२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बूढीगण्डकी बाढीः नेपाली सनाको उद्धार टोली प्रभावितस्थलमा News Polar गृहमन्त्री गुरुङको अपिल : बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान आग्रह News Polar बूढीगण्डकीको बाढीबाट प्रभावितको उद्धार र राहतमा जुट्न कांग्रेस सभापति थापाको अपिल News Polar बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद News Polar ह्वाइट हाउसको नयाँ प्रेस सेक्रेटरीमा क्याटी जाचारिया नियुक्त News Polar स्वतन्त्र राज्यहरूको राष्ट्रमण्डल (सीआईएस) द्वारा रणनीतिक साझेदारी विस्तार गर्ने प्रतिवद्धता News Polar बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात News Polar रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते News Polar बूढीगण्डकीमा बाढी : चुमनुब्रीका ३५ घर बगे News Polar वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद News Polar पहिरोले घेरिएको पाउद्धार, विस्थापितलाई गाउँ फर्किन अन्योल News Polar एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बुढीगण्डकी नदीमा बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन

दाहाल–नेपाल पक्षका लागि ओली ‘आउट’

दाहाल–नेपाल पक्षका लागि ओली ‘आउट’
अ अ+ अ-

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट हटाएको छ। उक्त समूहका नेताहरू सम्मिलित केन्द्रीय समिति बैठकले मंगलबार ओलीलाई अनुशासनको कारबाही गर्दै वरिष्ठ नेता नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको हो। २०७५ जेठ ३ मा एमाले र माओवादी केन्द्रबीच एकतापछि महाधिवेशनसम्म दुई अध्यक्षात्मक प्रणाली अवलम्बन गर्ने निर्णय भएको थियो। विधानको त्यही व्यवस्थाअनुसार ओलीलाई अध्यक्षबाट हटाउँदै नेपाललाई अध्यक्ष बनाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरी जनभावनाविपरीतको स्वेच्छाचारी कदम चालेकाले पार्टी अन्तरिम विधान २०७५ को धारा ५६ (क) अनुसार अनुशासनको कारबाहीस्वरूप अध्यक्ष पदबाट हटाउने निर्णय भएको नेकपाले जनाएको छ। यो समूहको निर्णयअनुसार अध्यक्षमा दाहाल र नेपाल रहनेछन्। दुवै नेताले आलोपालो पार्टी बैठकको अध्यक्षता गर्ने गरी विधानको व्यवस्थाअनुसार काम गर्नेछन्। दुवै नेता कार्यकारी हुने र दुवैले आलोपालो बैठकको अध्यक्षता गर्ने स्थायी समिति सदस्य योगेश भट्टराईले बताए। स्थायी समितिको पुस ५ गतेको बैठकले ओलीलाई अनुशासनको कारबाही गर्न केन्द्रीय समितिमा प्रस्ताव लैजाने निर्णय गरेको थियो।

४ सय ४७ केन्द्रीय सदस्यमध्ये ३ सय १५ जना उपस्थित बैठकले ओलीलाई सर्वसम्मत रूपमा अध्यक्षबाट हटाउने निर्णय लिएको प्रवक्ता श्रेष्ठको भनाइ छ। दाहाल–नेपाल समूहको दाबीअनुसार यो उपस्थिति एकता गर्दाका बेलाको कुल केन्द्रीय समितिको ७०.४६ प्रतिशत हो। वरिष्ठ नेता झलनाथ खनालले नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव राखेका थिए। केन्द्रीय सदस्य प्रभु साहबाहेक अन्य नेताले उक्त प्रस्तावमा विमति राखेनन्। साहले विगतमा पनि दुई अध्यक्ष हुँदा शक्ति संघर्ष चलेको र पार्टी विभाजनसम्मको अवस्थामा पुगेकाले अब उही अन्तरविरोधको पुनरावृत्ति आउन सक्ने अवस्थालाई अन्त्य गर्नुपर्ने बताएका थिए। दाहालले पार्टी एकताको मर्म, भावना तथा विधानको व्यवस्थाका आधारमा महाधिवेशनसम्म दुई अध्यक्ष रहने बताएका थिए।

‘हिजो हाम्रो विधानमा प्रथम, द्वितीय अध्यक्ष भन्ने थिएन। हामी बराबरीका अध्यक्ष थियौं। बैठकको अध्यक्षता आलोपालो गर्ने भन्ने थियो, त्यसलाई केपीजीले तोड्नुभयो, आफैंले आफैंलाई प्रथम अध्यक्ष पनि भन्नुभयो। पछि ल ठीकै छ, कार्यकारी भूमिका लिने भन्ने हिसाबले मिल्यो। त्यसलाई पनि कार्यान्वयन गर्नु भएन’, दाहालको भनाइ उद्धृत गर्दै एक स्थायी समिति सदस्यले भने, ‘तर, अब हामी  विधानमा जे लेखिएको छ, त्यही बाटोबाट अगाडि जान्छौं। एकताको मर्म र विधानको व्यवस्था जे छ, त्यसलाई कार्यान्वयन गरेर जानुपर्छ। हामी त्यसरी नै जान्छौं।’

यो बैठकले ओली पक्षमा लागेका अन्य नेतालाई यथावत् राखेको छ। अग्नि सापकोटा सभामुख निर्वाचित भएपछि रिक्त रहेको स्थायी समिति सदस्यमा पूर्वसभामुख कृष्णबहादुर महरालाई चयन गर्ने निर्णय बैठकले गरेको छ। दाहाल, नेपाल र खनालले बैठकमा सम्बोधन गरेका थिए। दाहालले प्रधानमन्त्री ओलीले पार्टी एकतालाई व्यक्तिगत स्वार्थपूर्तिका लागि मात्र प्रयोग गरेको र स्वार्थ पूरा भएपछि पटकपटक पार्टी फुटाउन लागेको र अहिले फुटाएको बताएका थिए। ‘हामीले एकता गर्न खोजेको हो। केपी ओलीले एकताको मर्मअनुसार काम गर्ने चाहनु भएन। एकताका नाममा उहाँलाई खुसी बनाउन कतिपय कुरा लचकताका नाममा छोड्दै पनि गइयो। 

