाद एफसी), रामिन रेजाइयान (फुलाद एफसी)
मिड्फिल्डरः रोउजबे चेश्मी (इस्टेघलाल), सइद इजातोलाही (शबाब अल आहली), मेहदी गाइदी (अल नासर), समान घोड्डोस (काल्बा एफसी), मोहम्मद घोर्बानी (अल वाहदा), अलिरेजा जहाँबक्स (एफसी डेन्डर), मोहम्मद मोहेबी (रोस्तोभ), अमिर मोहम्मद राजाघिनिया (इस्टेघलाल), मेहदी तोराबी (ट्रयाक्टर एफसी), एरिया युसेफी (सेपाहान)
फरवार्डः अली अलिपुर (पेर्सेपोलिस), डेनिस डार्गाही (स्ट्यान्डर्ड लिगे), अमिरहोसेन होसेनजादेह (ट्रयाक्टर एफसी), मेहदी तारेमी (ओलम्पियाकोस), शाहरियार मोघान्लोउ (काल्बा एफसी)
प्रशिक्षकः अमिर घालेनोइ

बेल्जियम

स्टार खेलाडीहरुको ठूलै समूह रहेको बेल्जियम कागजमा समूह ‘जी’ को सबभन्दा बलियो टिम हो । विश्वकपमा १५औं पटक सहभागिता जनाउने तयारीमा रहेको बेल्जियमको प्रतियोगितामा अहिलेसम्मको उत्कृष्ट नतिजा भनेको सन् २०१८ को रुस विश्वकपमा सेमिफाइनल पुग्नु हो ।
रुसमा टोली अन्तिम चारको खेलमा फ्रान्ससँग पराजित भएको थियो । पछि फ्रान्सले उक्त विश्वकपमा उपाधि उचालेको थियो । चार वर्षअघि कतारमा भने बेल्जियम समूह चरणबाटै बाहिरिएको थियो ।

बेल्जियमको टोलीमा उदीयमान खेलाडी म्यानचेस्टर सिटीका जेरेमी डोकु र नापोलीका भेट्रान मिड्फिल्डर केभिन डी ब्रुयनाजस्ता खेलाडीको साथ छ । तिघ्राको चोटबाट मुक्त भएर भर्खर मैदान फर्किएका डी ब्रुयनाले बेल्जियमका लागि ११७ खेलमा ३६ अन्तर्राष्ट्रिय गोल गरेका छन् । यो उनको चौथो विश्वकप हो । महिनौंदेखि ह्यामस्ट्रिङको चोटबाट पिरोलिँदै आएका नेपोलीकै स्ट्राइकर रोमेलु लुकाकु विश्वकपमा मैदान उत्रिने विषय अझै पक्का भइसकेको छैन । रुडी गार्सियाको प्रशिक्षणमा रहेको बेल्जियमले मार्चमा अमेरिकी भूमिमै अमेरिकालाई ५–२ को अन्तरमा पराजित गरेको थियो । टोलीले जुन १५ मा सियाटलमा इजिप्टसँग खेल्दै आसन्न विश्वकपको सुरुआत गर्नेछ ।

टिम बेल्जियम

गोलकिपरः थियाबाउट कोर्टोइस (रियाल मड्रिड), सेने लामेन्स (म्यानचेस्टर युनाइटेड) माइक पेन्डेर्स (रेसिङ स्ट्रासबर्ग)
रक्षकः टिमोथी कास्टाग्ने (फुलह्याम), जेनो डेबास्ट (स्र्पोटिङ लिस्बन), म्याक्सिम डी कुपर (ब्राइटन), कोनी डी विन्टर (एसी मिलान), ब्रान्डन मिचेले (क्लब ब्रुगे), थोमस म्युनियर (लिल), नाथान एनगोए (लिल), जोआक्विन सिइज (क्लब ब्रुगे), आर्थर थिएट (इन्ट्रयाक्ट फ्रयांकफर्ट)
मिड्फिल्डरः केभिन डी ब्रुयना (नापोली), एमाडोउ ओनाना (एस्टन भिल्ला), निकोलस रास्किन (रेन्जर्स), योउरी टेलेम्यान्स (एस्टन भिल्ला), हान्स भानाकेन (क्लब ब्रुगे), एक्सेल विट्सेल (जिरोना)
फरवार्डः चाल्र्स डी केटेलाइरे (एट्लान्टा), जेरेमी डोकु (म्यानचेस्टर सिटी), माटियास फर्नान्डेज पार्डो (लिल), रोमेलु लुकाकु (नापोली), डोडी लुकेबाकियो (बेन्फिका), डिएगो मोरेइरा (स्ट्रासबर्ग), एलेक्सिस सेलमेकर्स (एसी मिलान), लियान्ड्रो ट्रसार्ड (आर्सनल)
प्रशिक्षकः रुडी गार्सिया

