४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

आमा को हुन् ? 

आमा को हुन् ? 
अ+ अ-

आवाजको पहिलो गुञ्जन, चेतनाको प्रथम सञ्चार, जन्मनको नर्सरी आमा हुन् । आमालाई देवी, जन्मदाता, सृष्टिकर्ता, संरक्षिका आदि श्रद्धेय रुपमा लिन्छौँ । धर्तीलाई माता मान्ने, पृथ्वीलाई देवी ठान्ने, जगत्लाई जननी भन्ने, प्रकृतिलाई प्राण संझने हाम्रो संस्कृतिले मुख्यत: आमाको संस्कार र संरक्षणमा जिउँछ ।

आमाले आत्मालाई शरीरमा, जीवलाई जीवनमा, प्राणलाई देहमा राखेर जन्माइदिनुहुन्छ । आमा नै आश्रय हुन्, आधार हुन्, अमृत हुन् यसकारण आमालाई देवीस्वरुपमा पूजा एवं पृथ्वीका रुपमा दर्शन गरिन्छ । वेदको अध्ययन, आर्यावर्तको साधना, अजवर्षको ऊर्जाले पुर्खाहरूलाई आमाको काखमा बसेर ऋषि बन्ने प्रेरणा मिल्यो । आमाप्रतिको अनुराग, प्रकृतिप्रतिको प्रेम, भूमिप्रतिको आत्मीयताले हाम्रा पुर्खामा ईश्वर चिन्तन, देव पूज्नतर्फ मन लाग्यो । नदी, प्रकृति, पृथ्वी र शास्त्रलाई आमा संझेर ढोग्न, पूज्न एवं स्मरण गर्न सिकाए । गौरवमा रमाउने प्रेरणा दिने भएकाले गाईलाई, आत्मा चिनाउने हुनाले अक्षरलाई, मुक्त गराउने हुनाले माटोलाई आमा मानियो । यसकारण आत्माको आकार एवं आमाको प्रेमको व्याख्या गर्न सकिन्न ।

ॐ, श्रीलगायतका अक्षरसहित अंकहरु आमाको रुप भएकाले मन्त्र, तन्त्र र यन्त्रमा अधिक प्रयोग गरियो । आमाजस्तै कल्याण गर्ने हुँदा अक्षरलाई पढ्न, मूर्तिलाई पूज्न, परमात्मालाई प्रार्थना गर्न लगाइयो । स्वर वर्णको पहिलो अक्षर अबाट आमा, आनन्द र आत्मा बन्छ । शास्त्र र ग्रन्थको ऊर्जामा आमाले जस्तै सन्मार्ग देखाउने शक्ति प्राप्त हुनेहुँदा पुस्तकलाई ढोग्छौँ, पुज्छौँ, दर्शन गर्छौँ । तपस्या, परिश्रम, अनुभवबाट प्राप्त उपलब्धीलाई संकलन गरी सन्ततिलाई दिन शास्त्रहरू तयार गरे । यसको अनुसरणले दानवहरू मानवमा, मानवहरू महामानवमा, महामानवहरू महेश्वरमा बदलिए । संसारलाई प्रकृति, आमा र शास्त्रले मात्र बदल्न सक्छन् । आमाले कुन सन्तानको कुभलो चिताउँछिन् ? कुन पुत्र र पुत्रीलाई बर्वादीको  दलदलमा फस्न दिन्छिन् ? त्यसैले शास्त्र र प्रकृतिसँग आमाको  अन्योन्याश्रित छन् । आमाले देखाएको बाटो हिँड्नेहरू र शास्त्रले बताएका कर्म गर्नेहरुले जीवन बुझिन्छ, माटो चिन्छन्, स्वाभिमानमा रमाउँछन् ।

