४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

स्मृतिमा मदन भण्डारीसँग बितेका पल

स्मृतिमा मदन भण्डारीसँग बितेका पल
अ+ अ-

२०४६ साल भदौको एक दिन सुनकोशी छापाखानाबाट दृष्टि साप्ताहिकका सम्पादक तथा कवि नारायण ढकाल अफगानिस्तान जाने भन्दै अकस्मात हराउनुभयो । लामो समय पत्तो भएन । खासमा उहाँ सिराहा जानुभएको रहेछ । एकदिन आउनुभयो र धारावाहिक लेख्न थाल्नुभयो,“नेकपा मालेको चौथो महाधिवेशनबाट नयाँ नेतृत्व छानिएको ।” त्यसपछि क्रमशः लेखहरु मदन र झलनाथका आउन थाले राजमोति र अभिमन्युको नाममा । त्यति नै बेला सामाजिक साम्राज्यवादी भन्ने गरिएको सोभियत संघलाई नयाँ शिराबाट हेर्ने पार्टी लाइनबारे विक्रम नेपाली (गोपाल शाक्य समूह) बाट बहस छेडिन थाल्यो । त्यतिखेर रसियन कम्युनिष्ट पार्टीका महासचिव मिखाइल गोर्वाचेभको पेरेस्त्रोइका र ग्लास्तनोस्तवाला उदारवादी हावा जो उत्कर्षमा थियो ।

त्यसैगरी चीनको थ्यानआनमेन चोकलाई स्वतन्त्रता र प्रजातन्त्रका नाममा विद्यार्थीहरुको धर्नाले तनाव थप्दै थियो । हाम्रो टिमका अग्रज रघु पन्तलाई समेत त्यताको तरङ्गले नछुने कुरै भएन । त्यसैले उहाँ त्यस्तै स्वतन्त्रताको वकालत गर्दै लेख्न थाल्नुभयो । यसरी पार्टीको आधिकारिक पत्रिका “दृष्टि” पार्टी लाइनभन्दा अलि बाहिर जाने हो कि भन्ने त्रास उत्पन्न भयो । र, दृष्टिभित्रकै यौटा टिम नवयुग नामक बुलेटिन निकाल्ने काममा खटियो । त्यसमा पर्दा पछाडिबाट सँलग्न हुनुहुँदोरहेछ,मदन भण्डारी । नवयुग त निकाल्यौँ भूमिगत रुपमा तर बजारमा लान र प्रशासनको आँखामा बैधानिकताको धुलो छ्याप्न सम्पादक,प्रकाशकको नाम राख्नैपथ्र्यो। त्यसैले नेकपा मालेको संक्षिप्त रुपी “नेत्र कमल पाठक,मानेडाँडा लेकथुम” जुराएर नक्कली काम गरियो ।

फागुन ७ गतेदेखि त जनआन्दोलन शुरु भैहाल्यो । २०४६ सालको परिवर्तनलगत्तै मदन भण्डारी एकदिन सुनकोशी छापाखाना,कालीमाटीको दृष्टि कार्यालयमा खुसुक्क प्रकट हुनुभयो । त्यतिबेलासम्म उहाँलाई मदन भण्डारी नै हो भनेर चिनिसकेका थिएनौं । मोटोमोटो ज्यान,हँसिलो,मीठो बोल्ने,त्यस्तो पात्रलाई हामीले पार्टीको ठूलै नेता भनेर अनुमान त लगायौँ तर महासचिव नै भनेर खुलिसक्नुभएको थिएन । पार्टी प्रवक्ताको रुपमा उहाँका बोली र व्यवहारबाट हामी प्रभावित नहुने कुरा भएन । कति नै थिए र त्योबेला पार्टीनिकट पत्रकार र पार्टीका आफ्ना अखबार ! को नै थिए र संकटको घडीमा काँध थाप्न तयार हुने बफादार,अनुशासित बुध्दिजीवी र कलमजीवी सिपाहीहरु !

