४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

बनै खायो डढेलोले ….

बनै खायो डढेलोले ….
अ+ अ-

पर्म सकेर ढुङ्गामाथि टुक्रुक्क बसेकी महिलाले पारी भिरको डढेलो हेर्दै भाका हालेर गीत गाईन् –

बनै खायो डढेलोले ….

पछाडि उभिएका पुरुषले भाका बिगारेर व्यंङ्ग्य गर्दै थपे –

मनै खायो यो पापीे सरकारले … …

काठमाडौं–पोखरा निर्धारित उडान रद्द भएपछि माईक्रोबसमा पोखरा हुँइकिरहेको पंक्तिकारले यो कारुणिक दृश्य देख्नु सुन्नु पर्‍यो । सायद, जीवनभरि त्यो दृश्य अमिट छाप भएर बस्नेवाला छ ।

यो दृश्यलाई सत्य साबित गर्ने गरि थानकोट पार गर्नासाथ वारिपारि, तल–माथि, अगाडि पछाडि सर्बत्र डढेलो लागिरहेको थियो । आगोको मुस्लो उफ्रीउफ्री, पड्कीपड्की तुफान फैलिएको देखिन्थ्यो । र, अर्को आश्चर्य के थियो भने डढेलो एक्लै थियो । फुक्का थियो । छाडा थियो । जीवजन्तु, चराबचरा, पुतली र सरीश्रृपलाई भाग्न, उड्न नदिने तीब्र गतिमा थियो । कलिलो हरियो पालुवा हालेको बनजंगललाई सय फिट टाढैबाट निल्न सक्ने सर्वशक्तिमान थियो ।

हामी स्वयंसेवक कन्भर्टेड र जुनियर रेञ्जर्स भएर कोरियन नेसनल पार्क सर्भिसका ५ जना प्रोफेसनल रेञ्जर्सलाई पुनहिल पदयात्रा लगिरहेका थियौं । ६ महिना अग्रिम कार्यक्रमलाई खराब मौसमको बहानामा रद्द गर्ने छुट हामीलाई थिएन । हामी पिंठ्युमा भारी बोकेर निलो आकासमुनिको सेतो हिमालको खोजीमा उकालो उक्लिरह्यौं । हामीलाई पिरो विषाक्त धुँवा धुलो खरानीले छोपिरह्यो । पुरिरह्यो । र, मेरो मन पिरले गुन्गुनाइरह्यो –

मनै खायो डढेलोले … …

वास्तवमा हामी १० जना रेञ्जर्सको मन डढेलोले खाइरहेको थियो ।

यो आलेख त्यही कहालीलाग्दो डढेलोको सेरोफेरोमा केन्द्रित हुनेछ ।

गन्तव्य पुनहिल

हाँस्दै गाउँदै नाच्दै रमाउँदै गन्तव्य पुनहिलमा फष्टलाइट अगावै ५ बजे पुग्दा निलो आकासमा सेता हिमाल धौलागिरि, अन्नपूर्ण साउथ, हिमचुली, माछापुच्छ्रे तुर्लुङ्ग झुण्डिरहेको मनोरम दृश्य देख्न पाइयो । कोरियन रेञ्जर्सले चिच्याएर भने –

“हामी नजाने । हामी यहीं बस्ने । बसिरहने ।”

उनीहरुले हिमाल हेरेर खुसी उद्गार गरिरहँदा म फर्किने बाटोभरि डम्म जमेर बसेको धुँवा र खरानी हेरेर चिन्तित थिएँ । मेरो मनलाई डढेलोले खाइरहेको थियो ।

धुँवा छिचोल्दै हामी पोखरा पुगेर पुन: सडकयात्रा मार्फत चितवन राष्ट्रिय निकुञ्ज हुँदै काठमाडौं पुग्यौं । ५ दिन अगाडिको डढेलो फैलिएर डाँडाकाँडा भष्म पारिसकेको धुँवाको मुस्लो अझै नजर आइरहेको थियो । पुन: हामी सबैको मुटु खायो डढेलोले …