इजिप्ट

तीन पटक विश्वकपमा सहभागी भइसके पनि इजिप्टले यसअघि प्रतियोगितामा एउटै खेल पनि जित्न सकेको छैन । पछिल्लो पटक सन् २०१८ मा धेरैले कप्तान मोहम्मद सालाहबाट ठूलो आशा राखेका थिए । तर, च्याम्पियन्स लिग फाइनलमा लागेको पाखुराको चोटका कारण उरुग्वेसँग १–० को हार भोगेको खेलमा उनी मैदान उत्रिनै सकेनन् । समूह ‘ए’ मा त्यसपछिका खेलमा पनि इजिप्ट आयोजक रुससँग ३–१ तथा साउदी अरेबियासँग २–१ को नतिजामा पराजित भयो । इजिप्टका लागि सर्वकालिन उच्च अन्तर्राष्ट्रिय गोलकर्ता होसाम हसनले विश्वकपमा प्रशिक्षकको रुपमा टोलीको नेतृत्व गर्नेछन् । उनले इजिप्टका लागि ६९ गोल गरेका थिए ।

उत्तर अमेरिकी विश्वकपमा पनि मोहम्मद सालाह आशा र चर्चाको केन्द्रमा हुनेछन् । आशा यसअर्थमा की उनी इजिप्सियन फुटबलले पाएको इतिहासकै सर्वोत्कृष्ट खेलाडी हुन् । चर्चा यसअर्थमा की उनले मार्चमै सिजनको अन्त्यसँगै लिभरपुल छोड्ने घोषणा गरिसकेका छन् । र, विश्वकपपछि सुरु हुने नयाँ सिजनमा सालाह कुन क्लबको जर्सीमा देखिने हुन् ? भन्ने प्रश्नले विश्वभरका फुटबलप्रेमीको ध्यान तानिरहेको छ । इजिप्टले मार्चमा मुस्लिमविरोधी हुटिङका कारण विवादित खेलमा स्पेनसँग गोलरहित बराबरी खेलेको थियो । लिभरपुलका लागि गालाटासरेविरुद्धको च्याम्पियन्स लिग खेल्ने क्रममा लागेको मांसपेशीको सामान्य चोटका कारण सालाह उक्त खेलमा मैदान उत्रिएका थिएनन् ।

टिम इजिप्ट

गोलकिपरः मोहमेद अल शेनावी (अल आहली), मोस्ताफा शोबेइर (अल आहली), अल मेहदी सोलिम्यान (जामालेक),
रक्षकः मोहमद हानी (अल आहली), तारेक एला (जेड), हाम्दी फते (अल वाक्रा), रामी राबिया (अल अइन), यासिर इब्राहिम (अल आहली), होसाम अब्देलमाग्विद (जामालेक), मोहमद अब्देलमोनेम (निस), अहमद फतोह (जामालेक), करिम हफिज (पिरामिड्स)
मिड्फिल्डरः मार्वान अतेया (अल आहली), मोहनाद लासिन (पिरामिड्स), नबिल इमाद (अल नाज्मा), महमुद साबेर (जेड), अहमद जिजो (अल आहली), इमाम असौर (अल आहली), मुस्तफा जिको (पिरामिड्स), महमुद ट्रेजेगुएट (अल आहली), इब्राहिम एडेल (नर्डजाइल्यान्ड), हामइसेम हसन (रियाल ओभिडियो)
फरवार्डः ओमार मामौस (म्यानचेस्टर सिटी), मोहम्मद सालाह (लिभरपुल), एक्टे अब्दल्लाह (इन्पी), हाम्जा अब्देलकरिम (बार्सिलोना)
प्रशिक्षकः होसाम हसन

