४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

योगमाया जलसमाधि स्मृति दिवसः राष्ट्रिय विभूति बन्न नसकेकी योगमाया

योगमाया जलसमाधि स्मृति दिवसः राष्ट्रिय विभूति बन्न नसकेकी योगमाया
अ+ अ-

काठमाडौँ: आठ मार्च अर्थात् विश्व नारी दिवस नेपालमा पनि मनाउने गरिन्छ । त्यस्तै २५ नोभम्बरदेखि १० डिसेम्बरसम्म लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान पनि यहाँ राष्ट्रियस्तरबाट मनाउने गरिएको छ । यी दिवसकै अवसरमा नेपालका तीन तहका सरकारका साथै सरोकारवालाहरुले भव्य समारोह नै आयोजना गर्ने गर्दछन् । यस्ता दिवसहरु मनाउने क्रममा नेपालमा पनि रोजा लक्जमबर्ग, क्लारा जेटकिन, मिरावल परिवारका पेटिया, मिनर्भालगायत महिलाको नाम लिने गरिन्छ । उनीहरुले समाज रुपान्तरणमा निर्वाह गरेको भूमिकाको चर्चा राम्रैसँग हुने गर्दछ ।

विदेशी समाज सुधारक महिलाहरुको योगदानभन्दा पनि नेपालको सामाजिक रुपान्तरणमा लागेका महिलाको बलिदान, त्यागको चर्चा भने नेपालमा कमै मात्रामा हुने गर्दछ । यसले गर्दा नेपालमा यस्ता दिवसको उपलब्धि पनि कम हुने गरेको पाइन्छ । हामीले मनाउने गरेका दिवसहरुको प्रभावकारिता त्यतिबेला मात्र देखिन्छ जतिबेला दिवससँग सम्बिन्धित स्वदेशका यस्ता वीर तथा योद्धाहरुको योगदानको स्मरण गर्न सकिन्छ । यसो गर्न सकिएमा समाजको परिर्वतन र रुपान्तरण पनि अर्थपूर्ण हुन जानेछ र यसबाट परिवर्तित समाजको रुपान्तरणमा पनि दिगोपना स्थापित हुन जानेछ ।

नेपालको समाज रुपान्तरणको अभियानमा हामीले योगमायाको योगदानको मूल्याङ्कनलाई सही ढङ्गबाट गर्न सकेनौँ भने हाम्रा कुनै पनि अभियान तथा दिवसका कार्यक्रमहरुले सार्थकता नपाउन पनि सक्छन् । उनी निरक्षर भइकन पनि तत्कालीन समाजमा व्याप्त विभेद्, कुरीति, कुसंस्कार हटाउन खेलेको भूमिका शायदै विश्वका अन्य महिलाले निर्वाह गर्न सकेका छन् तर पनि योगमाया आज नेपालमै गुमनाम जस्तै छिन् । उनलाई अझै पनि यस्ता दिवसहरुमा शायदै सम्झने गरिएको छ । योगमाया यो देशको गरिमा र गौरव हुन् । त्यसैले उनी राष्ट्रिय विभूतियोग्य भए पनि आज पनि राष्ट्रिय विभूतिका रुपमा स्थापित गर्न सकेको अवस्था छैन । उनको योगदानलाई विश्वभर त के नेपाली जनजनमा समेत पु¥याउन सकिएको छैन ।

