१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी News Polar पार्टीमा अनुशासन कडाइका साथ लागू हुन्छ : अध्यक्ष ओली News Polar तरकारीखेतीले फेरिएको जीवन News Polar प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र विश्वविद्यालय होइनः कानुनमन्त्री गौतम News Polar नेप्से परिसूचक ९ अङ्कले घट्यो News Polar असोज १७ देखि तीन दिन भीषण वर्षा हुने खबर भ्रामक : मौसम विभाग News Polar हिमालमा जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति सभापतिमा पराजुलीको एकल उम्मेदवारी News Polar विदेशी सम्बन्धन प्राप्त शैक्षिक संस्थाका बारेमा अनावश्यक भ्रम नफैलाउन आईप्यानको आग्रह News Polar नेपाल–चीन सीमा नाकाका अवरोध हटाउन दुवै पक्षबीच गम्भीर संवाद News Polar मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु News Polar बाढीले सुस्ता पुर्‍याएको गैँडा उद्धार गरी चितवन ल्याइँदै News Polar काठमाडौँ महानगरले सामुदायिक विद्यालय, वडा कार्यालय र स्वास्थ्य केन्द्रको पानी परीक्षण गर्ने News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सैन्य तालिम केन्द्र होइन : मन्त्री गौतम News Polar मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती

बेसहाराको आश्रयस्थल बन्दै बालगृह

बेसहाराको आश्रयस्थल बन्दै बालगृह
अ अ+ अ-

धरान ।  बाँकेका १२ वर्षे सिमन तामाङ धरान उपमहानगर वडा नं ४ वसन्तटारमा रहेको लर्डस होम नेपाल बालगृहमा बस्न थालेको तीन वर्ष भयो ।

सानै उमेरमा बाबाको मृत्यु भएको र त्यसको दुई वर्षको नहुँदै आमाले अर्को विवाह गरेपछि उहाँ आफन्तको सहारामा बस्दै आएका उनी २०७८ सालमा उहाँको आफन्तको सहयोगमा धरान आइपुगेका थिए । यहाँ आएपछि तामाङले बालगृहमा आश्रम मात्रै पाएका छैनन् उनको पढ्ने रहर पनि पूरा भएको छ ।

पाँच कक्षामा अध्ययनरत उनी पढाइमा अब्बल मानिन्छन् । “यहाँ मलाई सबैले माया गर्नुहुन्छ । पढाइमा पनि सहयोग गर्नुभएको छ”, उनले भने, “हामी सबै जना मिलेर बसेका छौँ ।” तामाङका लागि मात्रै होइन, यतिबेला यो बालगृह उहाँ जस्तै नौ जनाका लागि आश्रयस्थल बनेको छ ।

कुशल गुरुङ घलेले विसं २०७४ मा दर्ता गरी व्यक्तिगत रु एक करोड २० लाख लगानीमा तीन कठ्ठा जग्गामा बालगृहमा सुरु गर्नुभएको थियो । हाल यस बालगृहमा सरकारी, निजीलगायतका क्षेत्रबाट सहयोग प्राप्त भइरहेको उहाँको भनाइ छ । सबैको साथ र सहयोगका कारण बालगृह सञ्चालनलाई अझ प्रभावकारीरुपमा सञ्चालनमा हौसला मिलेको घलेले सुनाउनुभयो ।

“बालगृहमा आश्रय खोज्दै आउने बालक बढ्दैछन्, हामीले एक पटकमा २० जनालाई राख्नसक्ने गरी क्षमताको बालगृह बनाएका छौँ”, उहाँले भन्नुभयो, “मुख्य उद्देश्य उनीहरुको पालपोषण र शिक्षादिक्षा राम्रो होस् भन्ने हो ।”

सात वर्षको उमेरमा धादिङबाट बालगृह आइपुगेका ११ वर्षे सउल तामाङ पनि आफूलाई यहाँ बस्न र पढाइमा कुनै समस्या नभएको सुनाउनुभयो । यहाँको वातावरण राम्रो हुनुका साथै घले अङ्कलको मायाले आफूहरु खुसी भएको उहाँले सुनाउनुभयो ।