एक नम्बर वरियताको नेता भैकन पनि सबैसङ्ग बस्ने–खाने,मन माझ्ने, पदीय घमण्ड नगर्ने,ठूलो नपल्टिने,राम्रो लवाइखुवाइ नगर्ने मानिसलाई प्रवक्ताको रुपमा छेउमै पाउनु ७०० रुपैयाँ तलबको भरमा काम गर्ने हाम्रानिम्ति गर्वको बिषय थियो । विद्यार्थी राजनीति गर्ने,त्यहाँबाट बचेको समय पत्रकारितामा पनि लगाउने काममा खटिएका कलिला केटाहरुलाई सरल र सहज नेताको साथ पाउँदा कम्युनिष्ट आदर्श भनेको यस्तो पो हुनुपर्छ भन्ने लाग्ने नै भयो । सुनिरहुँजस्तो लाग्ने,संस्कृत र उर्दूमा झर्रो नेपाली मिसिएको त्यस्तो बोलीको धनी मदन भण्डारी आएर सुनकोशी छापाखानामा उर्जा दिइरहनुभयो । पछि पो चिन्यौँ,यतिञ्जेल हामीसङ्ग रम्ने उहाँ नै पार्टीको महासचिव हुनुहुँदो रहेछ । अब विदेशीहरुसँग भेटघाट बाक्लिन थाले ।

त्यससँगै बागबजारमा पार्टी कार्यालय खुल्यो । त्यहाँ हाम्रो पनि जाने–आउने क्रम चल्ने नै भयो । दृष्टिको तत्कालीन व्यवस्थापनमा अनुशासन र मितव्ययिता भन्दै टिमको खाजा कटौती गरेर श्रमजीवी क्याडरलाई भोकै काममा लगाउने तर पार्टीका नेताहरुलाई भने सँस्थाको खर्चबाट ओभरकोटसमेत किनिदिने, डेराभाडा तिरिदिने साथीहरु पनि हुनुहुन्थ्यो तर हामीले यसमा कुनै गुनासो गरेनौँ । किनभने थाहा थियो, जे गर्दैछौँ,पार्टीको लागि गर्दैछौं अनि यहाँ मदन भण्डारीजस्तो नेता पनि हुनुहुन्छ जो सादगीमा विश्वास गर्नुहुन्छ र सामूहिकतामा रमाउनुहुन्छ । मनले नै मानेपछि यस्ता गुनासा झिनामसिना लाग्ने नै भए । शीर्ष नेतृत्व गुणी हुँदा या पार्टीको इञ्जिन दह्रो भैदिँदा रेलका डब्बाहरु उर्जारुपी कोइला कम भए पनि छुकछुक गतिमा लिक नछाडी कुदिरहेजस्तै कार्यकर्तालाई प्रेरणा जाग्ने यो मीठो भोगाइ हो मेरो जीवनको ।

एकदिनको सम्झना छ,मदनले भिजिटिङ कार्ड बनाउनुपर्‍यो भन्नुभएको । नक्सालमा डेरा थियो उहाँको । सायद हामी प्रेससँग सम्बद्ध रहेको र त्यो पनि पार्टीकै छापाखाना भएको हुनाले अखबार छपाइसहित दुबै काम एक ठाउँबाट हुँदो हो भन्ने लागेको थियो होला उहाँलाई ।  तर सुनकोशी छापाखानाको व्यवस्थापक त उत्तम महत हुनुहुन्थ्यो । पैसाको मामिलामा उत्तिकै कडा उहाँले त्यत्तिकै किन छाप्न मान्नुहुन्थ्यो र ? जीवनमा मलाई अफसोच यही छ कि, मैले मदन कमरेडलाई त्यहीबेला उहाँको चाहनाअनुसार भिजिटिङ कार्ड छापेर दिन सकिन,न त आफ्नो सीमा र बाध्यता नै बताउन सकेँ । तर, पनि सधैँ उहाँको प्रिय भइरहेँ भन्ने कुरामा अझै पनि गर्व गर्दछु । उहाँले आशालाग्दो,भर्खर उदाएको पत्रकार हो,यसलाई उठाउनुपर्छ भन्ठानेर नै  मलाई नयाँ दिल्ली लिएर जानुभयो भने राजेन्द्र स्थापितलाई कलकत्ता लानुभयो । पश्चिम बङ्गालका तत्कालीन मुख्यमन्त्री ज्योति बसुसँगको भेटघाट, विनोद मिश्रसँगको छलफल र भाकपा माले (लिबरेशन) को कलकत्ता ब्रिगेड मैदानमा आयोजित आमसभालगायतका कार्यक्रमहरुमा सरिक गराउनुभयो ।

