४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

धर्मनिरपेक्षले के दियो ? 

धर्मनिरपेक्षले के दियो ? 
अ+ अ-

मौलिकतासँग माटो, परम्परासँग परिवार, धर्मसँग धराको नाभी गाँसिएको हुन्छ । प्राचीनकालदेखि नेपाल र नेपालभित्रका टुक्रे राज्यहरु धर्म, संस्कृति र इतिहासलाई नमन गर्दै शासन गर्थे । धर्मले शासकलाई शोषक हुन दिँदैन, जनतालाई जलन गराउँदैन, प्रशासनमा प्रजातन्त्रको सुगन्ध दिइरहन्छ । आजसम्मको इतिहासमा धर्म मास्नेले धराको, शास्त्र नमान्नेले शासनको पूजा नगर्नेले प्रजाको कल्याण गरेको देखिँदैन ।

वि. सं. २००७, २०१७, २०४६का परिवर्तनले व्यवस्था फाल्यो तर वि. सं. २०६२/०६३ को परिवर्तनले नेपालको संस्कृति र पहिचानलाई भस्म बनायो । माओवादी आन्दोलन नेपालीले नेपालका लागि गरेको भए धर्म र इतिहासलाई मास्ने थिएनन् । माओवादीले मन्दिर भत्काए, गुठी लुटे, मूर्तिमा थुके, पुर्खाकै इतिहासलाई अवसानतिर धकलिदियो । पश्चिमाले लगाइदिएको भ्रमलाई मन्त्र संझेर गरिबी, अशिक्षा र विभेदको अग्नि प्रज्वलित गरायो । नेपालीको जरो वैदिक धर्म एवं राजसंस्थालाई देख्नेहरुको रिस ज्ञानेन्द्रसँग थियो, विमति र द्वन्द्व तात्कालिक सरकारसँग थियो । भारतले थाम्न नसकेको, अंग्रेजले लुट्न नसकेको, क्रिश्चियनले फाल्न नसकेको हिन्दूराष्ट्रलाई युरोपियन युनियन र भारतीय कांग्रेसको सहयोगमा माओवादीले हटाइदिए । नेपाल एकतामा बसेको, पहिचान धर्ममा अडेको, राजसंस्थामा उभिएको, संस्कृतिमा ठडिएको थियो ।

आधुनिक नेपालको एकीकरण गर्नेक्रममा पृथ्वीनारायण शाहले असली हिन्दूस्थान यही रहेछ भनेका थिए । नेपालले वेद जन्मायो, ऋषिमुनि पैदा गर्‍यो, चाडपर्व र अनुष्ठानका विधिहरू उत्पादन गर्‍यो । यी सबैलाई भारतले क्रमश: निजीकरण गर्न चाहन्थ्यो । फरक फरक राष्ट्रका आआफ्ना स्वार्थ थिए जसलाई पुरा गर्न राजसंस्था फाल्नुपथ्र्यो, जातको आगो लगाउनुपथ्र्यो, राष्ट्रिय विभूतिलाई नग्न बनाउनुपथ्र्यो । यी कार्य गराउन पार्टीलाई किनेर, मानवअधिकारवादीहरु जन्माएर, समाजसेवीनामका विषवृक्षलाई मलजल गरे ।

प्राणीलाई प्रेम गर्न, प्रकृतिलाई पुज्न, परमात्मालाई बुझ्न, प्रविधिलाई प्रयोग गर्न धर्मले लगाउँथ्यो, तीर्थले प्रेरणा दिन्थ्यो । वैदिक धर्मले अर्थदेखि आत्मासम्म, समाजदेखि सेवासम्म, संस्कारदेखि सन्तानसम्म, माटोदेखि मनसम्मलाई संवृद्ध गराउँछ, धर्मको संरक्षणले राष्ट्र कल्याणमा सहयोग पुग्छ । धर्मले हित गर्छ, धर्ममा शंका हुँदैन । यसकारण अपराधी र राजनीतिकभ्रष्टहरु पनि अप्ठेरो पर्दा धर्मकै साथ लिन्छन् । हरेक परम्परासँग गाँसिएको, प्रकृतिसँग टाँसिएको, जन र मनसँग जोडिएको हुनाले हामी धर्मबाट विमुख हुन सक्दैनौँ । हाम्रा शासक, पुर्खा, देवीदेवता, मठमन्दिर, भूगोलमा वैदिक संस्कार र धर्म छ । विदेशीशरणार्थीहरु यसकारण नेपाल आउँछन् । साधनाका लागि नेपाल अब्बल भएको सबैलाई थाहा छ ।