अतित र वर्तमान

करिब ३५ वर्ष अगाडि चीनबाट प्राप्त एण्टिएयरक्राफ्ट गन लिन हामी तातोपानीमा एकत्रित भयौं । पहिरो पन्छाउन र भिरको आगो निभाउन प्रधानसेनापति स्वयंले सेटबाट आदेश दिन्थे –

“त्यो भिरको आगो १२ घण्टाभित्र निभाएर मलाई रिपोर्ट गर्नु ।”

हामीले ७ घण्टामा पानी, माटो, स्याउलाले हानी हानी आगो निभायौं । सायद त्यसबेला हौसला जोस जाँगर अनुशासन दोब्बर धेरै थियो ।

१५ वर्ष अगाडि पुन: देशैभरि डढेलो लाग्यो –

प्रधानसेनापतिको आदेश गिर्‍यो – “२४ घण्टाभित्र देशभरिको आगो निभाएर मलाई रिपोर्ट गर्नु । चाहिने सम्पूर्ण हवाईसाधन, यातायात साधन, सैनिक जनशक्ति र स्रोतसाधन अपरेसनले दिनु ।”

२० वर्ष पछिको सेना १२ घण्टा ढिलो भएको हो कि आगो दोब्बर शक्तिशाली भएको हो भनेर मैले मनमनै समीक्षा गरें । जे होस् पूर्व सैनिक नेतृत्वहरुको प्रकृतिको अपनत्व, संरक्षण स्वामित्व, पहलकदमी र निर्णय क्षमता अद्भूत धेरै थियो । बाघ जस्ता ती नेतृत्व सत्चित शम्सेर जबरा र रुकमाङ्गद कटवाल राष्ट्रिय विपद्लाई फू …. गरेर पन्छाउने हिम्मतवाला थिए ।

परिपक्व र संस्थागत् हुँदै गएको कुशल विपद् व्यवस्थापनको बिरासत् पछि प्रधानसेनापतिहरु गौरव शम्सेर राणा र पूर्णचन्द्र थापाको पालामा समेत देखेर गौरव गर्न पाइयो; जसले क्रमश: महाभुकम्प र कोभिड महामारीको व्यवस्थापनमा अपूर्व योगदान दिएर पीडित जनताको रक्षा कल्याण सम्मान गरे ।

उद्धारको पछिपछि लगत्तै अराजनीतिक परोपकारी संघसंस्थाहरु राहत सामग्री लिएर पीडितकोमा पुग्दथे । पुरानो रेडक्रसको गौरव गाथा कति गर्वयोग्य थियो । उद्धारकर्मीको शिर ठाडो हुन्थ्यो ।

राज्यको वर्तमान पुनरसंरचना लागु हुनु अगाडि वन विभागका महानिर्देशक मन बहादुर खड्काले आफ्नै कार्यकक्षको सिसिटिभि हेरेर सरोकारवाला सम्पूर्णलाई शीघ्र परिचालन, समन्वय, अनुगमन गरेर देशभरिको डढेलो नियन्त्रण गरेको देख्दा मलाई लाग्दथ्यो – वनको चेन–अफ्–कमाण्ड कति सशक्त र सानदार ! प्रदेश संरचना अगाडिको वन मन्त्रालय र वन विभाग सर्वशक्तिमान र एकढिक्का थियो ।

निकुञ्जहरुमा नियन्त्रण बाहिरको डढेलो कल्पना बाहिरको अक्षम्य मानिन्थ्यो । व्यवस्थापन र सुरक्षा फेलरको अक्षम्य अपराध हो त्यो ।

सामुदायिक वनहरुले पत्कर सोरेर वन सिनिक्क सफा बनाउँदथे । अथवा, माघ फाल्गुण भित्र कन्ट्रोल फायर लगाइसक्थे ।

