१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहमन्त्री लामिछानेद्वारा काठमाडौंका तीन वटा प्रहरी वृत्तको अनुगमन



अ+ अ-

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले हिजो साँझ काठमाडौका तीन वटा प्रहरी वृत्तको अनुगमन गरेका छन् । गृहमन्त्री लामिछानेले बौद्ध, गौशाला र महाराजगन्ज प्रहरी वृत्तको अनुगमन गरेका हुन् ।

अनुगमनका क्रममा कार्य प्रणाली, जनशक्ति, कागजपत्रको व्यवस्थापन, प्रविधिको प्रयोग र समस्यालगायतका विषयमा उनले वृत्त प्रमुखसँग जानकारी लिएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

यसैगरी उजुरी/जाहेरीका प्रकृति र दैनिक आउने संख्या, अनुसन्धानका कठिनाइ, वृत्तमार्फत् जाने मुद्दा तथा थुनुवा कक्षको क्षमता र हाल रहेको संख्याबारे पनि जानकारी लिएका छन् ।

अनुगमनका क्रममा गृहमन्त्री लामिछानेले नागरिकको गुनासो तत्काल सुन्न, पीडित मैत्री व्यवहार गर्न र जिम्मेवारी निर्वाहमा गम्भीर हुन तीन वटै वृत्तका प्रमुखलाई निर्देशन दिएका छन् । यस्तै नयाँ बसपार्क क्षेत्रको विशेष सुरक्षा योजना ५ दिनभित्र पेश गर्न महाराजगन्ज वृत्तका डीएसपीलाई निर्देशन दिएका छन् ।

गृहमन्त्री लामिछानले प्रहरीका कामलाई थप प्रभावकारी बनाउन गर्नुपर्ने सुधारको सुझाव दिन पनि आग्रह प्रहरी वृत्तका प्रमुखहरुलाई सुझाव दिएका छन् । लामिछानेको सचिवालयले प्रहरी संगठनलाई अझ नागरिक मैत्री, व्यवसायिक, स्रोत–साधनयुक्त र चुस्त–दुरुस्त बनाउन गर्नुपर्ने कामको योजना बनाउनका लागि ‘फिडब्याक’ लिन मन्त्रीले तल्लो तहका युनिटको अनुगमन थाल्नु थालेको र यो कामले निरन्तरता पाउने जनाएको छ ।