म भाकपा माक्र्सवादीका महासचिव हरकिसनसिंह सुरजितलगायत भाकपा मालेकै दिल्लीस्थित हेडक्वार्टरको भ्रमण,कम्बोडियन र भियतनामी दूतावासमा राजनीतिक मामिला हेर्ने अफिसरहरुसँगको भेटघाटमा पनि सरिक भएँ । झिल्लुप्रसाद तिवारी,केशवलाल श्रेष्ठ सँगै हुनुहुन्थ्यो । पुरानो दिल्लीको एउटा धर्मशालामा बास बसेको,सँगै सादगी भोजन गरेको,हाइफाइवाला होटेल, वातानुकुलित गाडी र स्वादिलो खाना नखोजेको–मदनको त्यस्तो सरल जीवनको सम्झना छ मसङ्ग । त्यताबाट फर्केपछि पाँचौँ महाधिवेशनको चटारो र महाकाली सन्धिको उत्कर्षवीच कञ्चनपुर गएको,जुलुसमा सामेल भएको र टनकपुर बाँधको निरीक्षण गरेको,दाङ्ग हुँदै फर्केको याद पनि ताजा छ ।

त्यतिखेर पार्टीमा अलिकति फरक मत प्रकट भइसकेको स्थिति थियो । अशोक राई,सिपी मैनालीहरुको अलग धार थियो । अशोक राई र मदन पूर्वमा पनि सँगै काम गर्नुभएको हुनाले एकै ठाउँमा हुनुहोला भन्ने त लाग्थ्यो तर उहाँहरुको वीचमा लाइनको हिसाबले फरकपना आइसकेको रहेछ । त्यसैले अशोक राई फरक कित्तातिर हुँदाखेरि उहाँलाई सँगै गाडीमा लिएर आउने कि लिफ्ट नदिने भन्ने कुरामा अलिअलि विवाद हुँदा मदनले त्यसो नगरौँ भनेर सँगै हिँडाउनुभएको क्षण झल्झली सम्झिरहन्छु । पाँचौँ महाधिवेशनको बेला प्रचारको क्रममा हामी जुटेको, खुलेको पनि सम्झना छ । प्रज्ञा भवनभित्र महाधिवेशनको हलमा रघु पन्त सामाजिक जनवादको लाइन लिएर आउनुभएको थियो,तर आफ्नै एक भोट पनि नहालिकन राती नै निस्केर घर जानुभयो । सिपी मैनाली, मोहनचन्द्र अधिकारी,सानु श्रेष्ठ (पूर्व बाग्मती प्रदेश सभामुख) लगायत एउटा पंक्ति मदनको लाइनको विपक्षमा थियो भने पूर्व महासचिव झलनाथ खनाल बहुदलीय जनवादलाई “दक्ष प्रजापतिको टाउको” भनिराख्नुहुन्थ्यो ।

यही सेरोफेरोमा मदनले बहुदलीय जनवादको ब्याख्यासहित दृष्टिलाई एउटा अन्तर्वार्ता दिनुभयो । मैले नै लिएको अन्तर्वार्ता हो त्यो । अडियो उतारपछि आफैँले आएर त्यसमा सामान्य करेक्सन गर्नुभयो र बेलुका फोन गरेर जहाँ जहाँ बहुदलीय जनवाद छ,त्यसको अगाडि “जनताको” शब्द थप्न लगाउनुभयो । मैले भीमसेन राजवाहकलाई सिसाको अक्षरमा एक एक शब्द टिप्दै तयार पार्न लगाएको “कालीदासको क नपढी जनताको बहुदलीय जनवाद बुझिन्न” शीर्षकको त्यो अन्तर्वार्ता प्रकाशन गरेको आजैजस्तो लाग्छ । पार्टीको आधिकारिक पूर्वप्रकाशन भइकन पनि “प्रकाश साप्ताहिक” महाधिवेशनताका सिपी मैनाली निकट भएर छापिन थाल्यो । र, मदनले नै आफ्नो अन्तर्वार्ता दृष्टि र दृष्टिको सहप्रकाशन सूर्य मासिकमा प्रकाशन हुने तयारीका वीच मोहनचन्द्र अधिकारी र सिपी मैनालीको पनि विचार लिएर सँगै छाप्नुहोला है,यसो गर्दा सन्तुलन रहन्छ,पेशागत मर्यादा देखिन्छ,एकपक्षीय छैन भन्ने पनि पुष्टि हुन्छ भन्ने निर्देशन दिनुभयो,जुन सहिष्णुताको पक्ष मैले कहिल्यै नबिर्सने अर्को प्रसङ्ग हो । विजय सैँजु र मैले नै हो नक्सालको डेरामा उहाँले घाम ताप्दै,दृष्टि पढ्दै गरेको,खैरो कोट र कालो टोपीमा सजिएको तस्बिर खिचेको,जुन फोटो अहिले पनि प्रयोग हुन्छ बेला बेला ।