आमा संझिएर देवीको नाम पछाडि ‘माँ’ शब्द जोडिन्छ । जस्तै काली माँ, गौरी माँ, चामुण्डा माँ, गुह्येश्वरी माँ आदि । जन्मनेबित्तिकैको बच्चाले रुदा वा उफ्रिदा पहिलो स्तुति आमाकै गर्दछन् । बच्चाको रुवाईमा होस् वा गाईका बाच्छा–बाच्छीले माऊलाई बोलाउँदा होस् ‘माँ’ शब्दको मिठास झल्कन्छ । आ समन्तात्: पुत्रै: मन्यन्ते या सा आमा अर्थात् सन्तानहरूले अन्तस्करणबाट पूज्ने देवीलाई नै आमा भनिन्छ । ‘माङ् माने’ धातुमा ‘आङ्’ उपसर्ग लगाएर आमा शब्द बन्दछ । यसकारण आमा पनि संस्कृतभाषाकै शब्द हो । हाम्रो इतिहासमा, शास्त्रमा, संस्कारमा, समाजमा, दिनचर्यामा आमाको भूमिका महत्वपूर्ण छ ।

आमा शब्द झिकिदिने हो भने हामीसँग न त सृष्टि बाँच्छ, न जन्म रहन्छ, न त अस्तित्व, न त जगत् जोगिन्छ, न त प्राणीको प्राण रहन्छ यसकारण आमाको स्थान पूजनीय, दर्शनीय, प्रात:स्मरणीय र श्रद्धेय छ । आमाको कोखमा जन्मले बास लिन्छ, गर्भले आश्रय लिन्छ, सृष्टिले श्वास फेर्छ । इतिहास आमाको गर्भमा हुर्कन्छ, काखमा खेल्छ, आशीर्वादले बढ्छ अनि सन्तानको सुरक्षाकवच भई युगनिर्माणको आश्रयस्थल बन्दछ ।

आमाले मृत्युसँग जुधेर जन्माउँछिन्, प्राणको बाजी लगाएर हुर्काउँछिन्, गाँस काटेर खुवाउँछिन् । यो गुण भूमिसँग मिल्ने हुँदा राष्ट्रलाई मातृभूमि भनिन्छ । जीवनरक्षामा सहयोग गर्ने हुँदा प्रकृतिलाई, परम्परासँग जोडिएकाले संस्कृतिलाई, आशीर्वादसँग गाँसिएकाले देवीसँग, आशीर्वादको गोदमा राख्ने हुँदा गाईलाई, बाटो देखाउने ज्ञानमयी भएकीले सरस्वतीसँग, जीवन जिउन सिकाउने भएकीले लक्ष्मीसँग आमाको तुलना गरिन्छ । त्यसैले नारी हुने सौभाग्य आमालाई मात्र छ । न विद्यते अरि: यस्या: सा नारी जसको अरि वा शत्रु छैन ती नारी हुन् । नारीले घर सम्हाल्छन्, समाजलाई बाटो देखाउँछन्, संस्कृति जोगाउँछिन्, विद्याको संरक्षण गर्छिन्, राष्ट्रलाई बचाउँछिन् । आमाशब्दको लम्बाई, चौडाई र उचाई नाप्न सक्ने यन्त्र विज्ञानले बनाउन सक्दैन ।

आमा जन्मभूमि हुन्, ज्ञान हुन्, प्रेम हुन्, प्राणदाता हुन् त्यसैले अजर र अमर हुन्छिन् । हाम्रा पुर्खा एवंं महापुरुषहरूले आमाको नामबाट प्रसिद्धि पाएका छन् । गणेशले पार्वतीनन्दनको पगरी गुथे, भीष्मपितामहले गंगापुत्र वा गांगेयमा आफूलाई सीमित राखे, कृष्ण देवकीनन्दनको सम्बोधन मन पराउँथे, अर्जुनलाई पार्थ र कौन्तेयका नामले पुकारियो, कर्णलाई राधेय भनियो, दुर्योधन गान्धारीनन्दन भएर जिए । शासकहरू पनि आमारूपी जन्मभूमि (मातृभूमि)का सुनामले चिनिन चाहन्थे– गान्धारनरेश शकुनि, अङ्गराज कर्ण, हस्तिनापुरनरेश धृतराष्ट्र, गोरखानरेश राम शाह, नेपाल नरेश महेन्द्र, हिमालीराज्यका शासक हिमाल (पार्वतीको बुबा) आदि । यसकारण जन्मभूमि वा राष्ट्र नै आमा हुन् ।