हाम्रा कथा, अन्न, दिनचर्या हिन्दूको सुगन्ध छ । यसलाई फालेर के पायौँ विगत १८ वर्षमा ? जीवनदेखि जनार्दनसम्म गाँसिएको धर्म उखेल्दा हामी सकिन्छौँ । कांग्रेस र कम्युनिष्ट नाम गरेका अस्त्रलाई सोनिया गान्धीले राम्रोसँग सदुपयोग गरी राष्ट्रियता सिध्याउने काममा सफलता पाइन् । यो पाप सोनियालाई लाग्यो र आज उनको पार्टीलाई मोदीले कैयौँ वर्षसम्म सरकारमा नआउने गरी धकेलिदिए । नेपाललाई देवीदेवता र ऋषिले संरक्षण गरेको हुँदा जसले अन्याय गर्छ उसको नाश हुन्छ । यसको परिणाम माओवादी पार्टी, प्रचण्ड र बाबुरामले भोगीरहेका नियतिबाट प्रष्ट हुन्छ । ज्ञानेन्द्रसँगको रिसिवी हाम्रा तीथसँगको बदला लिनलाई यी विभीषणले धर्मनिरपेक्ष गराए ।

धर्मनिरपेक्ष भएपछि पार्टीकै कार्यकर्ताहरुले विश्वहिन्दू महासंघ खोले, वैदिक धर्मसंरक्षणका नाममा अनेक धन्दाहरु चलाए । धर्मका नाममा अनेकौँ संगठन, सम्प्रदाय र समूह हुँदा पनि राष्ट्रहितमा होइन पार्टी हितमा लागि परेका छन् । धर्म निरपेक्षपछि पश्चिमालाई क्रिश्चियन फैलाउन, भारतलाई स्वार्थ पुरा गर्न, दलाललाई लाभ लिन, पार्टीलाई दास पाल्न, नेतालाई झुण्ड जन्माउन सजिलो भयो । धर्मले इमानदार बनाउँछ, निष्ठामा राख्छ, स्वनिर्भर गराउँछ, जुन आवश्यकता राज्यले ठानेन । धर्मले मन्त्र सिकाउँथ्यो, मन्त्री हुर्काउँथ्यो, मन्त्रालयले मन्त्री पाउँथ्यो । मन्त्रीको मन कता छ, उनले माटोलाई कसरी पूज्छन्, राष्ट्रियतालाई के गरी बुझ्छन् सबैले देखेका छन् ।

धर्मनिरपेक्षपछि पार्टीलाई भाट र भजनमण्डलीले कब्जा गरेका छन् । बुद्धपूर्णिमा, म्हपूजा, माघी, गुरूपूर्णिमा, तीज, बडादशैँ, ल्होसार, दीपावली, उधौली, उभौली आदि पर्वहरु मनाउँदासम्म धर्म निरपेक्ष कसरी हुन्छ ? धार्मिकस्थल, देवस्थल र तीर्थस्थलहरूमा भक्तजनहरूको ओइरो उत्तिकै छ । पुराणवाचनबाट मन्दिर, विद्यालय, विश्वविद्यलय, वृद्धाश्रम आदिको निर्माण कार्य भइराखेका छन् । हाम्रा शास्त्र र गुरुले जनसेवा, तीर्थस्थल, प्राणीसेवामा टेवा दिएका छन् । आश्रमहरुले विद्या, बालक र वृद्धाको सेवा गरेका छन् तथापि राष्ट्रले धर्म चिन्दैनन्, धर्मको योगदानलाई बुझ्दैन । यहाँका देवस्थलहरुलाई पर्यटन, साधना, अध्ययनका लागि प्रयोग गर्न सक्नुपर्छ । प्रकृतिले सजाएको मनलाई तुरुन्तै आकर्षण गर्ने, पीडालाई भुल्न सहयोग गर्ने तीर्थस्थल रहेको भूमिलाई धर्मबिहीन बनाउनु दुर्भाग्यपूर्ण हो । मित्रराष्ट्रका तीर्थस्थल धाउने क्रम बढीरहँदा हामी भने मठमन्दिरका सदस्यसचिव र कोषाध्यक्ष जस्ता पदमा पार्टीका पृष्टलघूहरुलाई नियुक्त गरिरहेका छौँ ।

