२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत गौरवशमशेर जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता News Polar पूर्वसांसद डा. विजय पौडेलको निधन News Polar कांग्रेसको अल्पसङ्ख्यक तथा अपाङ्गता क्लस्टरको मतगणना भोलि बिहान १० बजेदेखि News Polar नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी News Polar कांग्रेसको १५औँ महाधिवेशन : युवा खुलातर्फको मतगणना साँझ ६ बजेदेखि सुरु गर्ने तयारी News Polar अमेरिकाका लागि प्रश्तावित राजदुत थापाको प्रतिवद्धताः ‘नेपालको राष्ट्रिय हित नै सर्वोपरि, कन्सुलर सेवालाई चुस्त बनाउनेछु’ News Polar एमालेमाथि घेराबन्दी कायमै रहेको ओलीको दाबी, एकजुट भएर प्रतिवाद गर्न निर्देशन News Polar मानसिक स्वास्थ्यसम्बन्धी ऐन निर्माणको तयारीमा सरकार News Polar जलवायु जोखिम न्यूनीकरणका लागि वातावरणमैत्री पूर्वाधार निर्माणमा जोड : विद्यादेवी भण्डारी News Polar चीनसँगका नाका पूर्ण क्षमतामा सञ्चालन गर्ने राजदूत शर्माको प्रतिबद्धता News Polar कांग्रेसलाई गुटरहित बनाउन विजेता र पराजित सबैलाई सँगै लैजानुपर्छ : खड्गी News Polar अमेरिकाका लागि प्रश्तावित राजदुतलाई सांसदहरूको प्रश्नः सैन्य सहयोगदेखि डायस्पोराको समस्यासम्ममा स्पष्ट योजना के छ ? News Polar उदयपुरमा एक हजार ४० केजी गाँजा बरामद News Polar न्यूनतम समर्थन मूल्यमा ६७ करोड ५० लाख रुपैयाँको धान खरिद गरिने News Polar ट्रक दुर्घटनामा चालकको मृत्यु News Polar बेलुका ११ बजेदेखि भोलि बिहान ५ बजेसम्म पृथ्वी राजमार्ग बन्द हुने News Polar विशेष प्रकृतिका विद्यालयलाई शिक्षा ऐनमै समेट्नुपर्नेमा जोड News Polar कांग्रेस केन्द्रीय सदस्यको मतगणना भोलि बिहानदेखि News Polar कार्यालय सहयोगीलाई जीवनरक्षा तालिम सुरु

अलैँची उत्पादनमा वृद्धिः मूल्य ह्वातै झर्यो ३५ सयबाट ५ सयमा

अलैँची उत्पादनमा वृद्धिः मूल्य ह्वातै झर्यो ३५ सयबाट ५ सयमा
अ अ+ अ-

हरि राई ,
उदयपुर । जिल्लाको पहाडी क्षेत्रमा वर्षेनी ब्यापक अलैँची उत्पादन वृद्धि हुँदै आए पनि यसले उचित मूल्य पाउन सकेको छैन । महत्वपूर्ण नगदेबालीको रुपमा रहेको अलैँची खेतीप्रति उत्साहित किसान उचित मूल्य नपाउँदा भने निराश देखिएका छन् ।  

कुनै समयमा राम्रो मूल्यमा बिक्री हुने गरेको कारण अलैँची खेतीमा हौसिएर जिल्लाका पहाडी क्षेत्रका किसानले अलैँची उत्पादन वृद्धि गर्न थाले पनि अहिले भने जस्तो उचित मूल्य पाउन नसक्दा अलैँची उत्पादक किसान निराश बन्न थालेका छन् । विगतका वर्षमा तीन हजारदेखि तीन हजार ५०० रुपैयाँ प्रतिकिलो मूल्यमा बिक्री हुने गरेको अलैँची अहिले ५०० रुपैयाँदेखि ८०० रुपैयाँसम्म मात्र भएपछि यहाँका अलैँची उत्पादक किसान अन्य कृषि बालीतर्फ आकर्षित हुने सम्भावना छ ।  

जिल्लाको मध्यपहाडी क्षेत्रको रौता, भुटार, पाँबु, इनामे, नामेटार, तावाश्री, साउने खाँबु, अँधेरी, छामलिङ, आँपटारसहित पश्चिमी पहाडी क्षेत्रको बाहुनीटार, सोरुङ, सिरीसे, हर्देनी, मयङ्खु क्षेत्रका किसानले उत्पादन गर्दै आएको अलैँचीले यसवर्ष उचित मूल्य पाउन नसकेको किसान बताउँछन् ।

रौतामाई गाउँपालिका–५ आँपटारका अलैँची उत्पादक किसान वीरबहादुर राई आफूले केही वर्षयता आएर उत्पादन गरेको अलैँचीले उचित मूल्य नपाएकामा यस्तो गुनासो गर्छन् । “पहिला–पहिला अलैँचीको मूल्य राम्रो भएका कारण आर्थिक आम्दानीको लागि अलैँची खेतीमा लागियो, हिउँद, बर्खा दुःख ऋणपान गरेर अलैँची उत्पादन गर्न शुरु गयौँ, तर मङ्सिरदेखि अलैँचीको मूल्य पर्खेर बसे, अहिले झनै घटेर ५०० रुपैयाँदेखि ८०० सम्म मात्र प्रतिकिलो मूल्य छ, यस्तो मूल्यमा कसरी दुःख गरेर उत्पादन गरेको अलैँची बिक्री गर्ने, आफूहरु निराश हुनुबाहेक अरु केही रहेन ।”
    