“उहाँहरुले हामीलाई निकै मायाका साथ राख्नुभएको छ, कुनै कमी हुन दिनुभएको छैन”, उनले भने, “पढ्न, खान र बस्नका लागि कुनै समस्या छैन ।” उहाँ अहिले कक्षा ६ मा पढ्नुहुन्छ । पाँच कक्षाको नतिजामा उहाँ कक्षामा तेस्रो हुनुभएको थियो ।

बालगृहमा आश्रय लिएकामध्ये बाँकेका १६ वर्षे सन्देश सुनार उमेरका हिसाबले सबैभन्दा जेठो हुनुहुन्छ । उहाँ अहिले कक्षा ११ मा पढ्नुहुन्छ । “घरमा हुँदा खान पनि समस्या थियो, पढाइ पनि प्रभावित भएको थियो”, उहाँले भन्नुभयो, “यहाँ बस्न थालेपछि धेरै सहज भएको छ । खान र बस्नको चिन्ता छैन । पढाइ पनि सुध्रिएको छ ।”

भारतका कश्मिरमा जन्मिनुभएका घले बालगृह सञ्चालनमा आफ्नै विगत पनि जोडिएको बताउनुहुन्छ । दुई वर्षको छँदा आमा गुमाउनुभएका घलेले बुबाको माया पनि पाउनुभएन । दुर्घटनामा आमालाई गुमाएपछि बेसहारा बन्नुभएका उहाँको त्यसपछिको बाल्यकाल दिदीको सहयोगमा चितवन बितेको थियो ।

“मलाई पनि सानैमा आमा गुमाएको पीडा छ, त्यो बेला दिदी अभिभावक बन्नुभयो, अहिले म यी अबोध बालकहरुको अभिभावक बन्न पाउँदा खुसी लागेको छ”, उहाँले भन्नुभयो, “कुनै पनि बालक बेसहारा बन्नु नपरोस् भन्ने मेरो चाहना छ ।”

उहाँका अनुसार अहिले बालगृहमा धादिङ, जाजरकोट र बाँकेलगायतका जिल्लाबाट आएका बालकले आश्रय लिइरहेका छन् । बालगृहमा बालकहरुको पालनपोषण र पढाइको व्यवस्था मिलाइएको छ । विद्यालयमा पनि उनीहरुले अब्बल बन्दै गएको देखिएको उहाँको भनाइ छ । बालगृहमा कक्षा १ देखि कक्षा ११ सम्मका विद्यार्थीहरु रहेको उहाँले बताउनुभयो ।

“बालबालिकालाई राम्रो खान र बस्न मात्रै दिएर पुग्दैन, उनीहरुलाई माया र स्याहारको ठूलो खाँचो हुन्छ, त्यसतर्फ हामी सचेत छौँ, उनीहरुलाई मायाको कमी नहोस् अभिभावकविहीन हुनुपर्दाको दु:ख नहोस् भन्नेमा ख्याल राखेका छौँ”, घलेले भन्नुभयो । उहाँ भविष्यका कर्णाधार भनिने बालबालिकालाई आवश्यक सहयोग गरिरहेको र उनीहरुको आवश्यकताअनुसार सबै सुविधा उपलब्ध गराउने प्रयास गरिरहेको बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय सुनसरी, ललितपुर पुलचोकस्थित राष्ट्रिय बाल अधिकार परिषद् र सामाजिक विकास मन्त्रालय प्रदेशमा सूचीकृत भई बालगृह सञ्चालनमा ल्याइएको हो । पछिल्लो समय बालगृहमा जनप्रतिनिधि, समाजसेवीलगायतले समय समयमा सहयोग गर्दै आउनुभएको उहाँको भनाइ छ ।

बालगृह निर्माणका क्रममा धरान उपमहानगरपालिकाका वडा नं ४ को कार्यालयले प्रवेशद्वारा निर्माण गरिदिएको थियो भने धरानका जनप्रतिधिहरुले श्रमदान गर्नुभएको थियो । साथै धरानस्थित सियोन स्कुलले रु ७० हजार सहयोग गरेको थियो । साथै धरान उपमहानगरपालिकाका तर्फबाट नगर प्रमुख हर्कराज साम्पाङ राईले तीन सय ३७ ट्याक्टर ढुङ्गा उपलब्ध गराउनुभएको थियो । घले सन् २०१८ मा नेपाल सरकार र ‘द लाइट हाउस फाउण्डेसन’ नेपाललगायत दर्जनौँ सङ्घसंस्थाबाट पुरस्कृत भइसक्नुभएको छ ।  रासस