आगो लाग्यो आकाशमा झर्झर् गिर्‍यो अर ।

सन्त नभए  जगमा  जली मथ्र्यो   संसार ।।

धर्मजस्तो दीर्घकालसम्म असर पर्ने विषयमा राजनीतिक हस्तक्षेप एवं बाह्य प्रभाव हुनुहुँदैन । साधु–सन्त भनेका दुहुना गाई हुन्, सुन्दर फूलबारी हुन्, पीडाका औषधि हुन् । जसको व्यक्तिगत जीवन हुँदैन । उनीहरूले नि:शुल्कमा ज्ञान, अनुभव, सीप बाँडेर समाजलाई सुधार छन्, राष्ट्रलाई उजागर गर्छन् । साधुसन्तले निर्माण गरेको मठमन्दिर, पठशाला, पार्टी, पौवा आदिबाट समाजले फाइदा लिएको छ । त्रिभुवन विश्वविद्यलायको निर्माणका लागि रामनाथ अघोरीको योग्दान, गलेश्वरबाबा र खप्तड बाबाको समाजसेवा, ना∙ीमाताले स्थापना गर्न लगाएको पशुपतिनजिकैको वेदविद्याश्रम, योगी नरहरिनाथले स्थापना गराएको नेपाल संस्कृत विश्वविद्यालयको जग र छानाले बताउँछ कि धर्म र जोगीले के गरे ? बालागुरु षाडनन्ले दिङ्लामा विद्यालय चलाऊन् वा ज्ञानदिलदासले रुम्झाटारमा भजन र भोजनमा सुधार गरुन् सबैबाट राष्ट्रलाई नै सहयोग पुगेको थियो । भारतमा जन्मिएका रामनाथ अघोरीले भनेका थिए– “म जहाँ मरे पनि मेरो लास नेपाल पुर्‍याइदिनु” ।

साधु–सन्तबाहेक अरूले यस्तो भन्ने हिम्मत गर्दैन । हामीले यही नबुझ्दा बनेपामा अरबौँको लगानीमा बन्न लागेको अस्पताल स्वामी रामले भारतको देहरादूनमा बनाउन बाध्य भए । गुल्मीको रेसुङ्गालाई स्वर्ग बनाउन खोज्दा यदुकानन्दले अन्तमा आगो लगाएर हिँड्नुपर्‍यो । भारतमा इन्दिरा गान्धीले माँ आनन्दमयीको छत्रछायाँमा रहेर अगाडि बढिन् । नरेन्द्र मोदीको शिर देवालय र साधुको अगाडि भुक्छन् । नेपाल गुरुराष्ट्र हो तर यहाँका नेताको शिर कि त विदेशी, कि त डरल, कि त दलालसँग झुक्छ । भारतमा संस्कार सिकाउन आश्रममा लैजाने चलन छ । नेपालका आश्रममा गरिब, साहाराबिहीन आदिको मात्र भीड लाग्दछ । कमाउन सक्ने भएपछि फेरि आश्रमबाट निकालेर वोर्डिङ्गमा पुर्‍याइन्छ ।

बच्चादेखि “विदेशी शिक्षा, संस्कार र जीवनशैली” बन्दै गएकाले अहिलेको दुर्दशा आइपुग्यो । योगी नरहरिनाथले वि. सं. २०२८ सालको शिक्षाको नाम वानरे शिक्षा राखेको तथ्य सत्य सावित हुँदै गएको छ । नेपाललाई बुद्ध, सगरमाथा, गोरखाली, पशुपति, हिन्दूधर्मका नामले चिनिन्छन् । यहाँका शासकले आफूलाई यहीअनकूल चलाउँदै आएका थिए । राजसंस्थाका उत्तराधिकारीहरु परचक्रीको चक्रव्यूह तथा व्यापारमा केन्द्रित भएको मौका पारेर नेपालको पैतृक विरासतलाई विनाश गरियो ।