संयोगवश २०५० को वैशाखतिर उहाँ चीन जाने कुरा चल्यो । त्यतिबेला चिनियाँ कम्युनिस्ट पार्टीको चौथो वरियताक्रममा हुनुहुन्थ्यो हु चिन्ताओ, पछि राष्ट्रपति र महासचिव उहाँसँग पनि भेट गर्ने कार्यक्रम बन्यो । अमृत बोहरा,सानु मिश्र,हरि पाण्डे,माधवकुमार नेपाल,केपी ओली,मुकुन्द न्यौपाने,बाचस्पति देवकोटा,हेमराज राई,मुकुन्द न्यौपाने,योगेन्द्र साहलगायतको टिम छनोट हुँदाखेरि मदनले पत्रकारको तर्फबाट तपाईलाई पनि राखेको छु भन्नुभएको थियो । तर पछि खै कुन्नि, म त्यसमा परिनँ । उताबाट खबर भने आइराख्थे फोनमा,हामी न्युज टिप्थ्यौँ,लेख्थ्यौँ र देशवासीलाई सुसूचित गथ्र्यौँ ।

अहिलेजस्तो इमेल,फेसबुकको जमाना कहाँ थियो र जहाँ कहीँबाट फ्याट्ट सेण्ड या पोस्ट गर्नलाई ! उताबाट फर्केपछि पोखरा हुँदै चितवन जाने कुरा थियो । जेठ १ गते उहाँ पोखरा जानुअगाडि बेलुका टेलिफोनमा अन्तिम संवाद भयो । बीएको परीक्षा चलिरहेकोले म जान नपाउने भएँ । यस्तो अवस्थामा न्युज कसरी पठाउने त भन्ने कुरा उठ्दा उहाँले ड्राइभर अमर लामाले कार्यक्रम अवधिभर सँगै बसेर त्यसको टिपोट गर्ने र पछि फोनमा टिपाउने,अनि मैले त्यसआधारमा समाचार बनाउने सहमति भएको थियो ।

तर,अफसोच अमर लामाबाट आउने भनिएका महासचिव र सँगठन विभाग प्रमुख जीवराज आश्रितका यात्रा विवरणसम्बन्धी समाचार जेठ ३ गते दिउँसो दासढुङ्गाबाट अर्कै रुपमा,प्रधान सेनापति गडुल समशेरका मुखबाट सुन्नुपर्‍यो  । त्यसपछिका प्रसंगहरु त सबैसामु छर्लङ्गै छन् ।

उहाँ पिलग्रिम्स बुकस्टोरमा यस्तो किताब पाइन्छ,न्यूयोर्क टाइम्समा यस्तो सामग्री छापिएको छ,खोजेर ल्याइदिनु भन्नुहुन्थ्यो । ती आग्रहको लिखत मसँग सुरक्षित छ । उहाँले भनेका प्रायः सबै काम इमानका साथ र मनैदेखि कार्यान्वयन गर्न सकभर कोसिस गरेँजस्तो लाग्छ । एउटै गुनासो छ,त्यो भिजिटिङ कार्ड बनाएर लगिदिन सकिनँ । कारक र कारण जेसुकै होस्,यत्ति जिम्मेवारी पूरा गर्न नसकेकोमा चाहिँ मलाई खेद छ,दुःख छ । घरिघरि लाग्छ,त्यति सानो काम पनि किन गर्न सकिनँ होला !