वैदिककालमा नारीहरूको स्थान पूजनीय र स्तुत्य थियो  भन्ने विषयलाई तात्कालिक पुस्तक, प्राचीन अभिलेख र ग्रन्थहरुले प्रष्ट पारेका छन् । शास्त्रहरूले नारीलाई अबलाको उपाधि दिएका छन् । अबलाको अर्थ बल नभएकी निरीहा महिला होइन अशेषेण अपरिमितमात्रायां विद्यते बलं यस्या: सा अबला अर्थात्, जसमा कहिल्यै नसकिने, ननासिने, मापन गर्न नसकिने शक्ति छ तिनीलाई अबला भनिन्छ । शुम्भ, निशुम्भको बध गर्ने दुर्गादेवी, अहिरावणलाई यमद्वारमा पुर्‍याउने सीता, सन्तानलाई ब्रम्हसाक्षात्कार गराउने मदालसा, जनकका गुरु याज्ञवल्क्यसँग तर्क गर्न सक्ने गार्गी आदिलाई अबलाको उपाधि दिइयो । पुराण होस् वा महाकाव्य, युद्ध होस् वा इतिहासमा आमाको स्थान, महिलाको भूमिका, नारीको योगदान अब्बल र उदाहरणीय छ । यसकारण आमालाई सम्मान नगर्ने, माँलाई नबुझ्ने, मातालाई नपुज्ने सन्तानको इतिहास आफैँ पखालिन्छ, स्वयं मेटिन्छ ।

केही वर्षयता इतिहासलाई वङ्ग्याउने, तथ्यलाई लुकाउने, मर्मलाई मर्काउने, भावलाई भाँचिदिने कार्यले आमाको इतिहास अझेलमा परेको छ । पश्चिमाको व्याख्यान, राजनीतिक स्वार्थ, ग्रन्थका क्षेपकले शास्त्रहरूमा नारीको स्थानलाई गौण एवंं मौन पारिएका छन् । आमालाई हाम्रा शास्त्रले पुजे, संस्कारले सम्मान गरे, संस्कृतिले आदर गरे तर शासकले नारीहरूलाई एकपछि अर्को युगमा अपमानजनक व्यवहार गरे । नारीलाई बुझ्न विगतलाई खोतल्नुपर्छ, हिमाल हेर्नुपर्छ, मन्दिरहरु घुम्नुपर्छ, शास्त्र पढ्नुपर्छ, माटोलाई सोध्नुपर्छ, प्रकृतिलाई छाम्नुपर्छ । शास्त्र र समाजको मर्म नबुझ्दा अबलाहरू अलपत्र परेका छन्, नारीहरू नाङ्गिएका छन्, महिलाहरु महिमाविहीन भएका छन्, आमाहरू अपमानित बनेका छन् । नारीहरूले आफ्नो स्थान र गरिमालाई उठाउन सरस्वती, लक्ष्मी र पार्वतीलाई पढ्नुपर्छ । मातालाई चिन्न महासरस्वती, महालक्ष्मी, महाकालीको महिमालाई अध्ययन गर्नुपर्छ ।

आमालाई सम्मान नगर्नु, आमाको अर्थ नबुझ्नु र आमालाई मातृवत् व्यवहार नगर्नुको परिणामले हाम्रो धर्म, इतिहास र पहिचान दुब्लाएको छ । आमा (मातृभूमि, मातृभाषा, मातृशिक्षा)को सन्देशअनुसार अगाडि बढ्ने राष्ट्रले मात्र कायापलट गर्छन् । धर्म छोड्दा, विदेशको राष्ट्रनीति र परदेशको शिक्षामा हाम्फाल्दा घर न घाटका भयौँ । मातृभूमि आमा, जन्म दिने आमा, संस्कारकी आमा, प्रकृतिस्वरूप आमालाई देखावटी माया र श्रद्धा गर्न थालेपछि सबै क्षेत्र खस्किएको छ, हरेक क्षेत्र खलबलिएको छ, इमान्दारिता गुमेको छ, पुर्खाको इज्जत गुमना भएको छ, मानवसमाजमा खतराको घण्टी बज्न थालेको छ ।