निरपेक्षको अर्थ हुन्छ– निर्गता अपेक्षा: इति निरपेक्ष:यस्य स धर्मे निरपेक्ष इति धर्मनिरपेक्ष:, तस्य भाव धर्मनिरपेक्षता अर्थात्, जहाँ धर्मको कुनै अपेक्षा र आशा छैन त्यसलाई धर्मनिरपेक्ष भनिन्छ । आफ्नो माटो, मौलिकता र मूललाई नाश गर्ने दलहरुलाई हटाएर पार्टी निरपेक्ष बनाउन जरुरी छ । धेरै बिराला हुँदा मूसा मर्दैन । अहिलेको समस्या धर्मको होइन गरिबीको, विभेदको, बेरोजगारको, महङ्गीको, विदेशी हस्तक्षेप हो । विदेशीलाई हिन्दूधर्मको जरो, वैदिक संस्कृतिको थलो, आर्यसभ्यताको जग, मन्त्रको सुगन्ध, तन्त्रको वासना नेपालमा छ भन्ने थाहा भएकाले धर्मनिरपेक्ष बनाइयो । नेपालमात्र यस्तो राष्ट्र हो जहाँ बौद्ध, हिन्दू र इस्लाम (मुसलमान) मिलेर बस्न सक्छन् ।

मुन्धुम, त्रिपिटक र वेदलाई पुज्न, पढ्न एवं आफ्ना शास्त्र संझन सक्छन् । वेदव्यास, सीता, जनक र बुद्ध जन्मेका, महादेव र पारुहाङ बसेको, महाकाली, महालक्ष्मी र महासरस्वतीलाई आमास्वरुपमा पुजिएको देशलाई धर्मनिरपेक्षताको लगौँटी पहिरिन सुहाउँछ ? यसलाई पुरुषार्थको पगरी संझेर शिर झुकाउनु दुर्भाग्य हो । जुन राष्ट्रमा वेद, मुन्धुम र त्रिपिटक लेखियो, जहाँका नदी र जंगलमा ऋषिमुनि छन्, पहाड र हिमालमा पारुहाङ तथा सुम्निमा बस्छन्, जसका तराईमा जनक र बुद्ध छन्, त्यो राष्ट्र कसरी धर्म निरपेक्ष हुन्छ ? धर्मका ज्ञाता, धर्मानुरागी जनता र धर्मगुरुहरूको पसिना एवं परिश्रमबाट बनेको राष्ट्र निरपेक्ष हुनु जरुरी छ ?

यहाँका गुम्बा, मठमन्दिर एवं हिन्दूहरूले राज्यलाई दिएको राजस्वबाट इस्लामधर्मवालम्बीलाई हज गर्न पठाइन्छ । हिन्दूधर्मले सबै जात, सम्प्रदायलाई मिलाएको मात्र छैन शरणागतहरुलाई आश्रयसमेत दिएको छ । पश्चिमाहरूको प्रभावले कुलदेवता, भूमे, स्थानीको पूजा रोकिएको छ । तिनीहरुको थान, मूर्ति, गुठी आदि अलपत्रमा परेकाले पारिवारिक, सामाजिक जीवनमात्र वर्वाद भएका छन् । स्वास्थ्य र सोचमा समेत बारम्बरा विचलन आएको छ ।