ती बाहेकका डढेलोलाई सरकारले शीघ्र नियन्त्रणको आदेश दिन्थ्यो । अथवा, बिना आदेश स्थानीय समुदाय, वनकर्मी, सुरक्षा निकायहरु सबै मिलेर स्वस्फूर्त स्वबिबेक र स्वनिर्णयमा आगो निभाई सक्थे । विपदमा खट्टिन र जनधन प्रकृतिको रक्षा कल्याण गर्न कसैलाई कसैको आदेश चाहिँदैन । यो सर्वमान्य सर्वस्वीकृत विश्वव्यापी अभ्यास हो ।

आदेश चाहिन्छ भने त्यो असफल राष्ट्रको अधोगतिउन्मुख बिनासकाले घामट् हर्कत हो भनेर बुझ्दा हुन्छ । अथवा, राज्यमा चेन–अफ्–कमाण्ड निस्क्रिय र भङ्ग छ भनेर बुझ्न सकिन्छ ।

बिडम्बना, वर्तमान सत्ता र सरकार आफैँ भित्र भित्र डढेलोले ग्रस्त छ । डढेलोले राजनीतिको जरोकिलो डढेर खरानी भएको छ । दलहरुभित्रको डढेलो बारैमहिना बारैकाल जारी छ । साथमा अवैध हतियार र पेट्रोल बम बोकेर अरुलाई डढेलो लाउने र आफू खरानीको टिका लगाएर भएपनि सत्तामा बसिरहने राष्ट्रिय डढेलो हाम्रो राजनीतिक नियति भएको छ । संघदेखि प्रदेश यही सत्ता डढेलोको नियतिले ग्रस्त छन् । सरकारको बचेकुचेको थोरै समय आफू अनुकूल बजेट बनाउने, बंग्याउने, बिगार्ने बिचौलिया र दलालहरुले हत्याएका छन् ।

प्रकृतिको सुन्दर स्वच्छ शान्त मुलुक विश्वकै पहिलो दोश्रो तेश्रो प्रदुषित दर्ज हुनु र विश्वकै अलौकिक सुन्दर पर्यटकीय नगरी पोखरा धुँवा र खरानीले हप्तौंसम्म छोपिएर पर्यटक निस्सासिने अवस्था आउनु राष्ट्रिय कलङ्कका घडी हुन् । जनता र पर्यटकको स्वास्थ्य जोखिमसँगको खेलबाड उस्तै अक्षम्य छ ।

पछिल्लो ३ वर्षमा ३२५ बढी मानिसको डढेर मृत्यु हुनु, १३७९ घाइते हुनु, ६ हजार बढी पशुधनको मृत्यु हुनु, ४ हजार बढी घर जलेर खरानी हुनु र करिब रू. ८ अर्बको भौतिक क्षति हुनु चरम सरकारी लापर्वाही हुन् ।

यो नयाँ वर्षको प्रारम्भमै डढेलो फैलिएर ६६ जिल्लाको वनजंगल लगायत बस्ती गोठ भष्म बनाउनु, ७ जनाको मृत्यु हुनु, ३०२ घर जलेर खरानी हुनु, ३०० बढी चौपायाको मृत्यु हुनु र अर्बौंको भौतिक क्षति हुनु असफल राज्यका सूचक हुन् ।

यो कहालीलाग्दो अवस्थामा सरकार कत्तिपनि संवेदनशील नहुनु र मृतक घाइते र अग्निपीडित प्रति समवेदना सहानुभूति नदर्शाउनु तथा राष्ट्रिय उद्धार राहत परोपकार र कल्याणकारी मद्दत जुटाउन नसक्नु राष्ट्रिय धर्म, सत्कर्म तुरिएको प्रमाण हुन् । राष्ट्रिय नेतृत्व, नीति, नैतिकता, कुटनीति, अर्थनीति, न्याय, प्रशासन इतिहासमा यति निरीह र निकम्मा सायद कहिल्यै थिएन ।

आगोलाई एक्लै छाड्ने र निभाउने प्रयास नदेखिनु राष्ट्रिय अनुशासन, तदारुकता, हौसला, मनोबल, जाँगर, साहस, समन्वय, सहकार्यको शिर छेदन भएको सङ्केत हो । देशभक्ति, प्रकृतिभक्ति, पशुभक्ति उत्प्रेरित स्वःस्फूर्त स्वयंसेवा, स्वविवेक र स्वनिर्णयमा बिर्को लागेको दुर्भाग्य छ ।

