१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar उच्च ब्याजदर र जहाज अभावले संकटमा नेपाल एयरलाइन्स News Polar प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयमा २५ जना, को–को छन् सल्लाहकार र कर्मचारी? News Polar कांग्रेस महाधिवेशनको तयारी तीव्र, खुलामञ्चमा मञ्च निर्माण हुँदै- तस्विरसहित News Polar लगानी र व्यवसायमैत्री वातावरण बनाउन २८ कानुन संशोधन गर्न महासंघको सुझाव News Polar गाजामा इजरायली हवाई आक्रमणः चार प्यालेस्टाइनीको मृत्यु, १० घाइते News Polar अफगानिस्तानको इस्लाम काला सीमा नाकामा भीषण आगलागीः १८ वटा इन्धन ट्याङ्कर जलेर नष्ट News Polar निर्माणाधीन ट्रान्समिसन लाइनको अवरोध फुकाउँदै ऊर्जा मन्त्रालय, १२ प्रसारण लाइनको काम यसै वर्ष सकिने News Polar खोप सेवाको सुक्ष्म कार्ययोजना तयार गर्दै काठमाडौँ महानगरपालिका News Polar जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात News Polar हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित News Polar गाउँमै रोजगारीको बाटो खोज्दै भोजपुरका युवा News Polar तनहुँमा चैते धान प्रवर्द्धन गरिँदै News Polar रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द   News Polar म्याग्दीमा प्रसारण लाइन मर्मत सुरु News Polar तटबन्धले जोगायो गैँडाकोटको बस्ती News Polar नेपाली क्रिकेट टोली जापानबाट स्वदेश फिर्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग

कोशेढुङ्गा बन्यो तालिम

कोशेढुङ्गा बन्यो तालिम
अ अ+ अ-

पाँचथर । पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेको एक सामान्य परिवारमा जन्मेर माध्यमिक शिक्षामात्र उत्तीर्ण गरेका हर्कबहादुर तामाङ सानै उमेरदेखि प्राविधिक सीप सिकेर कुनै उद्यम गर्न उत्सुक हुनुहुन्थ्यो । परिवारको कमजोर अवस्थाले गर्दा उहाँले उच्च शिक्षा हासिल गर्ने इच्छा अधुरो नै रहन गयो । गाउँपालिकाको केन्द्र रविबजार आएर कुनै रोजगारी गर्दै अध्ययन गर्नका लागि घरबाट निस्कनुभएका उहाँले २०६६ सालमा सौर्य ऊर्जा जडानको तह–१ परीक्षा उत्तीर्ण भएपछि विभिन्न सौर्य ऊर्जा कम्पनीका तर्फबाट घरायसी सौर्य प्रणालीहरू जडान गर्न गाउँगाउँमा जान थाल्नुभयोे ।

घरायसी सौर्य ऊर्जा जोड्न जाँदा पुराना सौर्य ऊर्जा मर्मतका लागि उहाँलाई धेरैको अनुरोध आउन थाल्यो । घरायसी सौर्य ऊर्जा जडानमा सामान्य ज्ञान भएका हर्कले मर्मतको सीप हासिल गरे त व्यावसायिक बन्न सकिने कुरा बुझेपछि त्यस किसिमको तालिमको खोजी गर्न थाल्नुभयो । ‘तँ आँट म पुर्याउँछु’ भनेजस्तै त्यति नै बेला जिल्लामा सञ्चालित नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता कार्यक्रमले स्थानीय सरकारको माग र आवश्यकतालाई मध्यनजर गरी मिक्लाजुङ गाउँपालिकामा सौर्य ऊर्जा मर्मतसम्बन्धी तालिमको आयोजना गर्दै थियो । गाउँपालिकाबाट जानकारी पाएपछि हर्क पनि तालिममा सहभागी हुनुभयो । झण्डै एक महिनासम्म सञ्चालन गरिएको सो तालिममा आफूले धेरै नयाँ कुरा सिक्ने मौका पाएको उहाँको भनाइ छ ।

तालिममा सिकेको सीपले उहाँलाई व्यावसायिक रूपमै यसमा लागेमा राम्रै आम्दानी गर्न सकिने आत्मविश्वास बढ्यो । उहाँले सौर्य ऊर्जासम्बन्धी सम्पूर्ण सेवा दिने हिसाबले बुद्ध ट्रेर्डस एण्ड सप्लायर्स व्यवसाय दर्ता गरी व्यवसाय सुरु गर्नुभएको छ । पहिले अन्य कम्पनीहरुको सौर्य ऊर्जा जडान गर्दै हिँड्नुभएका उहाँ अब आफैँ मालिक बनेर व्यवसाय गर्न थाल्नुभएको छ । उहाँले अन्य दुईजनालाई पनि पूर्ण रोजगारी र तीनजनालाई आंशिक रोजगारी दिनुभएको छ ।