नेपाल जोगाउन– फुट डालो राज करोका अनुयायीलाई भगाउनुपर्छ । अन्यथा हाम्रो हालत सिक्किमको जस्तै नहोला भन्न सकिँदैन । ट्रनबुलका चेलाहरूले बाघको छालामा श्यालको दाइँ गरेका छन् । मुलुकको मूल, राष्ट्रको कुल र आफन्तहरुको हुललाई पहिचान गर्नुपर्छ । पुर्खाको इतिहास बचाउने, परम्परालाई अपनाउने काम हाम्रो हो । धर्म श्वास हो, संस्कृति पहिचान हो, संस्कार इतिहास हो, परम्परा जीवन हो, मुलुक आमा हो । आमालाई धपाउनु, इतिहासलाई मेटाउनु र अक्षुणतालाई भाग लगाउनु अपराध हो । धर्मनिरपेक्षले राष्ट्रको वैभव बढ्थ्यो भने वि. सं. २०६३ पछि हामीले के पायौँ प्रष्टै छ ।

कुतर्क गरिदिएर, गलत ठाउँमा, खराब समयमा, कुपात्रद्वारा मन्दिर निर्माण वा मूर्ति स्थापना गर्न लगाउने, जीर्णोद्धारका नाममा विधिलाई नमान्ने कुकर्म भएका छन् । पशुपतिको जलहरीमा सुनको लेप लगाउने, काभ्रेको भूइँचालो डाँडामा ब्रह्माजीको मूर्ति स्थापना गर्ने यसका नमूना उदाहरण हुन् । नेतालाई चुनावमा ज्योतिष, तान्त्रिक, पूजापाठ, मन्दिर चाहिन्छ । स्वार्थ पूरा भएपछि धरातल विर्सन्छन् । होलीवाइन्का मतियारले धर्म, संस्कृति, परम्परा खाँदै गएमा एक दिन बेहोमा नेपाल निल्न सक्छन् ।

अधर्मले सुरुमा राम्रो देखिन्छ, त्यसले मोज, सोख र आनन्द दिन्छ अन्तत: पीडा दिएर जान्छ, पापको फल चखाएर छोड्छ । शत्रुहरूलाई धनको बलले जित्छ तर अन्तमा जीऊ, धन र सन्तानसहित सबै नष्ट हुन्छ  । अन्यायले कमाएका हरेक उपलब्धीहरु जस्तो आयो त्यस्तै जान्छ । “विद्या पाँच पुस्तमा नासिन्छ धन तीन पुस्तमा नासिन्छ ”। जसले धर्म नाश गरेका छन्, धर्मको नाममा वितण्डा मच्चाएका छन्, समय आएपछि तिनीहरूको अवस्था देखिन्छ । हिन्दूधर्म सन्ततिको नासो हो, पुर्खाको उपहार हो, इतिहासको चिनो हो । साधना सिद्धि गर्ने, ईश्वरको अनुमति गर्न, मूर्तिको ऊर्जा बुझ्न, मन्दिरको महिमा जान्न नेपाल नै आउनुपर्छ । धर्मले नेपालको शोभा बढाएको छ, विदेशीलाई विश्वास दिलाएको छ, नेपाल आउने कारण बनेको छ, गरिबलाई आश्रय दिएको छ । धर्मको नाम संझेर सपथ ग्रहण गर्दासम्म विकृति र कुकृत्यले यसरी लगारेको थिएन ।

विश्वको एकमात्र हिन्दूराष्ट्रलाई संरक्षण गर्न नसक्दा सगरमाथाको शिर झुक्न सक्छ, बुद्धका आँखा रसाउन सक्छन्, पशुपतिको क्रोध बढ्न सक्छ, बुद्धको शान्ति भङ्ग हुन सक्छ, सन्ततिले धिकार्न सक्छन्, पितृहरुका आशीर्वाद रोकिन सक्छ, प्रकृतिले बाटो छोड्न सक्छिन्, समाज नाङ्गिन सक्छ, परिवार उजाडिन सक्छ । गणतन्त्रले युवालाई बस्तीबाट भगायो, प्रतिभालाई गुमायो, रोजगार आफैँ निदायो, क्याम्पसबाट विद्यार्थीलाई छिनायो । आमाबुबाको काख, श्रीमतीको साथ, सन्तानको आसलाई विस्तारै टाढा गरायो । अब गुरुहरूको विभाजन नहोस्, शास्त्रको अपमान नहोस्, आमाको बिक्री नहोस् हामी धर्मसापेक्ष नेपाली बनेर युगौँ युगौँ बाँच्न पाऊँ ।