राणाशासनको चरम तानाशाहका समयमा जन्मेकी उनले नेपालमा नारी मुक्तिका लागि गरेको सङ्घर्ष, त्याग र बलिदानको चर्चा स्वदेशमा मात्र होइन संसारभरि नै पुग्नुपर्ने थियो । हामीले नै त्यो गर्न नसकेको स्पष्टै देखिन्छ । यसका कारण आज उनी बत्तीमुनिको अँध्यारोको अवस्थामा रहेकी छिन् । ‘यसै शताब्दीको सुरुमा पूर्वी नेपालमा एउटा असाधरण विद्रोह छेडिएको थियो । यस विद्रोहको नेतृत्व एकजना अत्यन्तै सङ्घर्षशील महिलाले गरेकी थिइन् । त्यस विद्रोहले तत्कालीन नेपालको राणाशासन र ब्राह्मणको हातमा रहेको शक्ति संरचनालाई सिधै चुनौती दियो र त्यस प्रकारको असाधारण विद्रोह र त्यसको नेतृत्व गर्ने व्यक्तिलाई नेपाली इतिहासमा कुनै स्थान नदिएर पूर्णरुपले विस्मृतिको अन्धकारमा छोडिएको छ तथा इतिहासमा स्मरणसम्म पनि गरिएको देखिएको छैन,’ समाज परिर्वतनका लागि असाधारण विद्रोह छेड्ने योगमायाको योगदानलाई छायाँमा पारिएको छ । मानवशास्त्री बारबारा निम्री अजिजले ‘शक्ति योगमाया सङ्घर्षशील नेपालीको एक परम्परा’ शीर्षकको आलेखमा योगमायालाई यसरी स्मरण गर्नुभएको छ । उनको योगदान र सङ्घर्षलाई अहिलेको पुस्ताले पनि थाहा पाउनेगरी कुनै काम राज्यले गरेको देखिँदैन ।

को हुन् योगमाया ?

हाम्रो सर्वाेच्च हिमालले पानी पिलाउँछ

अरुण वरुणको शान त्यहीँबाट आउँछ 

बाह्मण भई सबै चीजको बिक्री गरेको

मालिक भई दुःखीहरुको वृत्ति हरेको 

सामाजिक यथार्थ र समाजका विषयवस्तुलाई कविताका यी हरफबाट प्रस्तुत गर्ने व्यक्तित्व उनै योगमाया हुन् । उनको जन्म भोजपुर जिल्लाको षडानन्द नगरपालिका–१ नेपालेडाँडाको सिम्ले भन्ने ठाउँमा १९२४ असारमा भएको थियो । उनको पनि त्यो बेलाका आममहिला सरह सात वर्षमा बालविवाह भएको थियो । बालापन अनि बुहार्तन सहन उनले सकिनन् र घर बस्न नसकेपछि माइतीमा भागेर गइन् तर उनले माइतीमा समेत सहज जीवनयापन गर्ने अवस्था नदेखेपछि उनी आफूखुसी विवाह गरेर केही वर्ष भारतको आसाम फूलबारी आसपासको क्षेत्रमा बिताइन् । त्यहाँ उनलाई जीवन र जगत्का बारेमा धेरै प्रवचन सुन्ने अवसर पनि प्राप्त भयो र पुनः आफ्नै जन्मथलो फर्केर आइन् ।

नेपाल फर्केपछि उनले आफू सानो छँदा भोगेका पीडा, सामाजिक विभेदको जरो पहिल्याउने अभियान सुरु गरिन् । यससम्बन्धी केही ज्ञान उनले भारत बस्दा प्राप्त गरेकी थिइन् र त्यसैबमोजिमको अभियान उनले नेपालमा सुरु गरिन् । आसामलगायतका भारतका स्थानहरुमा रहँदा उनले विभिन्न साधुसन्तको प्रवचनबाट आफूले पनि केही गर्नुपर्छ भन्ने साहस भर्न सकेको महसुस गरेक थिइन् । महिला भएर पनि केही गर्न सक्छु भन्ने आँट, हिम्मत उनमा जागृत भएको थियो । नेपाल फर्केपछि उनले आफ्नो अन्तर्निहित क्षमतालाई विस्तारै खार्नेतर्फ उनी लाग्छिन् । योग साधनाबाट आफूलाई माझ्दै लैजाने उनको अठोट भयो र त्यसैमा लागिन् । बिस्तारै उनको साहित्यक प्रस्तुति पनि आउन थाल्यो र साहित्यका माध्यमबाट पनि नागरिकमा चेतना जागृत गर्न सकिन्छ भन्ने लाग्यो ।