आमाको ऋणबाट उऋण हुन सकिँदैन भन्ने सम्बन्धमा रोचक कथा छ । एक पुत्रले तीर्थाटन गराएर आमाबुबाको ऋण तिर्ने प्रयास गरे । अहिलेको जस्तो यातायातको सुवधिा नभएकाले आमाबुबालाई डोकामा राखेर, चारै धामसहित र नेपालका प्रमुख तीर्थस्थलहरू घुमाए । बर्षौ लगाएर सेवासहित तीर्थाटन गराउँदा दूधको ऋणबाट मुक्त भएँ होला भनी योगबलबाट हेर्दा त एक थोपा दूधको आधा भागको मूल्यमात्र चुक्ता भएको देखे छन् । दूधको मूल्य, गर्भको पीडा, पालनपोषणको दु:खलाई जसो गरे पनि चुक्ता गर्न नहुने देखेपछि आमाको सेवा गरी आशीर्वाद लिने सोच बनाएर घरमा फर्किए छन् । संसारमा सबैको ऋण चुक्ता गर्न सकिएला तर आमाबुबाको ऋण कहिल्यै भुक्तान हुन सक्दैन । तिरेर तिर्न नसकिने ऋण नै मातृऋण हो । यसकारण मातृभूमि, कुलको परम्परा र माताप्रति हरेक प्राणी सधैँ ऋणी हुन्छन् ।

हरेक पर्वत, नदी किनार, भञ्ज्याङ आदिमा थानी, दुर्गा, काली, वनदेवीका नाममा फूल, पाती अर्पण गरेर आमाको स्वरुप र व्यापकलाई पूजा गरिन्छ । नेपालका देवीमन्दिरमा अष्टमी तिथि, दुर्गापक्ष, मंगलबार दर्शनार्थीको भीड लाग्छ । पाञ्चायनपूजा, चाडपर्वका अनुष्ठानमा देवी (आमा)कै उपासना गरिन्छ । शास्त्र र पुर्खाकोे आदेशअनुसार आमालाई नबुझ्दा गुठी गायव छन्, सुन्दरता खुम्चिएका छन्, शक्तिपीठहरुमा रगत बगेका छन् । जीभ्रेदेवी, दन्तेदेवी र स्वादेदेवीको फन्दामा परेर मन्दिरमा निहित मातृशक्तिलाई गुमनाम बनाएका छन् ।

अबोध पशुपंक्षीहरूलाई बलि दिएर आत्मचिन्तन छोडिएको छ । अर्थ संकलनको केन्द्र बनाएर दैवी शक्तिलाई नाश गरेका छौँ । वलिको अर्थ उपहार हो । उपहार फलफूल, गरगहना हुन्छ कि मासु ? पशुपंक्षीको हत्याले सुख र मुक्ति पाउने भए भगवान्  राम, कृष्ण, गौतम बुद्धहरूले तप र उपासनाको बाटो किन देखाउने थिए ? के उनीहरुले राँगा, बोका, कुखुरा, परेवा काटेर वा पूजा–आजा गरेको इतिहास छ र ? विनाशकाले विपरीतबुद्धि: भनेझैँ पापाचार बढेपछि प्राणीलाई बलि एवं मांसलाई प्रसाद मानियो । माम् स अर्थात् ‘माम्’को अर्थ मलाई, ‘स’को अर्थ त्यो अर्थात्, यस जन्ममा मलाई खानेलाई अर्को जन्ममा खान्छु । बलिले मन्दिरको सातो गएको छ, मूर्तिको मुटु हल्लिएको छ, नेपालआमाको अपमान भएको छ । धर्मको नाशले सर्वनाश निम्त्याउँछ । धर्म आमा हुन्, आमाकै रक्षा भएन भने शक्ति, शान्ति, सन्तान र संस्कार बाँच्दैन । धर्मो रक्षति रक्षित: धर्मको रक्षा गरे धर्मले हाम्रो रक्षा गर्दछ ।