न्युजिल्यान्ड

अमेरिका, क्यानाडा र मेक्सिकोले संयुक्त रुपमा आयोजना गर्न लागेको इतिहासकै सबभन्दा ठूलो विश्वकपमा सहभागी ४८ टिममध्ये न्युजिल्यान्ड फिफा वरियतामा सबभन्दा तल रहेको टिम हो । न्युजिल्यान्ड फिफाको पछिल्लो वरियताक्रमको ८५औं स्थानमा छ । ओसियानाको यो टोलीलाई सन् २०२२ देखि लगातार प्रशिक्षकको हैसियतमा डारेन बाजेलीले नेतृत्व गरिरहेका छन् । सन् १९८२ र २०१० मा विश्वकप खेलिसकेको न्युजिल्यान्ड समग्रमा प्रतियोगिताका लागि छानिएको यो तेस्रो पटक हो ।

टिमले पछिल्ला दुई सहभागितामा समूह चरण पार गर्न सकेको थिएन । न्युजिल्यान्डको टिममा सबभन्दा भरपर्दा खेलाडी ४५ अन्तर्राष्ट्रिय गोल गरेका कप्तान क्रिस उड हुन् । तर चोटका कारण उनले इङ्लिस प्रिमियर लिगको क्लब नटिङ्घम फरेस्टका लागि पछिल्लो पाँच महिनादेखि एउटै खेल खेल्न सकेका छैनन् । विश्वकपका लागि उनी निको हुनका लागि प्रयासरत छन् ।

टिम न्युजिल्यान्ड

गोलकिपरः म्याक्स क्रोकोम्बे (मिलवाल), एलेक्स पाउलसेन (लेचिया जिडान्स्क), माइकल वाउड (अकल्यान्ड)
रक्षकः टिम पायने (वेलिङटन फोनिक्स), फ्रान्सिस डी भ्रिस (अकल्यान्ड), टेलर बिन्डन (नटिङघम फरेस्ट), माइकल बक्साल (मिनिसोटा युनाइटेड), लिबेराटो काकासे (रेक्सह्याम), नान्डो पिज्नाकेर (अकल्यान्ड), फिन सर्मान (पोर्टल्यान्ड टिम्बर्स), कालान इलियट (अकल्यान्ड), टमी स्मिथ (ब्रेनट्री टाउन)

मिड्फिल्डरः जोए बेल (भाइकिङ एफके), माट गार्बेट (पिटरबोरो), मार्को एटामेनिच (स्वान्सी), सरप्रित सिंह (वेलिङटन फोनिक्स), एलेक्स रुफेर (वेलिङटन फोनिक्स), र्यान थोमस (पिइसी ज्वोले)
फरवार्डः क्रिस उड (नटिङघम फरेस्ट), इली जस्ट (मदरवेल), कोस्टा बाबारोउसेस (वेस्टर्न सिड्नी वन्डरर्स), बेन वाइने (पोर्ट भेल), बेन ओल्ड (सेन्ट इटेन), कालम म्याककवाट (सिल्कबर्ग आइएफ), जेसी रान्डल (अकल्यान्ड), लाचलान बेलिस (न्युक्यासल जेट्स)

प्रशिक्षकः डारेन बाजेली

समूह ‘जी’ खेलतालिका (नेपाली समयअनुसार)

– बेल्जियम विरुद्ध इजिप्ट, १६ जुन, बिहान ००ः४५ बजे, सियाटल रंगशाला (सियाटल)
– इरान विरुद्ध न्युजिल्यान्ड, १६ जुन, बिहान ०६ः४५ बजे, सोफी रंगशाला (लस एन्जलस)
– बेल्जियम विरुद्ध इरान, २२ जुन, बिहान ००ः४५ बजे, सोफी रंगशाला (लस एन्जलस)
– न्युजिल्यान्ड विरुद्ध इजिप्ट, २२ जुन, बिहान ०६ः४५ बजे, बिसी प्लेस (भ्यान्कोभर)
– इजिप्ट विरुद्ध इरान, २७ जुन, बिहान ०८ः४५ बजे, सियाटल रंगशाला, (सियाटल)

– न्युजिल्यान्ड विरुद्ध बेल्जियम, २७ जुन, बिहान ०८ः४५ बजे, बिसी प्लेस (भ्यान्कोभर)