यत्रो बिनास र राष्ट्रिय अपमान हुँदा समेत सरकार, प्रतिपक्ष, दलहरु, चुँइक्क नबोल्नु भनेको राष्ट्रिय जवाफदेहीता तथा प्राकृतिक र सामाजिक न्याय समाप्त भएको सफेद प्रमाण हो ।

७ वर्षमा आगो लगाउने, विध्वंसकारी १ जनामात्र पक्राउ पर्नु भनेको यहाँ कानूनी राज्य, विधिको शासन र कानूनका आँखा, कान छैन भन्ने प्रमाण हो ।

कानूनी राज्य र प्रकृतिप्रेमी सत्ता भएको भए ७ प्रदेशमा कम्तीमा ७ जनालाई पक्राउ गरेर कानूनी दायरामा ल्याउँदा आगलागीका घटनाहरु स्वत: घट्ने थिए । वन ऐन २०७६, दफा ५०, उपदफा ४ ले आगजनी गराउने कसुरवालालाई क्षति भएको बिगो असुल उपर गरेर ३ वर्ष कैद वा ६० हजार रु. जरिवाना वा दुबै सजायको प्रावधान तोकेको छ ।

राजनीतिक विकृति, कुशासनजन्य कमिसनतन्त्र, लुटतन्त्रले आमजनताको वितृष्णा र तनाव चुलिएको र राष्ट्रिय आक्रोश र आक्रमणमा परिणति भइरहेको बिडम्बना छ । धेरैजसो डढेलोहरु सरकार बिरुद्ध झोसिएको आगो हो भन्ने म्याग्दीका युवाको तर्कले आक्रोशको आगो ओकलिरहेको भान हुन्थ्यो । हामीलाई दास बनाएर हाम्रो संरक्षण क्षेत्र व्यापारीलाई बेचिखाने सरकारलाई हामी छाड्ने छैनौं र घोडेपानीको आकासबाट जोमसोम लैजाने केवलकारलाई ध्वस्त बनाइछाड्ने उनको संकल्पले स्थानीयको आक्रोश चुलिएको छर्लङ्ग देखाउँदथ्यो ।

डढेलोले बितण्डा मच्चाइरहँदा र अवोध प्रकृति एवं पीडितले सरकार, उद्धार, राहत खोजिरहँदा सरकार उदासीन र गयर पर्नु अक्षम्य हेलचेक्र्याइ थियो ।

सुझाव

पहिलो, संघीयता प्रकृतिको खिलाफमा छ । भुगोल र नदी प्रणाली विरुद्ध छ । राष्ट्रिय हित र राष्ट्रिय सुरक्षा विरुद्ध छ । संघीयता खारेजीले जल जमीन जंगल जीव जडिबुटीमाथि केन्द्रीय अधिपत्य कायम रहन्छ र रहनु पर्दछ । वन भनेको हरियो टालोको टुक्रा होइन, ७ भाग अंशवण्डा लगाउने र पोलेर काटेर बाँडेर छिनेर लुटेर खाने । तसर्थ, अन्तर्राष्ट्रिय अभ्यास अनुसार ७७ जिल्लाका ८८ डिभिजन वन कार्यालयहरुलाई शीघ्रा ती शीघ्र केन्द्र सरकारको मातहतमा ल्याउनुपर्दछ । किनभने वन क्षेत्र भनेको राष्ट्रिय माटो हो त्यो आकासदेखि पातालसम्म फैलिएको हुन्छ र अमूल्य हुन्छ ।

दोस्रो, प्रकृति संरक्षणको राष्ट्रिय संकल्प पूरा गर्न, जलवायु परिवर्तनको पेचिलो मुद्दालाई केन्द्रीकृतरुपमा सम्वोधन गर्न, अन्तर्राष्ट्रिय संरक्षण संघ–संस्था र पक्षराष्ट्रहरुसँग गरेको सन्धि संझौता पूरा गर्न समेत प्रदेश मातहत जबरजस्त राखेको वन क्षेत्रलाई अबिलम्ब सच्याई केन्द्रीय संरक्षण छातामुनि ल्याउनुपर्दछ ।