अहिलेको मूल्यमा अलैँची बिक्री गर्दा आफूहरुको आर्थिक लगानी र श्रम पनि नउठ्ने तथा अलैँची बारीमा काम गर्ने मजदूरको ज्यालासमेत तिर्न नपुग्ने गुनासो ताप्ली गाउँपालिका तावाश्रीका पञ्चमान तामाङको रहेको छ । उहाँ भन्नुहुन्छ, “बरु मङ्सिर÷ पुससम्म एक हजारदेखि एक हजार ५०० रुपैयाँ प्रतिकिलो मूल्य रहेको थियो, अहिले त झनै अलैँची व्यापारीले ५०० देखि ८०० रुपैयाँ प्रतिकिलोमा मूल्य झारे, अब अलैँची बिक्री गर्नु भन्दा आगोमा डढाएर मन बाध्नुबाहेक आफूहरुको अरु विकल्प छैन ।”

जिल्लाका सदरमुकाम गाईघाट तथा मुर्कची बजारका स्थानीय अलैँची खरीदकर्ताले विराटनगर इटहरी क्षेत्रमा अलैँचीको मूल्य घटेको भन्दै अहिले उदयपुरको पहाडी क्षेत्रमा उत्पादन हुने अलैँचीको मूल्य प्रतिकिलो ५०० रुपैयाँदेखि बढीमा एक हजार रुपैयाँ प्रतिकिलो निर्धारण गरेपछि यस क्षेत्रका किसान मारमा पर्नु परेको किसानले व्यापक गुनासो गर्न थालेका छन् ।
    
उदयपुर गढी डुम्रेका अलैँची उत्पादक किसान रामबहादुर मगर भन्नुहुन्छ, “पहिला–पहिला अलैँची प्रतिकेजीको मूल्य चार हजारसम्ममा बिक्री हुने भनेको सुनेर आफू पनि हौसिएर यो खेतीमा लागेका हौँं, तर दुई वर्षदेखि आफूले पनि अलैँची उत्पादन गरेर बिक्री गर्न शुरु गरेपछि मूल्य नै नपाउने गरेको कारण बेकारमा यो खेतीमा लगाइएछ भन्ने पछुतो लाग्न थालेको छ ।”
    
पहिला अलैँची उत्पादनबाट राम्रो आर्थिक आम्दानी गर्न सकिन्छ भनेर व्यावसायिक रुपमा अलैँची खेतीमा लागे पनि वर्षेनी झनै अलैँचीको मूल्य घट्ने गरेको र अलैँची खरीदकर्ताले मूल्य नै दिन छाडेपछि अहिले उदयपुरका अलैँची उत्पादक किसान निराश बन्न थालेका हुन् । रौतामाई आँपटारका किसान हर्कधन राईका अनुसार पहिला अलैँचीको मूल्य धेरै राम्रो हुँदा धेरै किसान यसतर्फ आकर्षित भएका थिए ।
    
राईका अनुसार खोटाङ, भोजपुर सङ्खुवासभाका एक किसानले वर्षमा अलैँची बिक्रीबाट करोडौँ कमाउँछन् भन्ने सुनेर आफू पनि हौसिएर व्यावसायिक अलैँची खेतीमा लागेको राई बताउनुहुन्छ । अहिले आफूले वार्षिक दशबोरासम्म अलैँची उत्पादन गर्न थालेपछि मूल्य नपाउँदा वर्षको दुई लाखमा पनि बिक्री गर्न मुश्किल हुने गरेको राईको गुनासो छ ।
    
गाईघाटका एक अलैँची खरीदकर्ता सुरेश साहका अनुसार नेपालका धेरै अलैँची विराटनगर हुँदै भारत पैठारी हुने गरेको र भारतीय व्यापारीले मूल्य दिन छाडेपछि विराटनगरका व्यापारीले पनि खरीद गरेको अलैँचीको उचित मूल्य नदिने गरेको कारण पनि आफूहरुले पनि अलैँचीको मूल्य किसानको मागअनुसार दिन नसक्ने बताउँछन् । अन्य पहाडी जिल्ला खोटाङ, सङ्खुवासभा, पाँचथर र इलामका किसानको अलैँची खेती र बिक्रीबाट आर्थिक आम्दानी भएको सुनेर र देखेर प्रभावित हुँदै १० वर्षदेखि यता आएर जिल्लाका पहाडी क्षेत्रका किसानले वर्षेनी व्यापक रुपमा अलैँचीखेती वृद्धि गर्दै आएका छन् ।
    
जिल्ला कृषि ज्ञान केन्द्रका अनुसार अहिले जिल्लाको पहाडी क्षेत्रमा झण्डै ५७ हेक्टर क्षेत्रफलभन्दा बढी जग्गामा व्यावसायिक अलैँचीखेती हुन थालेको छ । चार वर्ष अघिसम्म जिल्लाको पहाडी क्षेत्रका विभिन्न स्थानमा झण्डै २९ हेक्टरमा अलैँचीखेती हुँदै आएको थियो भने अहिले व्यापक विस्तार हुँदै ५५ हेक्टर क्षेत्रफलमा उत्पादन हुन थालेको कृषि ज्ञान केन्द्रका सहायक अधिकृत नरनाथ रेग्मी बताउनुहुन्छ ।
    
केन्द्रका अनुसार अहिले जिल्लाको पहाडी क्षेत्रमा मुख्य गरेर डम्बरसाई, गोल्छाई र रामसाई जातका अलैँची उत्पादन हुने गरेको छ । किसानले दुःख गरेर उत्पादन गरेको अलैँचीको मूल्य केही बिचौलिया र व्यापारीले निर्धारण गर्ने गरेको र यसमा जनप्रतिनिधि र राज्यको समेत ध्यान जान नसक्दा किसान मर्कामा परेका छन् । रासस