तापनि उहाँले न्याँक्ने काम मात्र गर्नुभयो’, दाहालले भने, ‘पार्टी एकता फुटाउन केपी ओलीले गत केन्द्रीय समिति बैठकपछि पटकपटक प्रयास गर्नुभयो। कहिले अध्यादेश ल्याएर पार्टी फुटाउने, कहिले कथित एमाले नामको अर्को पार्टी दर्ता गर्न लगाएर फुटाउने, कहिले अरू सबैलाई अपमान गरेर फुटाउन खोज्ने गर्नुभाथ्यो। हामीले पटकपटक बचाउने गर्दथ्यौं। तर अहिले फेरि बेइमानीपूर्वक संसद् विघटन गरेर गैरसंवैधानिक काम गरेर पार्टी फुटाउने काम गर्नुभयो।’ उनले ओलीले प्रतिनिधिसभा विघटन गर्न लागेको सूचना आफूले त्यसदिन बिहानै साढे ५ बजे सुने पनि त्यसपछि पनि होइन भन्दै आफूलाई ढाँटेको बताएका थिए। ‘पार्टी र जनताबीचको सम्बन्ध पनि कम्युनिस्ट पार्टीको जस्तो भएन। सुशासन पनि भएन। अनेक अनियमितताका कुरा आए। हामीले सोचेजस्तो पार्टी नबन्ने भयो भन्ने चिन्ता १८ बुँदे पत्रमा थियोे। त्यो मेरो मात्रै थिएन। हामी सबैको थियो’, उनले भने, ‘बैठक बस्न पनि अनुनय विनय गर्नुपर्ने। अढाई वर्ष विचित्रको अवस्थामा बिताइयो। सचिवालय बैठकमा बोल्न पाइँदैन भनियो। अध्यक्षलाई पनि बोल्न पाइँदैन भनियो।’

उनले बालुवाटारमा ओलीले गरेको बैठक अवैधानिक भएको टिप्पणीसमेत गरे। ‘एक तिहाइ सदस्य बसेर तीन तिहाइ थप्ने निर्णय गर्न मिल्छ ?’, उनले भने, ‘उहाँहरूको बैठक नै अवैधानिक छ, त्यो गुटको भेला हो। त्यसको अर्थ छैन।’ उनले बालुवाटारमा भएको ओली पक्षको भेलाले वैधानिकता पाउनै नसक्ने पनि बताए। ‘६५ प्रतिशत केन्द्रीय सदस्य यहाँ हुनुहुन्छ, केही केन्द्रीय सदस्य बाटोमा हुनुहुन्छ। निर्वाचन आयोगको नियम, कानुन, ऐनअनुसार यो बैठक वैधानिक र आधिकारिक हो। बालुवाटारमा भएको भेला वैधानिक छैन’, उनले भने, ‘संवैधानिक निकायका पदाधिकारीले संविधान ऐनअनुसार विधिसम्मत ढंगले चल्नुपर्छ। हाम्रो अपेक्षा छ, विधिलाई ती सबैले सम्मान गर्नेछन्।’

उनले दुवै समूहमा नखुलेका उपाध्यक्ष वामदेव गौतम र सचिवालय सदस्यसमेत रहेका गृहमन्त्री रामबहादुर थापालाई बैठकमा आउन आग्रह गरे। प्रतिनिधिसभा विघटन गर्ने अधिकार प्रधानमन्त्रीमा नभएको उनको भनाइ थियो। उनले अहिले सरकार विघटन भएको तर प्रतिनिधिसभा विघटन नभएको तर्क गरे। नेपालले ओलीले निरंकुश शैलीमा पार्टी र सरकार सञ्चालन गर्ने गरेको बताए। ‘पार्टीमा किन समस्या आयो ? ओलीले आफ्नो गुटका मान्छेहरूलाई माथिमाथि लगेको तर आफूविरुद्ध बोल्नेलाई अवसर नदिने एकाधिकारवादी शैली अपनाउनुभयो। यसले पार्टीमा समस्या आयो’, नेपालले भने।

दाहालले पटकपटक अपमान सहेर भए पनि पार्टी एकता बचाउन धैरै कोसिस गरेको नेपालको भनाइ थियो। ओलीले बालुवाटारमा गरेको भेला गुटको मात्र भएको र त्यसले वैधानिकता नपाउने उनले बताए। ‘कसैले पार्टीको नाममा धावा बोल्दैमा वैधानिकता पाउँदैन। ४ सय ४१ केन्द्रीय सदस्यको दुई तिहाइ हामी यहाँ छौं’, उनले भने, ‘सुन्दै छु, नेकपा एमाले ब्युँत्याउने रे। पार्टी एकता हुँदा नै दुवै पार्टी विघटन भइसक्यो। त्यो अब ब्युँतन सक्दैन।’ खनालले विधि र विधानमा पार्टी नचलेकाले समस्या आएको बताएका थिए।

दाहाल–नेपाल समूहको केन्द्रीय समिति बैठकले प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गर्ने प्रस्ताव पनि पारित गरेको छ। यसका लागि थप संघर्षका कार्यक्रम आगामी बैठकले तय गर्ने नेताहरूले बताएका छन्। अन्नपुर्णपोष्ट दैनिक