उनले मुखाग्र कविताका मार्फत समाज रुपान्तरणको आवाज प्रस्फुटन गर्न थालिन् । उनले समाजको वास्तविकता कवितामार्फत पनि जनजनमा पु¥याउन लागिन् । उनले भोगेको तत्कालीन समाज जुन समयमा राणाशासनकोे दमन, कुरीति र कुसंस्कारको जालो मुलुकभर जेलिएको थियो, त्यसका विरुद्ध आवाज उठाउन लागि परिन् । उनले बाह्रमणवाद, वर्ग विभेद्, लैङ्गिक, सति प्रथा, दास प्रथा, बालविवाह, जातीय विभेदका सबै विभेदको अन्त्य, पुनर्विवाह, नारी शिक्षा, भ्रष्टाचार उन्मूलनलगायत २६ बुँदे मागसहित धर्मराज्यको स्थापनाको नारा बोकेर काठमाडौँका तत्कालीन राणा शासकसमक्ष पेस गरेकी थिइन् ।

कवितामार्फत देशको रुपान्तरण गर्ने तथा नारी अधिकारको स्थापना गर्ने अभियानमा लागेकी उनका कविताहरु पनि लोकप्रिय हुने गरेका थिए । उनकै कविता सङ्ग्रहबाट एक कविता यस्तो थियो–

दौलतीया हुनु भयो त्यही निर्धाबाट

आसामीले कर्जा तिर्यो तमसुक छ ठाडै

छोरो थियो बालक बाबु मरेछ

लोभी साहु माग्न गयो तिर्नु परेछ ।

यस्तो तत्कालीन समाजको बारेमा लेख्न सक्ने कवि योगमाया कवित्वको खानी हुन् ।  योगमायाले तत्कालीन समयमा राखेका विभिन्न मागमध्ये सती प्रथालाई १९७७ सालमा राणा सरकारले रोक पनि लगायो । दास प्रथालाई पनि हटाउने अभियान सरकारले चलायो । भनिन्छ, यस्ता कुप्रथा रोक्न योगमायाको योगदान सार्थक रहेको थियो । उनले सुरु गरेको अभियानबाट सरकारलाई पनि यस्ता कुरीतिहरु रोक्नका लागि सहयोग पुगेको थियो ।

माग पूरा गराउन सरकारलाई दबाब 

उनले राखेका माग पूरा गराउन पटकपटक आफ्ना अनुयायीका साथमा हिँडेरै काठमाडौँ पुगेकी थिइन् योगमाया । केही माग सरकारले पूरा गरे पनि तत्कालीन समयमा जनताले बोल्न पाउने अधिकार, सामाजिक विभेद्, पढ्ने अधिकारलगायत जनताको मौलिक अधिकारका लागि पनि त्यस समय समाजका विभिन्न क्षेत्रमा पनि केही अगुवाहरुले अभियान थालेका थिए । ती आन्दोलनको सुनवाइ हुनुपर्ने उनको माग थियो ।

सरकारले यस मागप्रति व्यवास्था गरे परिणाम नराम्रो आउने उनले धम्की पनि दिइरहन्थिन् । उनले सरकारले आफ्ना माग पूरा नगरेमा अनुयायीसहितको आफू पनि एकैपटक  आत्मदाह गर्ने योजना पनि सार्वजनिक गरिन् । १९९५ कात्तिक २६ गते भोजपुरकै उफ्रौलीटारमा विशाल यज्ञ आयोजना गरी त्यहाँको अग्निकुण्डमै आत्मदाह गर्ने तयारी उनले थोलेकी थिइन् । उनलाई सयौँ अनुयायीले साथ दिएका पनि थिए । सयौँ टिन घीउ, जौ, तिल, फलफूललगायतको व्यवस्था जुटाएको थियो । तर त्यसो हुन नदिई सरकारले त्यहाँ जुटेका अनुयायीहरुलाई पक्राउ गरेको थियो । उनी भने प्रहरी आउने बोध भएपछि त्यहाँबाट अन्यत्र लागेकी थिइन् । यज्ञको समापनका दिन पूर्णाहुतिका रूपमा यज्ञकुण्डमा प्रवेश गरेर अग्नि समाधि लिनुपर्छ भन्ने योगमायाको घोषणा अनुसार त्यसैबेला उनका दुई सय ४० जना अनुयायीले यज्ञकुण्डमा हामफाली प्राण त्याग्ने निर्णय गरेका थिए । तर त्यस दिन त्यो अभियान सफल हुन भने पाएन ।

