बेइजिङ । चीनको राजधानी बेइजिङमा हुन लागेको ‘शीतकालीन ओलम्पिक’ अगाडि कोरोना भाइरससँग लड्ने प्रयासका रूपमा सहरका बासिन्दाहरूको व्यापक स्क्रिनिङ सुरु गरिएको छ ।
फेंगताई जिल्लाका २० लाख बासिन्दाका लागि बुधबार तेस्रो चरणको सामूहिक परीक्षण सुरु भयो।
मङ्गलबार राति सोशल मिडियामा परीक्षणका बारेमा घोषणा गरिएको थियो जसको थुप्रै मानिसले आलोचनात्मक टिप्पणी गरेका थिए । बिहान फेंगताईका जनताले पनि यसको आलोचना गरेका थिए।
“मलाई लाग्छ यो पटक पटक गर्नु ठीक होइन”, एक महिलाले भनिन्, “मैले हिजो परीक्षण गरेँ र आज फेरि गर्न भनियो। मैले स्वास्थ्यकर्मीलाई सोध्दा उनीहरुले अनुसन्धानको सिद्धान्तअनुसार सबैको स्क्रिनिङ गर्नुपर्ने बताए ।”
राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार चीनको राजधानी बेइजिङमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको डेल्टा स्वरुपका १४ नयाँ सङ्क्रमित भेटिएपछि कुल सङ्क्रमितको सङ्ख्या ५० पुगेको छ । राष्ट्रियस्तरमा २४ नयाँ केसहरू रिपोर्ट गरिएको छ। एपी











