१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिद्रोह नगरेको भए दास भएर बस्नुपर्दथ्यो ,समर्पण गरेर बस्नुपर्दथ्यो: माधव नेपाल



अ+ अ-

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमालेसँगको विद्रोहको औचित्य पुष्टि भएन भन्नेहरुसँग प्रतिवाद गर्न पार्टीको नेता, कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

पार्टी निकट प्रवासी नेपाली एकता मञ्चले शनिवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले एमालेसँगको विद्रोहको औचित्य पुष्टि भएन भन्नेहरु नसुन्न पनि सिंगो पार्टी पंक्तिलाई सचेत गराउनु भयो । अध्यक्ष नेपालले एमालेसँगको बिद्रोहको औचित्य पुष्टि भएकाले त्यस्ता कुरा पार्टीका नेता, कार्यकर्ताहरुले सुन्न आवश्यक नरहेको जिकिर पनि गर्नुभयो । एमालेसँग विद्रोह नगरेको भए दासको रुपमा बस्नुपर्ने अवस्था आउने थियो भन्दै अध्यक्ष नेपालले त्यसबाट आफूहरुले कम्युनिष्ट आन्दोलनको र आफूहरुको भविष्य सुनिश्चित गराएको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले एउटा कुरा म सुन्ने गर्दछु–यो तीन वटा शब्द तपाईहरु कसैले नसुन्नुस् । कान बन्द गरिदिए हुन्छ । पहिलो कुरा, विद्रोहको औचित्य पुष्टि भएन । यो वाईयात कुरा सन्दै नसुन्नुस । तुरुन्त खण्डन गर्नुस् । प्रत्येक घटनाक्रमले हाम्रो विद्रोहको औचित्य पुष्टि भएको छ । अहिले पनि भईराखेको छ । दिनदिनै भईराखेको छ । विद्रोह गर्नु जायज थियो । बिद्रोह नगरेको भए नेपालको कम्युनिष्ट आन्दोलनको रक्षाको निम्ति दृढतापूर्वक उभिने योद्धाहरु हराएर जाने थिए । दास भएर बस्नुपर्दथ्यो । समर्पण गरेर बस्नुपर्दथ्यो । हामी सबैको भविष्य खत्तम भईसकेको हुने थियो । हामीले देखेका छौँ कतिपय नेताहरुको के भएको छ बिजोग । त्यही बिजोग हाम्रो पनि हुने थियो । त्यस्ता चुनौतिको सामना गरेर अघि बढने आँट गर्‍यौँ ।’

अध्यक्ष नेपालले एमाले भित्र अहिले पनि केही नेताहरु बिजोक अवस्था रहेको जिकिर गर्दै विद्रोह गरेर आफूहरुले देश र जनताको पक्षमा उभिने कम्युनिष्ट पार्टी बनाएको दाबी गर्नुभयो ।