सरकारले उनको माग सुनुवाई गर्नुको साटो देशद्रोही भन्दै चार शहीदलाई १९९७ सालमा हत्या गरेपछि उनी झन् बढी क्रान्तिकारी भएर सरकारको विरोधमा लागिन् । यो घटनाले झनै योगमायाको मन साहै कुडियो र उनलाई झन् बढी सरकारको विरुद्ध जाग्न मन लाग्यो । जनताले आप्नो अधिकार माग्दा ज्यानै लिनु घोर अन्याय हो भन्दै थप सामाजिक आन्दोलनका चरणहरु अगाडि बढाइन् ।

जलसमाधीमा जाने कठोर निर्णय

विसं १९९८ असार २२ गते हरिसयनी एकादशीको दिन थियो । वर्षाले अरुण नदी उर्लंदो थियो । योगमायाले सरकारलाई घुँडा टेकाउन जलसमाधि जाने निर्णय गरिन् । सो दिन उनीसहित ६७ जनाले उनीपछि पालैपालो अरुण नदीमा हाम फालेर जलसमाधि लिए । त्यस क्रममा एक जना बाँचे तर पछि उनले पनि पुनः जलसमाधि लिएर देह त्याग गरे । भनिन्छ, जलसमाधिका लागि अरु धेरै पनि लाइनमा थिए । तर प्रहरी प्रशासन त्यहाँ आइपुगेपछि अरुलाई तितरबितर पारेको थियो । त्यतिबेला उनको त्यो भने एक ठूलो राजनीतिक आन्दोलन नै थियो ।  उनले आफ्नो जीवनमा नागरिक अधिकार, नारी मुक्ति तथा समाजमा व्याप्त कुुरीति र भ्रष्टाचारका विरुद्धमा यो भन्दा अर्काे विकल्प पनि उनीसँग त्यस समयमा थिएन ।

झन्डै ८० वर्षअघि नै परिर्वतन र रुपान्तरणका लागि यस्तो राजनीतिक अभियान सञ्चालन गरिएको थियो । समाज रुपान्तरणका लागि भएको अप्रिय तर दुर्लभ घटना विश्वका मानव जातिले थाहा पाउनुपर्ने हक आज पनि छ । यस्तो अधिकारमा नेपाली महिला पनि कम थिएनन् र छैनन् भन्ने सन्देश पनि हामीले विश्वव्यापी रुपमा दिनुपर्दछ । समाज परिर्वतनका लागि योगमायाले छेडेको जस्तो आन्दोलन विश्वमा सायदै अरु कसैले गरेको होला ।

उनको आन्दोलन महिला वर्गमा मात्र केन्द्रित थिएन । उनले समाजका सर्वपक्षीय समस्यालाई समेटेर त्यसको समाधान राज्यसँग खोजेकी थिइन् । उनको आन्दोलनले जति चर्चा पाउनुपर्ने थियो, पाउन सकेको छैन् । आखिर किन ? ऊ बेला उनी महिला भएकैले पछि परेकी थिइन् भन्नेहरुले अहिले पनि त उनको योगदानलाई समाजमा ल्याउन सक्छ । राणाशासनका समयमा नागरिक अधिकारको कुरा उठाउनु जटिल काम थियो । उनलाई आज पनि राज्यले राष्ट्रिय विभूतिका रुपमा सम्मान प्रदान गर्न नसक्नु उनीमाथिको मात्र नभएर सामाजिक जागरणकै एक अन्याय हो । योगमायालाई राष्ट्रिय विभूतिको सम्मान दिन अब ढिला गर्नु हुँदैन ।रासस

(अर्याल नेपाल पत्रकार महासङ्घकी सचिव हुनुहुन्छ)