पाँचथरका फाल्गुनन्द र मिक्लाजुङ गाउँपालिका तथा इलाम जिल्लाका फाकफोकथुम र माङसेबुङ गाउँपालिकाका अधिकांश घरमा उहाँले सौर्य विद्युत् जडान गर्नुभएको छ । तालिममा सिकेको सीप र लामो अनुभवपछि अब उहाँ सौर्य घरेलु प्रणालीमात्र नभएर सौर्य लिफ्टिङ खानेपानी तथा सिँचाइ आयोजनाहरूको जडान तथा मर्मत पनि गर्न सक्षम हुनुहुन्छ ।

त्यतिमात्र होइन, नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता कार्यक्रमले विभिन्न जिल्लामा आयोजना गर्ने सौर्य ऊर्जा जडान तथा मर्मत तालिमहरूमा सहसहजकर्ताका रूपमा पनि प्रशिक्षण दिने गर्नुहुन्छ । तालिमहरूमा सहभागीलाई गराइने अभ्यासका लागि आवश्यक सम्पूर्ण सामान पनि आफैँले लैजाने गर्नुहुन्छ । यसले पनि उहाँको आम्दानीको स्रोत अझ बढेको छ । सौर्य ऊर्जा मर्मतका अलावा उहाँले सौर्य ऊर्जा प्रणालीमा चाहिने सामान घरमै राखेर स्थानीयवासीलाई बिक्री गरी सेवा दिँदै आउनुभएको छ ।

तीन वर्षदेखि गाउँपालिकासँग सौर्य ऊर्जा प्रणालीहरुको मर्मतसम्भार तथा नियमित ऊर्जा आपूर्तिका लागि वार्षिक सेवा सम्झौता गर्नुभएको छ । यसवापत उहाँले पहिलो वर्ष रु ३६ हजार, दोस्रो वर्ष रु ६० हजार र तेस्रो वर्ष रु दुई लाखको काम गर्नुभएको छ । पालिकाको सहयोगमा उहाँले मुख्य सडकखण्डमा सडकबत्ती पनि जडान गर्नुभएको छ । गाउँमा नै दक्ष जनशक्ति भएकाले नियमित रूपमा सार्वजनिक सेवा प्रदान गर्न निकै सहज भएको गाउँपालिकाका अध्यक्ष अमरराज माखिम बताउनुहुन्छ । एउटा सक्षम व्यक्तिले गाउँको विकासमा कसरी योगदान दिन सक्दछ भन्ने उदाहरण हर्कबहादुरले देखाउनुभएको छ । फाल्गुनन्द गाउँपालिकाले यसै वर्षदेखि वार्षिक रूपमा सम्झौता गर्ने प्रस्ताव गरेको भए पनि आफूले समय दिन नसकेको उहाँ बताउनुहुन्छ ।

अहिलेसम्म उहाँले पालिकाभित्र र बाहिर गरी पाँच सय ५० घरमा सौर्य प्रणाली जडान तथा मर्मतसम्भारको काम गर्नुभएको छ । त्यस्तै, १५ वटा सौर्य लिफ्ट खानेपानी आयोजनाहरूको जडान तथा मर्मतसम्भार र सयभन्दा धेरै साना तथा ठूला लघुजलविद्युत् परियोजना मर्मत गरिसक्नुभएको छ । सौर्य प्रणाली वा लघुजलविद्युत् आयोजनामा सामान्य समस्या आउँदा महिनौँ दिनसम्म मर्मत हुन नसक्दा अन्धकारमा बस्न बाध्य स्थानीय बासिन्दा अहिले तत्कालै उहाँको सेवा पाउँदा निकै लाभान्वित भएका छन् ।

यसै वर्ष राष्ट्रिय प्रसारण लाइनको बिजुली गाउँगाउँ पुगेसँगै घर वाइरिङ गर्ने कार्यले उहाँलाई फुर्सदै छैन । पसलमा पनि विद्युतीय सामान बिक्री बढेर गएको उहाँको भनाइ छ । हालै विराटनगरस्थित श्री कृष्णग्रिल एण्ड इन्जिनियरिङ वक्र्सले सञ्चालन गरेको लघु जलविद्युत मर्मत सेवा केन्द्रको स्थानीय सेवा प्रदायक संस्थाको रूपमा पनि उहाँले आफ्नो फर्मको सेवालाई विस्तार गराउनुभएको छ ।

हर्कबहादुर भन्नुहुन्छ, “समयमै तालिम नपाएको भए ऋण खोजेरै भए पनि विदेश जानुपर्ने बाध्यता थियो । तर आज नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता कार्यक्रमले आफूसँग लुकेर बसेको उद्यमशीलतालाई उजागर गरी उद्यमी बनायो ।” गाउँको युवा धमाधम रोजगारीका लागि विदेश गइरहेको बेला हर्कबहादुरले भने गाउँमै बसेर राम्रो आम्दानीसँगै गाउँको विकासमा पुर्याएको योगदानको धेरैले प्रशंसा गरेका छन् । रासस