तेस्रो, हरेक जिल्ला वन कार्यालयमा एउटा १४ हजार र अर्को २० हजार लि. को दुई फायर ट्याङ्कर भेहिकल हुनुपर्ने । सम्वेदनशीलता अनुसार एउटा फायर ट्यांकर सब डिभिजन वन कार्यालयमा समेत राख्न उपयुक्त हुने । साथै, क्षेत्रीय सैनिक, सशस्त्र र प्रहरी अड्डाहरुमा समेत त्यस्ता २/२ वटा फायर ट्याङ्कर तयारी अवस्थामा राखिनुपर्ने ।

चौथो, फायर ट्याङ्कर जान नसक्ने ठाउँको लागि र ग्राउण्ड फोर्सलाई मनोबल बढाउन तथा फायर फाईटिङ्ग फोर्स माल्टिप्लाई गर्न २ वटा एयर फायर ट्याङ्कर (हेलिकोप्टर) जिटूजि मार्फत खरिद गरि नेपाली सेनाको मातहतमा राख्ने ।

पाचौं, डोजर प्रेममा बाँधिएका स्थानीय पालिकाहरुले कम्तीमा एउटा चालु हालतको दमकल तयारी अवस्थामा राख्नुपर्ने ।

छैठौं, केन्ट्रोल फायर माघ फाल्गुणमा लगाई सक्न, वन सफा राख्न र चैत्र बैशाखमा डढेलो नलगाउन स्थानीय समुदायलाई अनिवार्य संरक्षण शिक्षा र सचेतना दिने । दण्ड पुरस्कार नीति अवलम्बन गर्ने । साँझ बिहान संयुक्त गस्ती बढाउने र आगो लगाउनेलाई अनिवार्य पक्राउ गरि कडा दण्ड सजाय दिने ।

सातौं, स्थानीय पालिकाहरुले डाँडाको चुट्टी, छाती, कन्दानी, फेदीमा तहगत १०/१२ तल्ले पोखरीहरु बनाउने ।

आठौं, आगो नियन्त्रणमा जीवन उत्सर्ग गर्ने फायर फाईटरहरुलाई संरक्षण सहीद घोषणा गरेर आश्रित परिवारलाई राहत रकम उपलब्ध गराउनु पर्ने ।

उपसंहार

अवोध प्रकृति र देशव्यापी डढेलोले राजनीतिक स्थिरता, राष्ट्रिय एकता एवं हरित सुशासन दिने स्थायी र जवाफदेही सरकारको माग गरिहेको छ ।आगामी वर्षहरुमा अरु बिकराल सुख्खा र गर्मी बढ्ने छ । यो वर्षमा भोगेको राष्ट्रिय कलंक, अपमान र बदनाम अर्को वर्ष दोहोरिन दिनु हुँदैन । १ हप्तापछि वर्षात हुनेछ र प्रकृतिले मानव निर्मित डढेलो नियन्त्रणमा लिने छिन् । सत्ता र सरकारले हिजोको लाज र बेइज्जत बिर्सने छ र भोजमा रमाइरहने छ ।

प्रकृति संरक्षणको सुनौलो इतिहास रचेको गौरवशाली मुलुकले प्रकृति र माटोमुरीको अंशवण्डा लाउने होइन जोडेर एकढिक्का राख्दै हरित अर्थतन्त्रको रोडम्याप मार्फत हरित समृद्धि, खुसी र सुखको विकल्प रोज्नु सर्बथा बुद्धिमानी हुनेछ । त्यो उत्तम विकल्पको अनुकरणले मात्र राष्ट्रिय हित र राष्ट्रिय सुरक्षालाई संरक्षण र सम्बर्धन गर्नेछ ।

(नेपाली सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयका पूर्व निर्देशक लेखक प्रकृति तथा वन्यजन्तु अधिकारका खातिर कलम चलाउँदै आएका छन्)