दशैँमा नवदुर्गाको पूजा होस् वा वसन्तपञ्चमीको सरस्वतीपूजा, तिहारको लक्ष्मीपूजादेखि स्वस्थानीव्रत कथासम्म देवीको अनुष्ठान हुन्छ । बिहान उठ्नेबित्तिकै पृथ्वीलाई ढोग्छौँ, गाईको दर्शन गर्छौ, आमाको चरण स्पर्श गर्छौ, गायत्री जप्छौँ, यी सबै माताकै स्तुति हुन् । हरेक नारीको नामपछाडि देवी शब्द जोड्दा सहज र स्वाभाविक लाग्दछ । जस्तै सीतादेवी, कोइलीदेवी, रमादेवी आदि तर पुरुषको नामपछाडि देव शब्द जोडने अधिकार चार जनामा सिमित छ । पहिलो राजाहरूको नामपछाडि जस्तै श्री ५ महेन्द्रवीरविक्रम शाहदेव, गुरुमा ‘‘पूज्य गुरुदेव’ ब्रम्हाणमा ‘ब्रम्हाणदेव’, चौथो आफ्नै पतिमा ‘देव’ ।

नामकरण गर्दा देवीको नामपछाडि देवताको नाम राखिन्छ अर्थात् पहिले देवी अनि देवताको नाम राखिन्छ । जस्तै राधाकृष्ण, सीताराम, गोपीकृष्ण, लक्ष्मीनारायण, गौरीशंकर आदि । वैदिक धर्मले आमाको महत्व नदिएको भए यो इतिहास आजसम्म कसरी अभ्यासमा रहिरहन्थ्यो ? रामसीता, शंकरगौरी नाम कतै, कसैको छैन । हाम्रा शास्त्र र समाजले महिला तथा पुरुषलाई समान स्थान दिएका छन् । त्यसैले हिन्दूधर्म पितृप्रधान होइन मातृप्रधान हो । हाम्रो संस्कार पितृप्रधान होइन मातृप्रधान हो । दुर्भाग्यवश- आमाको गौरवमाथि अन्याय गरेर, पश्चिमाको भक्त भई केही शतकअगाडिदेखि नेपालीसमाज पितृप्रधान भएको दुष्प्रचार गरिएको छ । प्रार्थना गर्दा भनिने ‘मातृदेवो भव, पितृदेवो भव……’ मा आमालाई देवी होइन देवताको स्थान दिइएको छ ।

प्रार्थना र नाममा देवताभन्दा पहिले देवीको, पुरुषभन्दा पहिले स्त्रीको नाम आउँछ । देवताका तुलनामा देवीका मन्त्र, देवीको साधना छिट्टै फल दिने हुन्छन् । आमा हरेक जीवकी प्राण हुन्, सहनशक्तिकी केन्द्र हुन्, विवेकी खानी हुन्, ममताकी भण्डार हुन् । पाउने, प्रकट गराउने, जन्माउने, पालन गर्ने, आरक्षण दिने, प्रेम गर्ने सबै आमा हुन् । आमा जीवन हुन्, जगत् हुन्, ईश्वरी हुन्, मनका भाव बुझ्ने, आशीर्वाद दिइरहने, सर्वथा कल्याण चाहने परमात्मापछिको निकट र जीवनकी प्राण हुन् । यसैले आमालाई परिभाषा गर्न सकिँदैन परमात्माको स्वरुप संझेर दर्शन, आदर र पूज्नमात्र सकिन्छ ।